Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

सात मध्ये चार उपकुलपति मात्रै सिफारिस : बाहिर हेर्दा दल भित्र भित्रै खेमाको प्रभाव

आइतबार, ०६ भदौ २०७२

काठमाडौं ६ भदौ / रिक्त सात विश्वविद्यालयका उपकुलपित सिफारिस गर्न गठित समितिले  निर्धारित मिति कटेको ११ औं दिनमा बल्ल तल्ल ४ वटा विश्वविद्यालयका उपकुलपतिको नाम सिफारिस गरेको छ ।

सिफारिस समिति श्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयका लागि प्रा.डा तीर्थराज खनिया, नेपाल संस्कृतका लागि प्रा.कुलप्रसाद कोइराला, पूर्वाञ्चलका लागि प्रा.डा घनश्यामलाल दास, र सुदूरपश्चिमका लागि प्रा.भूषण श्रेष्ठको नाम सिफारिस गरेको छ ।
यसैगरी पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग अध्यक्षमा प्रा. बद्रीनाथ श्रेष्ठको नाम पनि सिफारिस भएको छ । 

समिति बनेको लामो समय सम्म पनि सिफारिस गर्न नसकेपछि शिक्षा मन्त्री चित्रलेखा यादवले काँग्रेस निकट प्राध्यापकहरुको नाम सिफारिस गरेकी हुन् । एमाले र माओवादी निकट प्राध्यापकहरुको नामवली प्राप्त नभएपछि मन्त्रीले आफ्नो दलबाट प्राप्त नाम सिफारिस गरेकी श्रोतले बतायो । 

राजनीतिक भागबण्डा नगर्न दवाव र चर्चा चलिरहे पनि दलहरुले आआफ्ना दल निकट प्राध्यापकहरुलाई उपकुलपति बनाउन कसरत गरिरहेका थिए । यहि कारण समितिले समयमा काम गर्न नसकेको एक सदस्यले बताए ।

'अन्य दलबाट नाम नआएपछि लामो समय लगाउनु भन्दा तयार नामावली सिफारिस गर्दै जाउँ भनेर प्रधानमन्त्रीलाई बुझाईयो' ति सदस्यले भने, 'बाहिर हेर्दा दलहरु मात्रै देखिने तर भित्र भित्र दलका खेमाहरुको प्रभाव हुदोँ रैछ त्यसैले दलहरु भित्रै नमिलेपछि समितिलाई नामै प्राप्त भएन र हामीले सिफारिस गर्न सकेनौं ।'

काँग्रेसकै प्रधानमन्त्री र शिक्षा मन्त्री भएकाले पनि उनीहरुलाई आफ्नो क्षमतामा प्रश्न उठ्नु अघिनै सिफारिस गर्न चुनौति थियो । त्यहि कारण अन्य दलबाट नामावली प्राप्त नभएको अवस्थामा शिक्षा मन्त्रीले आफ्नो दलका नाम मात्रै भएपनि सिफारिस गरेकी हुन् ।

प्रधानमन्त्री सुशील कोईरालाले त्रिभुवन विश्वविद्यालयमका लागि शिक्षा मन्त्री यादवको संयोकत्वमा शिक्षा सचिव विश्वप्रकाश पण्डित र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. यज्ञबहादुर कार्की सदस्य रहेको सिफारिस समिति गठन गरेका थिए । अन्य विश्वविद्यालयमा सिफारिस गर्न शिक्षामन्त्री, सचिव र प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्याय रहेको समिति बनाएका थिए । उक्त समितिलाई साउन २७ गते भित्रै नाम सिफारिस गर्न भनिए पनि नामका बारेमा सहमती जुटाउन नसक्दा लम्बिएको थियो ।

अव पोखरा, मध्यपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा उपकुलपति सिफारिस बाँकी छ । बाकी तीनमध्ये दुईवटा विश्वविद्यालयमा एमाले र एउटामा एमाओवादी निकट प्राध्यापकलाई नियुक्त गर्ने सहमति भईसकेको बताईएको छ ।

साउन २३ गते देखि सातवटा विश्वविद्यालयमा उपकुलपति पद रिक्त छन् ।

२०६८ साल साउनमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले सातैवटा विश्वविद्यालयमा एकैपटक उपकुलपति नियुक्त गरेका थिए । त्यसवेला चारवटा विश्वविद्यालयमा एमालेनिकट प्राध्यापकलाई उपकुलपति बनाईएको थियो ।  अहिले कांग्रेस का प्रधानमन्त्री भएको बेलामा देशको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय सहित चारवटा विश्वविद्यालय आफूले पाउनु पर्ने काँग्रेसको तर्क छ । तर, काँग्रेस निकट विद्यार्थी संगठन लगायत ११ विद्यार्थी संगठनले उपकुलपनि नियुक्तिमा भागबण्डा नगर्न दवाव दिदैं आएका छन् । 

प्रतिक्रिया