Edukhabar
मंगलबार, ११ मंसिर २०८१
अन्तैवाट

कक्षामै मोबाइलमा गफिन्छन् शिक्षक

आइतबार, २४ साउन २०७२

काठमाडौं २४ साउन / हेलो सर ! मेरो अडिट रिपोर्ट बन्यो।'

जाल्पा उच्चमाविमा यस्तो संवाद सुनिनु कुनै नौलो होइन । कक्षाकोठामा पढाइ भइरहेकै बेला शिक्षक मोबाइल झिकेर गफिन थाल्छन् । त्यो संवाद कहिलेकाहीँ लामै समय चल्छ । पढाइ नै रोकिन्छ । विद्यार्थी त्यतिन्जेल मुखामुख गरेर बस्नुको विकल्प हुँदैन।

सरहरूले कक्षाकोठामा मोबाइलमा कुरा गर्न थालेपछि पढाएको बुझिँदैन,' सोही विद्यालयका कक्षा ८ का एक विद्यार्थीले भने, 'कहिलेकाहीँ त आधा पिरियडै त्यसै सकिन्छ ।' प्राचार्य उत्तम मल्लको पिरियडमा बढी फोनवार्ता हुने गरेको उनले बताए ।

कक्षाकोठामा मोबाइल प्रयोग गर्नु कुनै पनि दृष्टिकोणले उचित होइन । तर, बझाङका विद्यालयमा शिक्षक यसरी नै मोबाइलसेवा दुरुपयोग गर्छन् । यसले एकातिर विद्यार्थीको पठनपाठन प्रभावित हुन्छ भने अर्कोतिर विद्यार्थीलाई मोबाइलप्रति आकर्षण बढाउँछ ।

मेरो छोराले मोबाइल चाहियो भनेर हैरान गर्न थाल्यो, किन यस्तो ग¥यो भनेको त शिक्षकले चलाएको देखेर रहेछ,' जयपृथ्वी नगरपालिकाका जगत बिष्टले भने, 'सरहरूले फोनमा कुरा गरेर रमाइलो गर्छन्, मलाई पनि चाहियो भनेर हैरान गरिरहेको छ ।'

शिक्षक कक्षाकोठामा मात्र होइन, कहिलेकाहीँ पढाउन छाडेर चौरमा गएरसमेत फोनमा कुरा गर्छन् । पछिल्लो समय शिक्षकहरूप्रतिको यस्ता गुनासो बढी नै आउन थालेको छ । सरकारले यही कुरा दृष्टिगत गर्दै कक्षाकोठामा मोबाइल बन्देज गरे पनि गाउँका विद्यालयमा यसको कुनै पर्बाह छैन । शिक्षा विभागले सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत कक्षामा शिक्षकलाई मोबाइलमा कुरा गर्न रोक लगाए पनि त्यसको कार्यान्वयन भएको छैन ।

सत्यवादी उच्चमाविका विज्ञानशिक्षक हरिप्रसाद जोशी जडीबुटी ठेक्कापट्टा, शिक्षक राजनीति र जिल्ला शिक्षा समितिमा संलग्न छन् । 'जोशी सर कक्षामा पुग्नासाथ प्रायःजसो मोबाइल घन्टी बजिहाल्छ,' कक्षा १० मा अध्यनरत एक विद्यार्थीले भने, '४५ मिनेटको पिरियडमा कम्तीमा पनि ५ कल आउँछ, आधाभन्दा बढी समय फोनमा कुरा गर्दैमा बित्छ, अनि कसरी पाठ पूरा हुन्छ ?' चार महिनाको अवधिमा विज्ञानको चारवटा मात्र पाठ पूरा भएको उनले जानकारी दिए । 'व्यापार, ठेक्कापट्टा, राजनीतिमा प्रत्यक्ष संलग्न शिक्षकको बढी मात्रामा फोन आउँछ, उनीहरूले कक्षामै भए पनि फोन उठाउन छाड्दैनन्,' उनले भने ।

पेसागत संघ–संगठनमा शिक्षक आबद्घ हुनु स्वाभाविक हो । तर, बझाङका सरकारी विद्यालयका शिक्षक कांग्रेस, एमाले, एमाओवादी लगायत कुनै न कुनै पार्टीमा आबद्घ छन् । उनीहरूले कक्षाकोठाको पढाइभन्दा पनि राजनीतिक गतिविधिलाई प्राथमिकतामा राख्ने भएकाले समस्या आएको विद्यार्थीको गुनासो छ । 'कतिपय शिक्षकले कक्षामै विद्यार्थीसँग खुलेआम राजनीतिका कुरा गर्छन्,' एक विद्यार्थी भन्छन् ।

यहाँका शिक्षक पढाइभन्दा पनि पार्टी राजनीतिमा सक्रिय हुने भएकाले विद्यार्थीको पढाइको स्तर खस्कँदै गएको नागरिक समाजका अगुवा धर्मङ्ग सिंहले बताए । 'वास्तवमा, यहाँका शिक्षक राजनीतिकर्मी, एनजीओकर्मी, व्यापारी जस्ता छन्, कक्षामा छिरेपछि मैले पढाउनुपर्छ भन्ने कुरा हेक्का राख्दैनन्, आफ्नो व्यापारिक नाफाघाटा तौलने उनीहरूले फोनमा गफिनु अस्वाभाविक होइन,' उनले भने ।

बझाङका जिल्ला शिक्षा अधिकारी मोतीलाल शर्माले राजनीति र व्यापारमा लागेका शिक्षकबारे सम्बन्धित विद्यालयसँग जानकारी माग्न सुरु गरेको बताए । 'शिक्षकले कक्षाकोठामै मोबाइलमा गफ गरेर विद्यार्थीको पढाइमा असर पार्न पाइँदैन, शिक्षा नियमावलीले यसो गर्ने शिक्षकलाई छुट दिँदैन,' जिशिअ शर्माले भने, 'शिक्षकले कक्षामै मोबाइलमा गफिने गरेकोबारे विभिन्न गुनासा आउन थालेका छन्, त्यस्ता शिक्षकलाई कारबाही गरिनेछ ।' आफ्नो जिम्मेवारी पूरा नगरी व्यापार र राजनीतिमा लागेका शिक्षकलाई पनि छुटकारा नदिइने उनले प्रतिबद्घता जनाए ।

जिल्लाका अधिकांश विद्यालयमा दरबन्दीअनुसार शिक्षक नहुँदा पढाइ चुस्त नभएको अवस्थामा कार्यरत शिक्षकले इमानदारीसाथ आफ्नो जिम्मेवारी पूरा नगर्दा समस्या आउने जिशिअ शर्माको भनाइ छ । उनका अनुसार जिल्लामा माविमा १ सय ५९ र निमाविमा ३ सय ६२ शिक्षक अपुग छन् । प्राविमा चाहिँ दरबन्दीअनुसारै १ हजार २ सय ६० शिक्षक छन्।

प्रतिक्रिया