काठमाण्डौं १९ असार / भक्तपुरस्थित बागेश्वरी उच्च माविका विज्ञान शिक्षक उकेश सुवाल त्यतिबेला दंग परे, जब छोरी आयुशाले विज्ञानमै ९६ प्रतिशत अंक ल्याइन्। समग्रमा ९२.३८ प्रतिशत अंक ल्याएकी सोही विद्यालयकी छात्रा आयुशाको सफलतामा दंग सुवाल विद्यालयको नतिजाले थप प्रफुल्ल छन्।
उक्त विद्यालयबाट १ सय ५७ विद्यार्थी सहभागी भएकोमा यसपालि १ सय ३३ जना उत्तीर्ण भए। विगतका उत्कृष्ट नतिजाले पनि बागेश्वरी जिल्लामै नमुना विद्यालय भनेर चिनिन्छ।
'मलाई मेरो विद्यालय र सन्तान दुवैप्रति गर्व छ,' उकेश भन्छन्, 'दुवैको विश्वास थियो, आखिर नतिजा सही निस्कियो।'
उनलाई मात्र होइन, विद्यार्थीको लगनशीलतासँगै सामुदायिक विद्यालयको सफलताका कारण खुसी मनाउनेको संख्या बढेको छ। नजिकैको देवीको नामबाट स्थापित बागेश्वरी अहिले यस क्षेत्रमा 'शिक्षाको उत्कृष्ट मन्दिर' बनेर परिचित छ।
गत वर्ष सामुदायिक विद्यालयका तर्फबाट मुलुककै उत्कृष्ट बन्न सफल ललितपुरस्थित आदर्श शौल युवक उच्च माविले पनि यसपालि १ सय १५ विद्यार्थीमध्ये १ सय १० जनालाई उत्तीर्ण गरायो। विद्यालय–अभिभावकको सम्बन्धलाई सफलताको कारक ठान्ने प्राचार्य सरोजभक्त आचार्य आफूहरूले सबैभन्दा पहिला 'विद्यार्थी पढ्ने' गरेको बताउँछन्। 'त्यसपछि मात्र उनीहरूको आवश्यकताअनुसार शिक्षा नीति आफैं बनाउँछौं,' उनी भन्छन्।
काठमाडौंको ज्ञानोदय उच्च मावि, बाफलको नतिजाले पनि विद्यार्थी–अभिभावकमा कम्ती खुसी ल्याएको छैन। सहभागी १ सय ७७ विद्यार्थीमध्ये १ सय ३७ जनाले सफलता पाए। शिक्षक गोविन्दप्रसाद भण्डारीका अनुसार तीमध्ये २७ डिस्टिङ्सन, ९८ फर्स्ट डिभिजन र १२ जनाले सेेकेन्ड डिभिजन ल्याएका छन्।
सामुदायिक विद्यालयको समग्र नतिजाअनुसार सरकार 'जस्ट पास'मात्र भएको अवस्थामा यी सामुदायिक विद्यालय उत्कृष्ट अंकसहित उत्तीर्ण भए। कतिपय स्कुलले असफलताका विभिन्न बहाना बताउँदै गर्दा यी विद्यालयले सफलताको एउटै सूत्रलाई पुष्टि गरेका छन्— गरे सकिन्छ।
उनीहरूले विद्यालयमा शिक्षकको अभाव हुँदा निजी शिक्षक भर्ती गराए, भवन भत्कँदा बाँसको टहरा बनाए, धेरै दिन विद्यालय बन्द हुँदा शनिबार पनि पढाए, विद्यार्थी विद्यालय आउन नसक्दा शिक्षक घरमै पुगेर समस्या सुल्झाए।
'गरे सकिन्छ' भन्ने मूलमन्त्र अनुसार अनेकौं अफ्ठ्यारोमाझ चुप लागेर बसेनन्, अवरोध छल्दै अगाडि बढिरहे। यही सफलता देखेका अन्य सामुदायिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरू भन्न थालेका छन्, 'गर्नेले सक्दो रहेछ।'
सामुदायिक विद्यालयका ३ लाख २ हजार ३ सय ९९ विद्यार्थीमध्ये यसपालिको एसएलसीमा १ लाख ३ सय ४२ (३३.१८ प्रतिशत) विद्यार्थीमात्र पास भए। उत्तिकै सरकारी सुविधा लिएका कतिपय विद्यालय भने नील भए। निराशाको यही कालो बादलमाझ माथि उल्लिखित केही विद्यालयले भने शिक्षाको ज्योति छरेका छन्। जति प्रयास गरे पनि असफल विद्यालयका लागि तिनको उज्यालो ज्योति प्रेरक बन्न सक्छ।
सफलताका सूत्र
बागेश्वरी उच्च माविका सहायक प्रधानाध्यापक ज्ञानसागर प्रजापतीका अनुसार विद्यार्थीको लगनशीलता, पेसाप्रति शिक्षकको दायित्व, अभिभावकको चासो र समुदायको सहयोग नै विद्यालय सफलताको सूत्र हो। १ सय ५७ सहभागी विद्यालयबाट २८ जना डिस्टिङ्सन, ७० जना फर्स्ट डिभिजन र ३५ जनाले सेकेन्ड डिभिजन ल्याएका थिए।
ललितपुरको आदर्श शौल युवक उच्च माविले २०५६ सालदेखि अंग्रेजी माध्यमबाट पढाइहेको छ। २०६६ सालदेखि यहाँका सबै विद्यार्थीले अंग्रेजी माध्यमबाटै परीक्षा दिन थालेका छन्। प्राथमिक तहबाटै कम्प्युटर शिक्षा राखिएकाले भाषा, प्रविधि र अतिरिक्त क्रियाकलापमा निजी स्कुलभन्दा अब्बल रहेका दाबी गर्छन्, प्राचार्य प्राचार्य शरदभक्त आचार्र्य। 'हामी विद्यालयमा पढाएर मात्र होइन, विद्यार्थीको दैनिक जीवनबारे पनि चासो राख्छौ,' उनले भने, 'ससाना कुरामा ध्यान दिँदा ठूलो सफलता हात पर्दो रहेछ भन्ने अनुभव भएको छ।'
रोजगारी वा विभिन्न पेसा–व्यवसायका लागि राजधानी बस्नेहरूले आफ्ना छोराछोरी पठाउने रोजाइको विद्यालय पनि हो, आदर्श शौल। आचार्यका अनुसार यहाँ करिब ५६ जिल्लाका १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन्। 'यसपालि ५ जना विद्यार्थी फेल भए तर पोहोर १ सय २५ विद्यार्थी सबैले उत्तीर्ण गरेका थिए,' उनले भने।
विद्यालय र विद्यार्थीको सफलताका लागि चुस्त प्रशासन, अभिभावकसँगको नियमित अन्तरक्रिया र अनुशासित विद्यार्थी नै कारक हुन्। यसखाले व्यवस्थापनका लागि जुटिरहे पनि कैयौं विद्यालयले सफलता हासिल गर्न सकेका छैनन्। काठमाडौंको ज्ञानोदय उच्च माविका शिक्षक गोविन्दप्रसाद भण्डारी भने चुस्त व्यवस्थापन, सक्षम प्रशासन तथा विद्यार्थीप्रति जिम्मेवार र उत्तरदायी शिक्षककै कारण सफलता पाएको दाबी गर्छन्।
भक्तपुरमै सबैभन्दा बढी विद्यार्थी पढ्ने गरेको बागेश्वरी उच्च माविले अन्य अभिभावकको समेत विश्वास जितिरहेको छ। जिल्लाका कतिपय विद्यालय विद्यार्थी नपुगेर 'मर्ज' हुनुपर्ने स्थितिमा रहेको समय यहाँ ३ हजार २ सय विद्यार्थी पढिरहेका छन्। 'हरेक वर्ष हामीकहाँ विद्यार्थी संख्या बढिरहेको छ,' प्रजापतीले भने।
यस वर्ष जिल्लाका सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ७१.६१ रहेको छ भने संस्थागत विद्यालयको उत्तीर्ण प्रतिशत ९५.०१ पुग्यो। ८७.२१ प्रतिशत विद्यार्थी पास गराउने भक्तपुर यसपटक एसएलसीमा उत्कृष्ट जिल्ला घोषित भयो।
जिल्लाको शैक्षिक स्तर उकास्न सरोकारवालाहरूको भेलाले गत वर्षको एसएलसी परीक्षालगत्तै २१ बुँदे घोषणापत्र नै जारी गरेको थियो। १० बजेदेखि ४ बजेसम्म नियमित रूपमा विद्यालय खोल्ने, सकभर स्थानीय बिदा कम गर्नेजस्ता बुँदा घोषणापत्रमा उल्लेख छ। 'कम्तीमा ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने हाम्रो लक्ष्य थियो,' जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा भन्छन्, 'लक्ष्य नजिक पुगेका छौं। थप प्रगति गर्न यसले हौसला दिएको छ।' कार्यालयले सफल हुने विद्यालयलार्य बधाई र असफललाई कारणबारे स्पष्टीकरण सोध्ने गरेको उनले जानकारी दिए।
जिशिअ शर्माका अनुसार सफल विद्यालयको नतिजा राम्रो हुनुमा प्रअ, व्यवस्थापन र अभिभावकको सक्रियता नै हो। 'यी सबैको समन्वय हुने हो भने सफलता हासिल हुन धेरै समय लाग्दैन,' उनी भन्छन्, 'गरे हुन्छ भन्ने सोच बनाए पनि कार्यान्वयनमा जाँगर चलाउने कम छन्।'
शर्माले भनेजस्तै सबै क्षेत्रको उत्तिकै भूमिका र समन्वय भएमात्र नतिजा राम्रो आउने बताउँछन्, ललितपुरका जिशिअ शिवकुमार सापकोटा। सरकारको तर्फबाट उत्तिकै स्रोतसाधन उपलब्ध भए पनि फरक–फरक नतिजा आउनमा स्थानीय स्तरमा हुने समन्वयकै अभाव देख्छन्, उनी। 'प्रअ र व्यवस्थापन पक्ष राम्रो भएका विद्यालयले राम्रै प्रगति गरेका छन्,' उनले भने, 'शिक्षक, स्थानीय स्रोतसाधन र समुदायको उपयोग नगर्ने विद्यालयको नतिजा खस्केको छ।'
ललितपुरबाट यस वर्ष १ सय ८८ सामुदायिक विद्यालयले सहभागिता जनाएकोमा ६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। पाँच विद्यालयले शतप्रतिशत नतिजा ल्याएकोमा केही विद्यालयले भने १० प्रतिशतभन्दा कम अंक ल्याएका छन्।
१५ वर्षदेखि सामाजिक विषय पढाउँदै आएका ज्ञानोदय उच्च माविका शिक्षक गोविन्द भट्टराई अहिलेसम्म आफ्नो विषयमा कोही फेल नभएको दाबी गर्छन्। 'विद्यार्थीको चौतर्फी कुरालाई ध्यान दिँदै पढाउनुपर्छ,' उनको सूत्र छ, 'शिक्षकले आफ्नो विषयअनुसार विद्यार्थीको मनोविज्ञान बु‰न सक्नुपर्छ, बुझाउन गाह्रो हुन्न।'
अहिले २ हजारभन्दा बढी विद्यार्थी रहेको ज्ञानोदयले समय–समयमा विद्यार्थीको परीक्षा लिने, अतिरिक्त कक्षा सञ्चालन गर्ने र अन्य गतिविधिमा सामेल गराउने गरेको छ।
गरे सकिन्छ भन्ने अर्को उदाहरण काठमाडौंकै मूलपानीस्थित आनन्द भैरव मावि पनि हो। मावि शिक्षकको अभावमा तल्लो तहमा शिक्षकले पढाए पनि एसएलसीमा सहभागी ३० मध्ये २८ जनाले सफलता पाए। विद्यालयमा मावि तहका शिक्षकको दरबन्दी २ वटामात्र छ। 'निमावि र प्रावि शिक्षकको सहयोगका कारण पनि यो सफलता हात पारेका हौं,' प्रअ कृष्णमुरारी न्यौपाने भन्छन्, 'दरबन्दी अभावको निहँुमा पढाउन छाड्ने हो भने आफैं निराशा भोग्नुमात्र हो। जसरी हुन्छ, लागिपरेकै कारण आज खुसी छौं।'
थोरै पैसा, धेरै सफलता
धेरै पैसा खर्चेर मात्र सफलता हात पर्छ भन्ने कतिपयको मान्यता छ। डेढ वर्षअघि काठमाडौंमा स्थापना भएको समता शिक्षा निकेतन विद्यालयले भने यो मान्यता चिर्न सफल भएको छ। बाँसको भाटाबाट कलात्मक रूपमा तयार गरिएको यस विद्यालयमा मासिक १ सय रुपैयाँमा पढाइ हुन्छ।
मुलुकका विभिन्न २२ स्थानमा स्थापित भएको यस विद्यालयमा ४० हजार विद्यार्थी अध्ययनरत छन्। गरिब तथा असहाय विद्यार्थीको रोजाइको थलो बनेको समताले ८ वर्षदेखि एसएलसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गरिरहेको छ। यस वर्ष एसएलसीमा सहभागी ७ सय ९ विद्यार्थीमध्ये डिस्टिङ्सन र प्रथम श्रेणीमा ७ सय २ उत्तीर्ण भए भने ३ जनाले सेकेन्ड डिभिजन ल्याए। ४ जनाको रिजल्ट भने स्थगित भएको प्रिन्सिपल उत्तम सञ्जेलले जानकारी दिए।
काठमाडांैमा रहेको समता शिक्षा निकेतनबाट एसएलसीमा सहभागी ३ सय ३ मध्ये १ सयले विशिष्ट र २ सयले प्रथम श्रेणी हासिल गरे। समताको भक्तपुर शाखा यस वर्ष संस्थागत विद्यालयअन्तर्गत जिल्लाको उत्कृष्ट विद्यालय बन्न सफल भएको सञ्जेल बताउँछन्। भक्तपुरमा रहेको उक्त विद्यालयबाट सहभागी ७३ जना सबै उत्तीर्ण भए।
असफलताबाट सफलतातर्फ
ललितपुरको दक्षिणवर्ती गाउँ पियुटारमा रहेको चण्डेश्वरी माविले २०७० सालको एसएलसी परीक्षामा शून्य नतिजा पाएको थियो। असफलताबाट पाठ सिकेको उक्त विद्यालयले यस वर्ष भने ५० प्रतिशत सफलता हात पारेको छ। 'अघिल्लो वर्ष २१ मध्ये २१ नै अनुत्तीर्ण भएका थिए,' विद्यालयका प्रअ दुधराज लामाले भने, 'यसपटक २० मध्ये १० जना पास भए।' बाँकी अनुत्तीर्ण सबैले पूरक परीक्षामा सहभागी हुने अवसर पाएको उनले बताए।
'हामी असफलताबाट आत्तिएनौं,' उनले भने, 'कमजोरी सच्याएर अगाडि बढेकै कारण नतिजामा सुधार आउन थालेको छ।' अघिल्ला वर्षमा असफलता हात परेलगत्तै अभिभावक भेला बोलाएर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरिसकेको उनी बताउँछन्। 'शिक्षकहरूलाई अनुरोध गरेर अतिरिक्त कक्षा सञ्चालन गर्यौंे,' उनी भन्छन्, 'अभिभावकसँग निरन्तर अन्तरक्रियामा रहिरह्यौं।'
उठेन लगानी
प्रतिविद्यार्थी औसतमा प्रतिवर्ष ८ हजार रुपैयाँ लगानी गरिरहेको सरकारले चालु आर्थिक वर्षमा ८६ अर्ब रुपैयाँ खर्च गरेको छ। समग्रमा ४७.४३ प्रतिशत विद्यार्थी सफल भएकोमा सरकारी विद्यालयको नतिजा ३३ प्रतिशतमात्र रह्यो। आधाभन्दा बढी विद्यार्थी असफल भएपछि एसएलसी परीक्षामा असफल विद्यालय र शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयले निर्देशनसमेत दिइसकेको छ। नतिजा सुधार कार्ययोजना बनाई कार्यान्वयन गराउन, जिम्मेवारी किटान गर्न र विवरण पेस गर्न भन्दै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ४५ दिनभित्र जानकारी गराउन निर्देशन दिएको हो।
राजनीति निषेध
देशका कपितय जिल्लामा 'शिक्षकले राजनीति गरेका' विद्यालयको नतिजा न्युन आएको समाचार सार्वजनिक भइरहेका छन्। ललितपुरस्थित आदर्श शौल युवक उच्च माविका प्राचार्य शरदभक्त आचार्र्य भने विद्यालयबाहिर शिक्षकको आ–आफ्नो आस्था भए पनि विद्यालयभित्र राजनीतीको 'र' पनि उच्चारण नहुने बताउँछन्। 'राजनीतिक दाउपेचमा अलमलिनेभन्दा विद्यालयलार्य कसरी सुधार्ने भन्नेमै केन्द्रित रहन्छौं,' उनले भने, 'सफलताको अर्को कारण विद्यालयमा राजनीति निषेध पनि हो।'
बागेश्वरी उच्च माविका सहायक प्राचार्य ज्ञानसागर प्रजापती पनि राजनीतिले असर पुर्याेउने भएकाले विद्यालयभित्र त्यो स्विकार्य नहुने बताउँछन्। त्यसो त जिल्लाका सबै राजनीतिक दलले विद्यालयमा शान्ति क्षेत्र घोषणा गरिसकेका छन्। 'यहाँ राजनीतिको कुनै प्रभाव हुन दिएका छैनौं,' उनले भने, 'यो स्कुलमा राजनीतिक दलको बन्दको कुनै असर हुँदै। पढाइ चलिरहन्छ।'
कतिपय शिक्षाविद्हरू भने सामुदायिक विद्यालय नसुध्रनुलाई इच्छाशक्तिको कमी र शिक्षा क्षेत्रमा हुने राजनीतिलाई कारक ठान्छन्। गरे सकिने ठाउँमा बहाना बनाएर पन्छिने प्रवृत्तिले शिक्षा क्षेत्र तहसनहस बन्दै गएको उनीहरूको तर्क छ।
शिक्षाविद् विद्यानाथ कोइरालाका अनुसार सामुदायिक विद्यालयमा 'चाहना राख्ने, बहाना बनाउने, सम्भावना खोज्ने र गरेर देखाउने चारथरी जमात छन्। 'यिनैमध्ये बहाना बनाउनेहरूले माहोल नै बिगारेका छन्,' उनले भने, 'सम्भावना खोज्नेले गरेर देखाइएका छन्। बहानबाजीका कारण नतिजा खस्किएको छ।'
राजनीतिकर्मीहरू आफ्नो पार्टीको शिक्षक भनेर काखी च्याप्नुको साटो शिक्षाको गुणस्तर उकास्न हौसला दिन सुझाउँछन्, उनी। 'परम्परागत पठनपाठन र राजनीतिक साँठगाँठमा परिवर्तन नगरेसम्म सफलता हात लाग्न धेरै समय लाग्छ,' उनी अझै आशावादी छन्, 'दृढ इच्छाशक्ति भए सामुदायिक विद्यालयको नतिजालाई मज्जैले सुधार्न सकिने ठाउँ छ।'
शिक्षाविद् कोइरालाले देखाएका समस्याप्रति आंशिक सहमत छन्, शिक्षा विभागअन्तर्गत शैक्षिक व्यवस्थापन महाशाखाका निर्देशक खगेन्द्र नेपाल। 'कक्षाकोठामा शिक्षकको नियमित उपस्थिति नहुनु, अभिभावकमा शैक्षिक चेतना कम हुनुजस्ता समस्याले पनि नतिजामा फरक पारेको छ,' उनले भने, 'जहाँ हेडमास्टर र व्यवस्थापन पक्ष सबल छ, ती विद्यालयले भने राम्रै सफलता पाएका छन्।'
नागरिकमा उपेन्द्र लामिछानेले लेखेका छन् ।
प्रतिक्रिया