Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

कमिसनमा विद्यार्थीलाई फसाएर भारत

बुधबार, १३ साउन २०७२

कमिसनमा विद्यार्थीलाई फसाएर भारतकाठमाडौं  १३ साउन / मुलुकका विभिन्न कलेजमा वार्षिक ५ हजार विद्यार्थीलाई इन्जिनियरिङ पढाउन सक्ने क्षमता भए पनि धेरै विद्यार्थीलाई ‘सेटिङ’ मिलाएर भारत पठाइने गरिएको छ । राजधानीमा इन्जिनियरिङ तयारी कक्षा सञ्चालन गर्ने इन्स्टिच्युटबाटै विद्यार्थीलाई सिधै भारत पु¥याउने गरिएको छ ।

विज्ञान संकायअन्तर्गत कक्षा १२ को परीक्षा दिई इन्जिनियर बन्ने लक्ष्य राख्ने विद्यार्र्थी र उनीहरूका अभिभावकलाई प्रलोभनमा पारी भारतका कलेजमा पु¥याउने गिरोह नै सक्रिय रहेको जानकार बताउँछन् । तयारी कक्षाका सञ्चालक र भारतबाट आउने कलेज प्रतिनिधिको मिलोमतोमा विद्यार्थीको मोलमलाइ हुने गरेको छ ।

यस्ता इन्स्टिच्युटले प्रतिविद्यार्थी ५० हजारदेखि १ लाख रुपैयाँसम्म लिने गरेका छन् । उनीहरूले एकातिर विद्यार्थीबाट शुल्क असुलिरहेका हुन्छन् भने अर्कातिर भारतीय कलेजका प्रतिनिधिलाई नियमित उपस्थित गराएर पनि कमिसन लिने गरेका छन् । विद्यार्थी लिन उनीहरू तयारी कक्षामै आउने गरेका छन् ।

कारोबारले राजधानीको जीपीसी नेपाल एजुकेसन कन्सल्ट्यान्सीमा भेटेका दिल्ली कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्टका कोअर्डिनेटर कौशल कुमारले नेपालका कलेजभन्दा भारतमा गुणस्तरीय पढाइ हुने भएकाले आफूहरू विद्यार्थीलाई ‘कन्भिन्स’ गर्न आएको सुनाए । इन्जिनियरिङ तयारी कक्षा सञ्चालकलाई कमिसन दिने गरेको विषयमा भने उनी केही बोल्न चाहेनन् ।

राजधानीमा तयारी कक्षा सञ्चालन गर्ने दर्जन इन्स्टिच्युटमध्ये आधा दर्जनले विद्यार्थी भारत पठाउने गरेको एक सञ्चालकले बताए । कारोबारसँग कुरा गर्दै केही सञ्चालकले यो कुरा स्वीकार गरे पनि कारबाही डरले नाम नखोल्न आग्रह गरे ।

नेपालबाट इन्जिरियरिङ अध्ययन गर्न भारत जाने क्रम ५ वर्षदेखि चलेको पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन नेपालका उपाध्यक्ष गोपी न्यौपाने बताउँछन् । “विदेशमा अध्ययन गर्न जाने विषयमा हाम्रो आपत्ति होइन तर गुणस्तरीय कलेज भनी झुक्याएर फसाउने गरिएको छ, त्यो रोकिनुपर्छ,” उनी भन्छन्, “यस्ता इन्स्टिच्युटले भएजति विद्यार्थी भारततिर पठाउँदा कतिपय विश्वविद्यालयमा कोटाअनुसार विद्यार्थी नै पाइन छाडेका छन् ।”

प्लस टुमा विज्ञान विषय पढेका धेरैजसो उत्कृष्ट विद्यार्थीको लक्ष्य पुल्चोक इन्जिनियर क्याम्पसमा नाम निकाल्ने हुन्छ । यहाँ छात्रवृत्तिमा २२८ सहित जम्मा ४३२ विद्यार्थीको कोटा छ । पुल्चोक क्याम्पस इन्जिनियरिङमा सबैभन्दा अब्बल मानिने भएकाले धेरै विद्यार्थी यहीँ नाम निकाल्ने ध्याउन्नमा हुन्छन् । त्यसपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत आंगिकमा धरान, पोखरा र थापाथली पर्छन् ।

त्रिविका सम्बन्धनप्राप्त इन्जिनियरिङ क्याम्पस १० वटा छन् । उसका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा कुल १३४४ विद्यार्थीको कोटा हुन्छ । काठमाडौं विश्वविद्यालयमा ३००, पोखरा विश्वविद्यालयमा १४ सयदेखि १५ सय, पूर्वाञ्चल विश्वविद्यालयमा १२ सय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा २०० र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १३० विद्यार्थीको कोटा छ ।

हचुवामा इन्जिनियरिङ लाइसेन्स

अर्कातिर, नेपाल इन्जिनियरिङ काउन्सिलले परीक्षा नै नलिई विद्यार्थीलाई इन्जिनियरको लाइसेन्स दिने गरेको छ । यसले गर्दा भारतका गुणस्तरहीन कलेजमा पढेका विद्यार्थीले पनि सजिलै लाइसेन्स पाउने गर्छन् । काउन्सिलको ऐनले विशेष समितिको सिफारिसका आधारमा प्रमाणपत्र जाँचबुझ गरेर लाइसेन्स दिने व्यवस्था गरेको रजिस्ट्रार उमेश थानीले बताए । “लाइसेन्स उपलब्ध गराउँदा परीक्षा गराउने व्यवस्था कानुनमै नभएकाले प्रमाणत्रसहित कलेजको छानबिन गरी लाइसेन्स दिने गरेका छांै,” उनले भने ।
मेडिकलसहित हरेकजसो प्राविधिक विषयका काउन्सिलहरूले परीक्षा लिएरमात्रै लाइसेन्स दिने गरेका छन् । यसमा इन्जिनियरिङ काउन्सिल पर्दैन ।

यसरी फसाइन्छन् विद्यार्थी

तयारी कक्षा सञ्चालकले इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीलाई सुरुमा पुल्चोक इन्जिनियरिङ कलेजमा नाम निकाल्ने भन्दै पढाउँछन् । नाम निकाल्न नसकेका विद्यार्थीलाई भ्रम छर्दै सञ्चालकहरूले नेपालका अरु विश्वविद्यालय र कलेज नराम्रो भएको भनी उक्साउँछन् । यस्तो काममा भारतीय कलेजका एजेन्टको प्रत्यक्ष संलग्नता हुन्छ । त्यसपछि तयारी कक्षा अध्ययन गर्न आएका विद्यार्थीलाई भारतका बैंगलोर, चेन्नई, दिल्लीलगायत सहर पु¥याइन्छ ।

धेरैजसो भारतीय कलेजले नेपाल सरकारको अनुमति नै नलिई नेपाली इन्स्टिच्युटसँग मिलेर पाँचतारे होटलमा एजुकेसन फेयर आयोजना गरी विद्यार्थी लैजाने गर्छन् । विद्यार्थीहरू भारतीय कलेजमा भर्ना भएपछि यताका इन्स्टिच्युटले सम्झौताबमोजिम रकम बुझ्ने गर्छन् । साधारणतया यस्तो शुल्क प्रतिविद्यार्थी ५० हजारदेखि १ लाख रुपैयाँसम्म हुने गरेको नाम नखोल्न आग्रह गर्दै एक सञ्चालकले कारोबारलाई बताए । विद्यार्थीलाई आफ्नो मोलतोलबारे छनकसम्म हुन्न ।

कारोबारमा वीरेन्द्र ओलीले लेखेका छन् ।

प्रतिक्रिया