काठमाडौं २३ असार / पाँचथर रानीगाउँस्थित सिम्राहा माविका शिक्षक नरेन्द्रबहादुर कार्की कांग्रेसको गाउँ सभापति हुन्। घरदेखि अलि टाढा पर्ने भएकाले स्थानीयले हाजिर हुन नदिएको बहानामा उनी दुई वर्ष अघिदेखि विद्यालय गएका छैनन्। पठनपाठनमा अनियमितता गरेका कारण सेपेनी प्राविबाट सरुवा गरिएका उनी काज मिलाएर पुरानै विद्यालयमा हाजिर भइरहेका छन्।
मौवास्थित बुढानीलकण्ठ प्राविका प्रधानाध्यापक देवेन्द्र खत्रीलाई एमाओवादीको जिल्ला कोषाध्यक्षको हैसियतले काम गर्नै भ्याइनभ्याइ हुन्छ। रानीगाउँको देउराली प्राविका प्रअ होम खतिवडा पनि एमाले गाउँ अध्यक्ष भएर पार्टीको काम गरिरहेका छन्। गणेश उमावि नागीका प्रअ रामकुमार योङहाङ उक्त गाउँका एमाले अध्यक्ष हुन्।
सिद्धदेवी निमावि याङ्नामका प्रअ रूपनारायण जबेगू र सिद्धदेवी उमावि नवमीडाँडाका प्रअ वीरेन्द्र खड्का क्रमश: शिक्षक युनियन र शिक्षक संघका जिल्ला अध्यक्ष मात्र होइनन्, दुवै निर्वाचित कांग्रेस जिल्ला सदस्य पनि हुन्। जयप्रसाद बाँस्कोटा, त्रिलोचन अधिकारीसहित कांग्रेसका एक दर्जन जिल्ला सदस्य शिक्षक छन्। शिक्षक युनियनको जिल्ला सचिव रहेका भारपाको सिद्धेश्वरी उमाविका प्रअ इन्द्रप्रसाद रिजाल एमाले भ्रातृ संस्था पेसागत महासंघका जिल्ला अध्यक्ष हुन्।
उल्लेखित शिक्षक उदाहरण मात्र हुन्। विद्यालयमा दैनिक हाजिर भएर पढाउनुपर्ने शिक्षक पेसागत संगठनहरूमा बस्नु स्वाभाविक भए पनि पार्टीमा प्रत्यक्ष: संलग्न भएर राजनीतिमा क्रियाशील भइरहेका छन्। जिल्लादेखि गाउँ स्तरसम्मका पार्टी संगठनमा बसेका शिक्षकहरूले राजनीतिमा लागेर पठनपाठनमा ध्यान नदिँदा शैक्षिक उपलब्धिमा सुधार हुन सकेको छैन।
एमालेको सातौं जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेहरूमध्ये करिब दुई सय शिक्षक थिए। अधिवेशन क्रममा शिक्षकलाई प्रत्यक्ष: पार्टी भूमिकामा ल्याउनु नहुने विषयमा छलफल भएको भन्दै क्षेत्रीय सदस्य राजेन्द्र काफ्लेले भने, ‘शिक्षकहरू एकै ठाउँ उभिएकाले प्रत्यक्ष: राजनीतिबाट शिक्षकलाई अलग गर्न सकिएन।’ एमालेको जिल्लादेखि गाउँसम्मका समितिहरूमा एक सयजति शिक्षकले कब्जा जमाएको उनले दाबी गरे।
कांग्रेस, एमाले, माओवादीजस्ता मुख्य दलमै शिक्षकहरू निर्वाचित भएरै आएका हुन्। त्यसमा प्राय: सबै पार्टीले शिक्षकलाई नै पार्टीको काम गराउँदै आएका छन्। दलहरूले आफू समर्थित शिक्षक संगठनका प्रमुखलाई जिल्ला सदस्यका रूपमा जिम्मेवारी दिएका छन्। अधिकांश दलको पार्टी संगठन शिक्षकहरूले नै धानेको उनीहरूले खुला बताउने गरेका छन्। शिक्षकहरूले राजनीति मात्र गर्दा शैक्षिक अवस्था खस्किएको नेकपा मालेका लय बाँस्कोटाको तर्क छ। जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालका अनुसार जिल्लामा प्राप्त भएको औसत नतिजा (एसएलसीमा यो वर्ष २६ प्रतिशत) भन्दा नेता शिक्षकको विद्यालयमा नाजुक नतिजा आउने गरेको स्वीकार गरे।
कान्तिपुरमा लवदेव ढुंगानाले लेखेका छन् ।
प्रतिक्रिया