Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

कम छैनन् अस्थायी सिकाइ केन्द्र

मंगलबार, ०५ साउन २०७२

studentकाठमाडौं ५ साउन / जस्ताको छानो, काठको ढोका र झ्यालमा ग्रिल राखिएको छ । छडके पानी पर्दा कक्षामा नछिरोस् भनेर जस्ताको पाली बनाइएको छ । जस्तापातामा पनि फरक–फरक रङ लगाइएका छन् । यो भवन कुनै स्थायी संरचना होइन । यो त भूकम्पले विद्यालयको १६ कोठे भवन भत्किएपछि बनाइएको सिन्धुपाल्चोकको सिन्धुपुराना गाउँ उच्च माविको अस्थायी सिकाइ केन्द्र हो ।

स्थायी संरचना नबनेसम्म नियमित कक्षा सञ्चालन गर्न हेलम्बुका युवाले स्वदेशी र विदेशीसँग रकम संकलन गरी अस्थायी सिकाइ केन्द्र बनाएका हुन् । क्षतिग्रस्त संरचना बनाउन सरकारले कम्तीमा तीन वर्ष लाग्ने बताएपछि स्थानीयले दाताको सहयोगमा यस्तो भवन बनाएका हुन् । ‘भत्किएका विद्यालयका सबै संरचना बनाउन तीन वर्ष लाग्छ,’ शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भने, ‘अस्थायी सिकाइ केन्द्र तीन वर्षसम्म टिक्ने बनाउनुपर्छ ।’

यस्ता संरचना बनेपछि भूकम्पको त्रासमा रहेका विद्यार्थी निर्धक्क विद्यालय आउने गरेको जानकारी प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले बताए । हेलम्बु एजुकेसन एन्ड लाइभली हुड पार्टनरसिप (हेल्प) ले सिन्धुकोटका ६ विद्यालयमा यस्तै संरचना प्रयोग गरेर ६ वटा अस्थायी भवन बनाइसकेको छ । त्यसबाहेक हेलम्बु क्षेत्रमा पनि व्यवस्थित अस्थायी सिकाइ केन्द्र बनाएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । ‘तीन वर्षसम्म अर्को संरचना नबनाए पनि नियमित कक्षा सञ्चालन गर्न मिल्ने सिकाइ केन्द्र बनाएका छन्,’ उनले भने । यस्ता केन्द्रको एउटा कोठा बनाउन ८० हजार खर्च भएको जानकारी खतिवडाले दिए ।

सरकारले विद्यालय खोल्नुअघि स्थानीय स्रोत साधन प्रयोग गरेर सिकाइ केन्द्र बनाउन निर्देशन दिएको थियो । यहीअनुसार हेल्पको आर्थिक सहयोगमा सिन्धुपुरानो गाउँ उमाविमा स्थानीय स्रोत साधनबाट १३ वटा कोठा तयार गरिएको छ । त्यसमा ११ वटामा नियमित कक्षा सञ्चालन गरिएको छ । २ वटालाई शिक्षकको आवास बनाइएको छ । भूकम्प जाँदासमेत मानवीय क्षति नहुने गरी बनाइएको सिकाइ केन्द्र बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले बताए । ‘दाताको सहयोगलाई क्षणिक फाइदाका लागि मात्रै नभई दिगो संरचना नभएसम्म हुने व्यवस्था गरेका छौं,’ उनले भने, ‘टहरा बनाउन बारम्बार बजेट आउँदैन । सरकारको ढिलासुस्ती हामीलाई थाहा छ । दातृ निकायले बनाइदेला भन्ने आस मात्रै हो । त्यसैले पहिलो चरणमा केही वर्ष टिक्ने बनाएका हौं ।’

दाताले दिएको रकमलाई सही सदुपयोग गरियो भने तीन वर्ष टिक्ने टहरा बनाउन सकिने प्रधानाध्यापक खतिवडाको भनाइ छ । सिकाइ केन्द्र बनाउन पुरानो भवनको काठ र अरू सामान पनि प्रयोग गरिएको उनले बताए । उपत्यकामा बाँसको खपेटाबाट एउटा कोठा बनाउन एक लाख रुपैयाँसम्म खर्च गरिएको छ । तर, ती व्यवस्थित छैनन् । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्थायी सिकाइ केन्द्र बनाउन स्थानीय एनजीओलाई जिम्मेवारी दिने गरेका छन् । एकपछि अर्कोले कमिसन र कार्यालय सञ्चालन खर्च राख्दा सिकाइ केन्द्र कमजोर र क्षणिक समय टिक्ने बनाइएको छ ।

सिन्धुकोटको महादेवीस्थान प्रावि, भीमसेन प्रावि, कालिका प्रावि र भूमेश्वरी प्राविका अस्थायी सिकाइ केन्द्र पनि तीन वर्षसम्म नियमित कक्षा सञ्चालन गर्न सकिने गरी निर्माण गरिएको छ । प्राथमिक विद्यालयमा चारवटा कोठा बनाइएको छ ।

गाउँमा विद्यालय बनाइदिने संस्था नभएपछि स्थानीयले ‘हेल्प’ लाई गुहारेका थिए । विद्यालय निर्माणपछि स्थानीय खुसी छन् । शिक्षा मन्त्रालयका सहसचिव हरिप्रसाद लम्सालले शनिबार अस्थायी सिकाइ केन्द्रको उद्घाटन गरे । शिक्षा विभागले क्षति भएको विद्यालयको छानामा जस्तापाता ओढाउन निर्देशन दिएको छ । जेठ १७ देखि विद्यालय सञ्चालन गर्न धेरैजसो विद्यालयले स्याउला र पाल ओढाएका छन् । जस्ता ओढाउन रकम विनियोजन गर्न पठाए पनि प्लास्टिक मात्रै राखेको पाइएपछि यस्तो निर्देशन दिइएको हो । भूकम्पले १४ जिल्लामा ४ हजार ९ सय ६२ विद्यालयमा क्षति पुगेको छ ।

आठ सय विद्यार्थीलाई झोला

हेल्पले सिन्धुकोटका ६ विद्यालयका आठ सय विद्यार्थीलाई झोला वितरण गरेको छ । विद्यालय जान प्रेरित गर्न झोला वितरण गरिएको हेल्पका कार्यकारी निर्देशक जिमी लामाले बताए । भूकम्पको धक्काले घर भत्किँदा झोला पुरिएपछि विद्यार्थीहरू हातमा पुस्तक लिएर आउने गरेका थिए । झोलासहित विद्यार्थीलाई टिफिन बक्स, बोतल, कलम, सिसाकलम, कापी र रेनकोट वितरण गरिएको थियो । झोला पाउने भएपछि विद्यालयबाहिर रहेका विद्यार्थी पनि भर्ना गर्न चासो देखाएका थिए ।

कान्तिपुरमा मकर श्रेष्ठले लेखेका छन् । 

प्रतिक्रिया