Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

विद्यालय बनाउन बोक्सीको सहयोग

सोमबार, ११ साउन २०७२

काठमाडौं ११ साउन / भूकम्पका कारण दुर्गम क्षेत्रमा भत्किएका विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउन अस्ट्रेलियाको क्यानबेरामा नेपाली चलचित्र ‘बोक्सी’को विशेष प्रदर्शनी गरिने भएको छ । 

सहयोगका लागि हुन लागेको चलचित्र प्रदर्शनमा क्यानबेराको सरकारी संग्रहालय नेसनल फिल्म एन्ड साउन्ड अर्काइबले सहयोग गर्ने भएको छ । संग्रहालयसँग समन्वय गरी अस्ट्रेलिया नेपाल शैक्षिक सोसाइटी, एनआरएन अस्ट्रेलिया, अस्ट्रेलिया नेपाल फ्रेन्डसिप सोसाइटीलगायतका नेपाली संघसंस्थाले चलचित्र प्रदर्शन गर्ने तयारी गरेका हुन् ।

क्यानबेरास्थित संग्रहालयको आर्क सिनेमा हलमा अगस्ट १४ (साउन २९) मा चलचित्र प्रदर्शन हुने अस्ट्रेलियन क्यापिटल टेरीटोरीका सहसंयोजक प्रदीप तिमिल्सिनाले जानकारी दिएका छन् । तिमिल्सिनाका अनुसार सहयोगका लागि प्रदर्शन गरिने चलचित्र हेर्न १५ डलर र २० डलर गरी दुई किसिमका टिकटको व्यवस्था गरिएको छ ।

भूकम्पलगत्तै राहत संकलन गरी नेपाल पठाएका क्यानबेराका नेपालीले पुनर्निर्माणका लागि पहिलो प्रयासस्वरूप चलचित्र प्रदर्शन अभियान थालेका हुन् । चलचित्र प्रदर्शनी हुने आर्क सिनेमाको हलमा दुई सय ४८ सिट रहेको छ । चलचित्र हेर्न दुई सयभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको तिमल्सिनाले बताए ।

‘सकेसम्म धेरैको सहभागिता गराई सहयोग जुटाउने हाम्रो उद्देश्य हो । यहाँका नेपाली सक्रिय भएर लागेकाले सफल हुनेमा हामी आशावादी पनि छौं’,उनले भने ।

क्यानबेरामा रहेका नेपाली मिडियाले पनि चलचित्र प्रदर्शनीलाई विशेष महत्व दिएको तिमल्सिनाको भनाइ छ । प्रदर्शनीलाई सफल बनाउन क्यानबेराका विश्वविद्यालयमा चलचित्र निर्माणसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीलाई पनि बोलाइएको छ । 

‘विश्वविद्यालयमा चलचित्र निर्माणसम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीलाई आमन्त्रण गरेका छौं । जसबाट सहयोगका साथै नेपाली परम्परा र जीवनशैलीका बारेमा उनीहरूले थाहा पाउनेछन् । अन्य शैक्षिक संस्थासँग संग्रहालयले समन्वय गरिरहेको छ’, उनले जानकारी दिए ।

पुनर्निर्माणका लागि नेपालका अति दुर्गम क्षेत्रका दर्जनभन्दा बढी विद्यालयको नाम उपलब्ध भएको उनले जानकारी दिएका छन् । बढी प्रभावित र सरकारी पहु“च नपुगेका क्षेत्रमा संकलित रकमले विद्यालय निर्माण गरिने भएको छ ।

के छ बोक्सीमा ?

नेपालमा नाट्य शिरोमणिका रूपमा चिनिने बालकृष्ण समद्वारा लिखित चलचित्र हो बोक्सी । गोपालचन्द्र लामिछाने निर्देशित यो चलचित्र दुई घन्टा १८ मिनेट अवधिको छ । यस चलचित्रलाई चलचित्र विकास बोर्डले विशेष चलचित्रका रूपमा सम्मान गरिसकेको छ । 

 नेपालको सामाजिक परम्परा र बालमनोविज्ञानलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यस चलचित्रमा बोक्सीको आरोपमा पीडा खेप्दै आएका निर्दोष व्यक्तिलाई न्याय र समाजमा विद्यमान बोक्सीजस्तो अन्धविश्वास एवं भ्रम चिर्ने प्रयास गरिएको छ ।

अन्नपूर्ण पोष्टमा दिवाकर भण्डारीले लेखेका छन् । 

प्रतिक्रिया