Edukhabar
शनिबार, ०५ असोज २०८१
अन्तैवाट

३९ प्लसटुको सम्बन्धन खारेज

मंगलबार, १९ साउन २०७२

काठमाडौं १९ साउन / उच्च माध्यमिक शिक्षा परिषदले देशभरका ३९ प्लसटुको सम्बन्धन खारेज गरेको छ। परिषदले आफैँ सम्बन्धन दिएका तर कक्षा ११ र १२ सञ्चालन गरी केही वर्षभित्रै बन्द भएका प्लसटुको सम्बन्धन खारेज गरेको हो ।

नाम चलेका निजी, सामुदायिक, जिरो प्लसटु तथा क्याम्पसमा सञ्चालित प्लसटुसमेत खारेजीमा परेको परिषदद्वारा आइतबार प्रकाशित सूचनामा जनाइएको छ।

खारेजीमा पर्नेमा काठमाडौंका श्री सत्यसाई शिक्षासदन उच्चमावि बत्तीसपुतली, डिल्लीबजार कन्या बहुमुखी क्याम्पस, बूढानीलकण्ठ आश्रम उच्चमावि, रिलायन्स रेजिडेन्सियल स्कुल पुरानो बानेश्वर र पिनाकल स्कलर्स एकेडमी उच्चमावि कलंकी छन्। त्यसैगरी ललितपुरका ९ वटा प्लसटुको सम्बन्धन खारेज भएको छ। खारेजीमा परेका कुपन्डोलको ललितपुर कलेज र नक्खुरोडको सिम्बायोसी एकेडेमी उच्चमावि जिरो प्लसटु हुन्। यसैगरी बाल शिक्षा उच्चमावि ग्वार्को, चेतना विद्याश्रम उच्चमावि लामाटार, कुपन्डोलको रुपक मेमोरियल उच्चमावि, सेन्टपल उच्चमावि, बालकुञ्ज उच्चमावि र ज्ञानविज्ञान हाइअर उच्चमाविले सम्बन्धन लिए पनि तीन वर्षदेखि कक्षा ११ र १२ सञ्चालन नगरेकाले सम्बन्धन खारेज गरिएको परिषदले जनाएको छ।

यसैगरी भक्तपुर मध्यपुर ठिमीको जनआदर्श क्याम्पस र काभ्रेपलाञ्चोक चौकोटको काठमाडौं विश्वविद्यालय उच्चमाविसमेत कक्षा ११ र १२ सञ्चालन नगरेकै कारण खारेज भएका छन्।

मोरङका देवकोटा मेमोरियल उच्चमावि, कन्या क्याम्पस, राम मेमोरियल उच्चमावि, सगरमाथा बोर्डिङ उच्चमावि, पेरागन एकेडेमी उच्चमाविले कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति लिए पनि तीन वर्षदेखि विद्यार्थी भर्ना र पठनपाठन नगरेकाले सम्बन्धन खारेजी गरेको परिषद प्रवक्ता हीरा आचार्यले जानकारी दिइन्।

'विगतमा जिरो प्लसटु, निजी प्लसटु र सामुदायिक प्लसटुले कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिए तर केही वर्ष सञ्चालन गरे पनि तीन वर्षदेखि विद्यार्थी भर्नासमेत गरेका छैनन्,' उनले नागरिकसँग भनिन्, 'कक्षा ११ र १२ सञ्चालन गर्न ल्याब, कक्षाकोठा, भौतिक पूर्वाधार देखाए पनि पछि ढा"टेको पाइयो।'

आचार्यका अनुसार परिषदले पहिलो चरणको कारबाहीमा काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, काभ्रे, झापा, उदयपुर, मकवानपुर, लमजुङ, तनहुँ, सुर्खेत, कञ्चनपुर, नवलपरासी, रुपन्देही, प्युठानलगायत जिल्लाका ७१ प्लसटुको सम्बन्धन खारेजी प्रक्रिया अघि बढाएको थियो। 'स्पष्टीकरण माग्दा ३९ प्लसटुले दिएनन्, परिषदको १ सय ८२ औं बैठकको निर्णयअनुसार कारबाही प्रक्रिया अघि बढाएका हौं,' उनले भनिन्, 'तोकिएको समयभित्रै स्पष्टीकरण प्राप्त नभएपछि साउन ४ को निर्णयअनुसार ३९ प्लसटु खारेजीमा परे।' कतिपय प्लसटुले सम्बन्धनका बखत परिषदलाई ठगी गरेर सम्बन्धन लिएको रहस्य खुलेको उनले जनाइन्।

'राजनीतिक दबाब र भनसुन' का आधारमा सम्बन्धन दिएकै कारण अहिले ती प्लसटुलाई कारबाही गर्नुपरेको परिषद स्रोतले बतायो। 'विगतमा अध्ययन–अनुसन्धान नै नगरी भनसुन र आर्थिक चलखेलकै आधारमा सम्बन्धन बा"ड्ने काम भयो,' परिषदकै एक उच्च कर्मचारीले नागरिकस"ग भने, 'अहिले ती उच्चमावि घाँडो भए।'

उनले यस घटनालाई विभिन्न दलका नेता–कार्यकर्ताको दबाब र आर्थिक प्रलोभनमा जथाभावीरूपमा सम्बन्धन वितरण गरेको परिणामको संज्ञा दिए। 'राम्ररी अनुसन्धान गरेर सम्बन्धन दिइएको भए यी प्लसटुमा भौतिक पूर्वाधार र विद्यार्थी भर्ना हुने थिए, केन्द्रमा बसेर हचुवाकै भरमा दिइएकाले यो समस्या आएको हो,' ती कर्मचारीले भने।

परिषद प्रवक्ता आचार्य भने यो मान्न तयार छैनन्। 'सम्बन्धन लिने बेलामा भौतिक पूर्वाधार देखाए पनि पछि ढाँटेको प्रमाणित भएकाले सम्बन्धन खारेज गरेका हौं,' उनले भनिन्।

खारेजीमा परेका निजी प्लसटुले सम्बन्धन लिए पनि पर्याप्त स्रोत–साधन नभएकाले कक्षा सञ्चालन गर्न नसकेको जनाएका छन्। कलंकीस्थित पिनाकल स्कलर एकेडेमीले ०६५ सालमा कक्षा ११ र १२ मा व्यस्थापन विषय सञ्चालन गर्न सम्बन्धन लिएको थियो। 'हामीले ३ वटा ब्याच निकालिसक्यौं,' प्रिन्सिपल निमिराज घिमिरेले नागरिकसँग भने, 'पर्याप्त भौतिक पूर्वाधार नभएकाले दुई वर्षदेखि नयाँ विद्यार्थी भर्ना लिएका छैनौं।'

एउटै विद्यालयभित्र बिहान ११ र १२ तथा दिउँसो विद्यालय सञ्चालन गर्न समस्या परेको उनले बताए। विद्यार्थी पनि घट्दै गएकाले दुई वर्षदेखि कक्षा सञ्चालन गर्न नसकेको उनको भनाइ छ।

पुरानो बानेश्वरको रिलायन्स रेजिडेन्सियल स्कुलकी प्रिन्सिपल अनिता गुरुङले प्लसटुका लागि सम्बन्धन लिए पनि कक्षा ११ र १२ सञ्चालन गर्नसक्ने वातावरण नभएकाले चलाउन नसकेको जनाइन्।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया