Edukhabar
आइतबार, ०६ असोज २०८१
खबर/फिचर

कहिलेसम्म स्कुल बन्द ?

सोमबार, ०७ भदौ २०७२

- शेखर ढकाल / सुनसरी ७ भदौ / विहान १० बज्न नपाउँदै खाना खाएर हतार हतार विद्यालयका लागि तयार हुने सुनैनाको दैनिकी पुरै बदलिएको छ । संधै उही समयमा विद्यालयको पोशाक लगाएर झोला बोक्दै बाबुको मोटसाइकल चढ्थिन उनी । एकसाता भयोे खाना खाएपछि उनले न ड्रेस लगाउनु परेको छ न त झोला उचाल्नै परेको छ ।

सुनैना मात्र हैन पूर्वी तराईका हजारौं विद्यार्थीको दैनिकी एकसाता देखि फेरिएको छ । सीमांकनको विरोधमा विभिन्न राजनीतिक दलले गरेको बन्दका कारण देशभरीको पठन पाठन ठप्प भएको छ । बन्दले पूर्वी तराईको जनजीवनमा नराम्रो असर परेको छ । सबै भन्दा धेरै असर जरुरी काम परेर हिड्नु पर्नेहरु र विद्यार्थीले भोगिरहेका छन् । यहि तरिकाले निरन्तर बन्द भईराख्ने हो भने जनजीवन थप कष्टकर हुने पक्का छ ।

बन्दका कारण पूर्वी तराईका पाँच हजार बढि विद्यालय एकसाता दिनदेखि खुलेका छैनन् । विद्यार्थीको पढाइ ठप्प भएको छ । यसमै थपिएको छ आदिवासी जनजाती महासंघले आइतबार र सोमबारका लागि आव्हान गरेको बन्द पनि ।

मोरङ, सुनसरीका आधा जसो विद्यालय गएको आइतबारदेखि खुलेका छैनन् । भने सिराहा, सप्तरी, धनुषा लगायतका जिल्लाका सबै विद्यालय ठप्प छन् । यस क्षेत्रका न सरकारी विद्यालय खुल्ला छन्  नत निजी विद्यालय सबै विद्यालय बन्द हुदाँ विद्यार्थीको पढाइ ठप्प भएको । सबै भन्दा धेरै मार यस वर्ष एसएलसी दिने विद्यार्थीले खेपेका छन् ।

‘बैशाख जेठमा पनि पढ्न पाइएन भुकम्पले गर्दा विद्यालय बन्द भो, त्यसपछि लागे पनि पढ्ने अवस्था रहेन, असारमा बर्खे बिदा साउन अन्त्यदेखि विद्यालय त लागे तर पढ्नुपर्ने वेलामा बन्द हड्तालले विद्यालय जान सकिएको छैन,’ कविर मावि इटहरीमा कक्षा १० मा अध्ययनरत दिपिका दाहालले भनिन्, ‘यस वर्ष एसएलसी दिनु पर्ने यस्तै पढाइ हो भने कसरी पास गर्नु ?’ 

विद्यालय बन्दले विद्यार्थीलाई पढ्न नपाएकोमा चिन्ता छ भने अभिभावकहरु झन् चौतर्फी मारमा परेको गुनासो गर्छन् । ‘स्कुल बन्द भएपछि नानीहरुलाई हेर्न घरमा बस्नु पर्छ । उनीहरुको रेखदेख गर्नु की काममा जानु ? अभिभावक संघ पूर्वाञ्चल संयोजक देवी पन्थी भन्छन् ‘अर्का तर्फ निजी विद्यालयले बन्दको वेलाको पनि शुल्क असुल्छन् ।’ विद्यालय नलागेको समयको यातायात भाडा र छात्रावासमा बस्ने विद्यार्थी घर गएपनि त्यो समयको शुक्ल अभिभावकले तिर्नुपर्दा अभिभावक चौतर्फी मारमा परेको उनको भनाइ छ । 

विभिन्न विद्यार्थी संगठन र अभिभावक संघले पटक पटक बन्द कर्ताहरुसंग विद्यालय खुल्ला गराउन पहल गरेपनि एक पछि अर्को गरि आउने बन्दकर्ताहरुले टेरपुच्छर लगाएनन् । नेकपा माओवादी बैद्य समुहले बन्द घोषणा गरेको अघिल्लो दिन गएको शनिबार नै सुनसरीका तीनवटा विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलन गर्दै राज्यसंग आफ्ना माग राख्नेले शैक्षिक क्षेत्रलाई असर नपुर्याउन आग्रह गरेका थिए ।

नेपाल विद्यार्थी संघ, अखिल नेपाल स्वतन्त्र विद्याथी युनियन र अखिल क्रान्तिकारीले इटहरीमा पत्रकार सम्मेलन गरि अन्य क्षेत्र बन्द भएपनि शैक्षिक संस्था र तीनका सवारीलाई निर्वाध रुपमा चल्न दिन माग गरेका थिए । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि दलहरुले आफ्ना माग पूरा गराउन बन्दलाई रोज्दा समस्या भएको छ ।

आफुले हस्ताक्षर गरेको प्रतिबद्धता कार्यान्वयन गर्न दलहरुलाई विद्यार्थी संगठनहरुले नै आग्रह गरे । उनीहरुले विद्यार्थी पढ्न पाउने अधिकार बाट बञ्चित नर्गन सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरे ।

बन्दका बेला शहरी क्षेत्रका विद्यालय खुल्ने नखुल्ने भन्ने कुरा सुरक्षासंग जोडिएको विषय हो । विद्यालय र विद्यालयका सवारी साधनको सुरक्षा कसले गर्छ र कसरी हुन्छ ? अहम् प्रश्न यही हो । 

विद्यालय सञ्चालकहरुको संस्था निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन प्याब्सनले काठमाडौंमा पत्रकार सम्मेलननै गरेर बन्दका बेला विद्यालय र विद्यालयका सवारी साधनको सुरक्षा हुने हो भने विद्यालय खोल्न कुनै गाह्रो नभएको बताईसकेको छ । तर यसमा कसैको ध्यान पुगेको छैन, विद्याथीृ मारमा परिरहेकै छन् ।

प्याव्सन र एन प्याव्सन सुनसरीले पनि प्रेस विज्ञप्ती जारी गरि शैक्षिक संस्था बन्द नगराउन आग्रह गरिसकेका छन् । विद्यालय प्याव्सन र एनप्याव्सन मोरङ तथा अभिभावक संघ पूर्वाञ्चलले पनि विराटनगरमा सरोकारबालाई सहभागि गराएर गत विहिबार छलफल गरे । तर बन्दकर्ता दल तथा समुहहरु आफ्नो अडानबाट तल ओर्लिएनन् । विद्यालय बन्द भईरहे ।

प्याव्सन मोरङका अध्यक्ष टीका ढकालले पटक पटक आन्दोलनकारी समुहहरुसंग बसे पनि समस्याको निकास ननिस्केको बताए । ‘थुप्रै चरणमा धेरै समुहसंग वार्ता र छलफल गरियो तर सबै उपलब्धि हिन भैरहेको छ,’ ढकालले भने । 

सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको छ । त्यसमा नेपालका सबै जसो राजनीतिक दलले हस्ताक्षर गरेका छन् । दलहरुले आफैले जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकोमा विद्यालय सञ्चालक, शिक्षक मात्र हैन विद्यार्थी समेत छक्क परेका छन् । आन्दोलनकारीले आफ्ना माग पुरा गराउन आफुहरुको पढ्न पाउने अधिकार हनन् गरेकोमा आक्रोस पोख्दै एक विद्यार्थीले भने  ‘तिम्रा माग पूरा गराउन कहिलेसम्म हाम्रा स्कुल बन्द गर्छौ ?’

फोटो : ईन्टरनेट

प्रतिक्रिया