Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

अस्कलसहित तीन क्याम्पस कीर्तिपुर सारिँदै

शनिबार, २६ असार २०७२

काठमाडौं २६ असार / त्रिभुवन विश्वविद्यालयले राजधानीको व्यस्त ठाउँमा रहेका तीनवटा आंगिक क्याम्पसलाई विश्वविद्यालय हाता कीर्तिपुरमा सार्ने भएको छ । वैशाख १२ गते भएको भूकम्पले पूर्णरुपमा क्षति भएका लैनचौरको अस्कल, भोटाहिटीको ललितकला र जमलको जनप्रशासन क्याम्पस सार्न लागिएको हो ।

त्रिवि सामान्य प्रशासन महाशाखा प्रमुख भोलाप्रसाद ढकालका अनुसार यी क्याम्पस भएका स्थानमा व्यापारिक कम्प्लेक्स बनाइनेछ । भूकम्पले मूल सडकसँगै रहेको अस्कल क्याम्पसको भवनहरु जीर्ण बनेका छन् । भूकम्पीय दृष्टिले पुन:निर्माण गर्न ठाउँ साँघुरो र सहरको प्रमुख भागमा रहेकाले अन्यत्र सार्न लागिएको पनि ढकालले बताए ।

ललितकला क्याम्पसको भवन पूर्णरुप काम नलाग्ने भएपछि स्नातक तहका विद्यार्थीलाई तत्कालका निम्ति कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालय हाताको टहरामा सारिएको छ । त्यसैगरी जनप्रशासन क्याम्पस बल्खुमा सारिएको छ । ‘इतिहास बोकेको अस्कल क्याम्पसलाई पनि सार्ने तयारीमा छौं,’ प्रमुख ढकालले भने, ‘त्यसनिम्ति कीर्तिपुर परिसरमै उपयुक्त हुने ठम्याइ छ ।’

दरबारमार्ग र रानीपोखरी पूर्वतर्फ घण्टाघरसँगै रहेको त्रि–चन्द्र कलेजको भवनसमेत पूर्णरुपमा चर्किको छ । ‘पुरातात्विक महत्वका दृष्टिकोणले त्रिचन्द्र कलेजलाई तत्काल भत्काउन र सार्नका निम्ति सरकारको अनुमति चाहिने भएकाले त्यसै ठाउँमा उस्तै भवन बनाउने भनेका छौं,’ ढकालले भने । त्रिविको देशभरिमा ६० आंगिक क्याम्पसमध्ये दुई दर्जनजति राजधानीभित्र छन् । भूकम्पले त्रिवि केन्द्रीय कार्यालयलगायतका निकायहरुको पुन:निर्माणका निम्ति ८ अर्ब ४४ करोड रुपैयाँ लागत इस्टिमेट गरिएको जनाइएको छ ।

 कान्तिपुरबाट 

प्रतिक्रिया