Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

उच्च शिक्षामा दुई लाख विद्यार्थी घटे

आइतबार, १० साउन २०७२

काठमाडौं, १० साउन/ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले घटेको छ । तीन प्रतिष्ठान र ६ विश्वविद्यालयमा गत वर्ष  ६ लाख विद्यार्थीले अध्ययन गरेपनि यसवर्ष चार लाख मात्रै अध्ययनरत छन् ।  

सरकारले दुई साताअघि सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौं, लुम्बिनी बौद्ध, कृषि तथा वन विज्ञान, मध्य पश्चिमाञ्चल, सुदुर पश्चिमाञ्चल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रंतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान  र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अघिल्लो वर्ष ६ लाख ७८ हजार विद्यार्थी रहेकोमा यस वर्ष घटेर ४ लाख ८० हजारमा झरेको छ । 

त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्या ब्यापक उतार चढाब देखिएको छ । शैक्षिक सत्र ०७०÷७१ मा त्रिभुवन विश्वविद्यालयमा अध्ययनर गर्ने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलना ३३ प्रतिशतले घटेको छ । आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार अघिल्लो शैक्षिक सत्रमा ६ लाख ४ हजार विद्यार्थी रहेकोमा ०७०÷७१ मा ४ लाख ५ हजारमा सिमिति भएको छ । ०६६÷६७ देखि ०६८÷६९ सम्म ३ लाख ७३ हजारको हाराहारीमा विद्यार्थी रहेपनि ०६९÷७० मा ६ लाख पुगेको थियो । यो संख्या क्रमश घटै गएको हो । 

त्रिविमा ६० आगिंक र १ हजार ५३ सम्बन्धन प्राप्त कलेज छन् । ०६९÷७० मा आगिंकमा २ लाख ७३ हजार विद्यार्थी रहेकोमा गत वर्ष घटेर १ लाख ४८ मा झरेको छ । त्यस्तै सम्बन्धन प्राप्त एक हजार ५३ कलेजमा ०६९÷७० मा ३ लाख ३१ हजार विद्यार्थी रहेकोमा पछिल्लो वर्ष २ लाख ५७ भएको छ । 

त्रिविको बार्षिक शैक्षिक क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नभएपछि विद्यार्थीले स्वदेशको अन्य विश्वविद्यालय र विदेशमा अध्ययन गर्न थालेका छन् ।

 

त्रिविको विद्यार्थी संख्या घटेपनि काठमाडौं विश्वविद्यालय (केयू)ंमा विद्यार्थी संख्या बृद्धि भएको छ । केयूको ६ आगिक र १५ सम्बन्धन प्राप्त कलेजमा ०६९÷७० मा १३ हजार विद्यार्थी रहेकोमा पछिल्लो वर्ष यो संख्या बढेर १४ हजार सात सय पुगेको छ । पूर्वाञ्चल विश्वविद्यालयमा पनि विद्यार्थी संख्या घटेको छ । 

 उच्च माध्यमिक विद्यालय अध्ययन गर्ने विद्यार्थीको संख्या पनि १२.१२ प्रतिशत घटेको छ । यस वर्ष चार लाख ५३ हजार ५ सय ९७ विद्यार्थी यस वर्ष अध्ययनरत छन् । यसमा कक्षा ११ मा २ लाख २५ हजार र १२ कक्षामा २ लाख २८ हजार विद्यार्थी छन् । 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया