काठमाडौं, २९ असार - वैकल्पिक व्यवस्थापन नभएपछि राष्ट्रिय पुस्तकालय दुई महिनादेखि ठप्प छ । वैशाख १२ को भूकम्पले हरिहर भवनस्थित पुस्तकालय भवन ध्वस्त भएपछि डेढ लाख पुस्तक बोरामा पोका पारेर राखिएको छ । तर बर्षातका कारण दुई सय वर्ष पुराना महत्वपूर्ण पुस्तक बिग्रिन सक्ने खतरा छ ।
‘सबै पुस्तक पाँचहजार बोरामा पोका पारेर ओतमा राखेका छौं,’ पुस्तकालय प्रमुख यादवचन्द्र निरौलाले कान्तिपुरसित भने, ‘सबै खाले पुस्तक बोरामा राख्दा त्यसको जनत हुन नसक्ने हाम्रो ठम्याइ छ । तर सरकारले वैकल्पिक व्यवस्था नगरिदिएसम्म ती पुस्तकहरुलाई व्यवस्थित गर्ने कुनै उपाय पनि छैन ।’
भूकम्पपछि राष्ट्रिय पुस्तकालयका सबै पुस्तक ज्ञानेश्वरस्थित महेन्द्र भवन उच्चमाविको दुईवटा खाली कोठामा चाङ लगाएर राखिएका छन् । कर्मचारीहरु भने हरिहर भवन परिसरमा रहेको राष्ट्रिय पुस्तकालयकै बाल शाखको एकतले भवनमा रहेका छन् ।
ठाउँको अभावमा माइक्रो फिल्म शाखा, बाल पुस्तकालय व्यवस्थापन हुनसकेको छैन । पुस्तकालयले कुनै पनि नयाँ किताब खरिद गर्न सकेको छैन । ‘किताब किनेर बोरामा राख्नुबाहेक उपाय छैन,’ प्रमुख निरौलाले भने, ‘तैपनि बजारमा चलेका पुस्तक किन्न बजेट यथावत् छ । अल्पकालीन रुपमा भएपनि ठाउँ उपलब्ध हुनसकेमा सेवा सुचारु राख्न आतुर छौं ।’
भूकम्पअघि सरकारले सिंहदरबार परिसरमा एकीकृत पुस्तकालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको थियो । त्यसनिम्ति सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र कार्यालयमा रहेका पुस्तकालयलाई गाभेर एउटै व्यवस्थित र बृहत् पुस्तकालय स्थापना गर्न शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितको संयोजकत्वमा समितिसमेत गठन भएको थियो ।
मुख्यसचिव लीलामणि पौड्यालको अध्यक्षतामा बसेको बैठकले समितिको गठनसहित ‘सिंहदरबार परिसरभित्र एकीकृत पुस्तकालय स्थापना गर्न आवश्यक स्थान, जनशक्ति व्यवस्थापन, पुस्तकहर स्थानान्तरण, सञ्चालन मोडालिटीलगायत आवश्यक व्यवस्था सिफारिससहित प्रतिवेदन पेस गर्न’ सचिवलाई जिम्मेवारी दिएको थियो । उक्त समितिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित पुस्तकालय स्थापना गर्ने लक्ष्य राखेको थियो । शिक्षा मन्त्रालय प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा उपसमिति गठन भई एकीकृत पुस्तकालयसम्बन्धी प्रारम्भिक कार्यविधिसमेत तयार गरेको थियो । कार्यविधिले तत्काल, वाषिर्क र दीर्घकालमा गर्नुपर्ने तीन चरणको कार्ययोजना बनाएको छ । तर वैशाख १२ को महाभूकम्पपछि सरकार मौन रहेको छ ।
राष्ट्रिय पुस्तकालयमा २४ जनाको दरबन्दी रहेको छ । जसमा एक उपसचिव, तीन अधिकृत, चार नायब सुब्बा, तीन खरिदार पाँच कार्यालय सहयोगी र एकजना सवारी चालक कार्यरत छन् । ‘अहिले पाठकले दैनिक पत्रपत्रिका पढ्न पाउँछन्,’ दैनिक कामबारे जानकारी दिंदै पुस्तकालय अधिकृत प्रेमराज अधिकारीले भने, ‘बालबालिकाको आउजाउ अलि कम छ । पत्रपत्रिकालाई आईएसएसएन दिने काम गर्छौं । र राष्ट्रिय पुस्तकालयको आफ्नो पुराना प्रकाशनहरुलाई इलेक्ट्रोनिक कपी बनाउने काम भइरहेको छ ।’ भूकम्पले केशरमहलस्थित केशर पुस्तकालय भवन जीर्ण बनाएपछि ६५ हजार पुस्तक बोरामा राखिएका छन् । भूकम्पकै कारण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय सुचारु हुन सकेको छैन ।
संविधान मस्यौदामा पुस्तकालय
संविधान सभाले संविधानले सार्वजनिक गरेको संविधानको प्रारम्भिक मस्यौदामा केन्द्रीय पुस्तकालयको उल्लेख छ । मस्यौदाको चौथो अनुसूचीमा ‘केन्द्रीय पुस्तकालय’ उल्लेख गरिएको छ । ‘केन्द्रीय पुस्तकालय भन्नाले जुनसुकै निकायको भन्ने अर्थ लाग्छ,’ राष्ट्रिय पुस्तकालय प्रमुख निरौलाले भने, ‘केन्द्रीयको सट्टा राष्ट्रिय पुस्तकालय उल्लेख भएको भए राम्रो हुनेथियो । जसले गर्दा भारतमा जस्तै राष्ट्रिय पुस्तकालले राष्ट्रिय महत्वको संस्था बन्न सक्नेछ ।’
आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया