काठमाडौं ३० साउन / 'म चार कक्षामा पढ्दा स्कुलबाट सरहरूले हामीलाई घुमाउन ल्याउनुभएको थियो,' त्रिभुवन विश्वविद्यालको विशाल हाताभित्र घुमिरहेका बेला सुभास अतीततिर फर्किरहेका छन्, 'ठूलो भएपछि यहाँ पढ्न पाउँछु भन्ने कल्पनाले मलाई त्यो बेला कम्ता रमाइलो अनुभूति गराएको थिएन।'
सुभासको विश्वविद्यालयको यो हातामा अध्ययन गर्ने इच्छा पूरा भएन। उनी योभन्दा धेरै भव्य अमेरिकी विश्वविद्यालय मातहतका स्कुलको छात्रवृत्तिमा पढ्न पाउने भाग्यमानी भए। त्यहाँ पढेर गत वर्ष स्वदेश फर्केयता उनी पत्रकारितामा सक्रिय छन्।
रिपब्लिकाका सम्पादक सुभास घिमिरेसहित हाम्रो समाचार कक्षका केही सहकर्मी अचेल दिनहुँजसो विश्वविद्यालयको अवस्थाबारे छलफल गरिरहेका हुन्छौं। विश्वविद्यालयको पवित्रता जोगाउन हामीले के गर्न सकौंला भन्ने प्रश्नमा पनि हामी घोत्लिइरहन्छौं।
'आज फेरि एकपटक विश्वविद्यालय घुमौं,' मैले सुभासलाई प्रस्ताव गरेँ।
उनी तत्कालै तयार भए।
०००
त्रिभुवन विश्वविद्यालयको मुख्य गेटबाट अगाडि बढ्नासाथ झ्याम्म परेका हरिया रूखहरूले हामीलाई स्वागत गरे। प्रवेश मार्ग एकदमै विश्वविद्यालयलाई सुहाउँने किसिमको छ। सडक वारिपारि उभिएका रूखका हाँगा माथि पुगेर एक अर्कासँग जोडिएका छन्। यस्तो लाग्छ, विद्यार्थीहरू वारिपारि टाउका जोडेर उभिएका छन्। हामी तिनले टाँड पारेको बाटोमुनिबाट हिँडिरहेका छौं।
हामी दायाँबायाँ गर्दै सिधै सबैभन्दा माथि रहेको क्याम्पस प्रमुखको कार्यालयमा पुग्यौं। त्यहाँ पुगुन्जेलमा जताततै थोत्रोपन आँखालाई कोपर्न आइरहन्छ। घाँसका झाडी बढेका छन्। सफासुग्घर कतै देखिन्न।
क्याम्पस प्रमुखको कार्यालयमा कुनै आकर्षण छैन। भवन फुस्रो र ठिंग उभिएको जस्तो लाग्छ। केही कर्मचारीहरू काम गरिरहेका जस्ता देखिन्छन्। एक जना कर्मचारी ढोकाबाट भित्र प्रवेश गर्ने ठाउँमै खैनी माडिरहेका छन्।
त्यसको नजिकै उभिएको छ— नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास)। अध्ययन अनुसन्धानका क्षेत्रमा कुनै बेला सिनासको एउटा गौरवशाली परम्परा थियो। त्यहाँबाट प्रकाशित सामग्रीबारे चर्चा/परिचर्चा हुन्थ्यो।
अध्ययन/अनुसन्धानमा अहिले समय लगाउने फुर्सदै कसलाई छ र? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका निम्ति काम गर्दा प्राप्त हुने आम्दानीले विश्वविद्यालयको काममा अनाकर्षक बनाइसकेको छ। विश्वविद्यालयकै अनुसन्धान केन्द्रमा बसेर अध्ययन/अनुसन्धानको वातावरण पनि छैन। न त्यहाँ राम्रो शौचालयको व्यवस्था छ न भोजनालयकै। न त्यहाँ पानी, बिजुली र कम्प्युटर सुविधा छन्।
प्राध्यापन तथा अध्ययन/अनुसन्धान स्वतन्त्रता मन पराउनेहरूको पेसा हो। अहिले विश्वविद्यालयमा हाजिरी मेसिन जडान भएका छन्। यहाँका प्राध्यापक तथा अनुसन्धाता दिनमा दुईपटक हाजिर जनाउनमात्र पुग्छन्। यही स्थिति देखिएपछि केही अनुसन्धाताहरूले विश्वविद्यालय छाडिसकेका छन्।
हामी विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा पुग्यौं। जहाँ विभिन्न विषयका तीन लाखजति पुस्तक, जर्नल र पत्रपत्रिकाहरू छन्। गत वैशाख १२ को भूकम्पले ढालेका दराजहरू ठेगानमा ल्याएर उभ्याउने काम भइरहेको छ। किताबहरूको डुंगुर देखिन्छ भित्र। पुरानो विश्वविद्यालयको पुस्तकालयमा बसेर पढिरहूँजस्तो लाग्ने वातावरण छैन। तैपनि केही विद्यार्थीहरू पुस्तक छानिरहेका, केही टेबुलमा बसेर पढिरहेका देखिन्छन्।
पुस्तकालयबाट अगाडि बढ्ने क्रममा एउटा राम्रो डिजाइन भएको भवन देखियो। गान्धी भवनका नामले चिनिने यो संरचनाको निर्माण असोज २९, २०२५ मा भारतका तत्कालीन राष्ट्रपति जाकिर हुसैनले आधारशिला राखेका रहेछन्।
गत वर्ष थोत्रो भइसकेको भवन फेरि भारतीय सहयोगमा पुनर्निर्माण र रङरोगन भएको रहेछ। तर, भवनको सदुपयोग भने खासै भएको देखिएन। दुई जना विद्यार्थी लोकसेवाको तयारीका निम्ति किताब पढेर बसेका फेला परे। भवनका सहायक कर्मचारीहरू नजिकै एउटा छाप्रो हाल्न व्यस्त थिए।
कैलालीबाट आएका यी दुई विद्यार्थीले संसारका सबैभन्दा सुन्दर विश्वविद्यालयको अनुभव त्यही पुगेर लिन पाएका छैनन्। तर, संचारका आधुनिक सुविधाले उनीहरूमा पनि के राम्रो वा के नराम्रो भन्ने अनुभूति भइसकेको छ।
'त्रिभुवन विश्वविद्यालय शिक्षाको मेरुदण्ड हुनुपर्ने हो,' एक जनाले भने, 'तर, यो अस्तव्यस्त अवस्थामा छ।'
हामी विश्वविद्यालयमा निरुद्देश्य हिँडिरहेका दुई आवाराजस्ता थियौं। हामी विश्वविद्यालयको यति ठूलो क्षेत्रफल, सम्पत्ति र स्रोतको सदुपयोग गर्ने हो भने भविष्यका निम्ति राम्रो जनशक्ति उत्पादन गर्न सकिन्थ्यो भन्ने छलफल गरिरहेका थियौं।
उपकुलपति र डिनका कार्यालयहरूको लथालिंग अवस्थालाई हामीले अवलोकन गर्यौं्। मानिसहरू यहाँ आफ्ना जिम्मेवारी लिएर आए पनि किन त्यसलाई राम्रो बनाउन सक्रिय हुँदैनन् भन्ने प्रश्न आफैंसँग गर्यौं । शौचालयहरूमा पानी थिएन। यी परैदेखि डुङडुङ्ती गन्हाइरहेका थिए। के यहाँ राज्यले नियुक्त गरेका उपकुलपति र पदाधिकारीहरूलाई यसले छुँदैन?
०००
करिब दुई घन्टाको यात्रापछि हामी त्रिभुवन विश्वविद्यालयबाट फर्क्याैं। हामी एक–अर्कासँग कुरा गरिरहेका थिएनौं। दुवै निराश थियौं।
म भने त्रिभुवन विश्वविद्यालयको सुदूर भविष्यतिर विचरण गरिरहेका थिएँ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको गौरवका रूपमा उभिएका छ। हरिया रूखले घेरिएको मनमोहक ठाउँमा विश्वविद्यालयका कार्यालय र क्याम्पसहरू छन्।
विश्वविद्यालयभित्र विभिन्न स्कुलहरूका क्याम्पसहरूमा पढाइ भइरहेको छ। अध्ययन/अनुसन्धानको काम पनि त्यतिकै भइरहेको छ। संघीयतामाथि विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अनुसन्धानले देशमा हल्लीखल्ली मच्चाइरहकेको छ।
विश्वविद्यालयको ल्याबमा विद्यार्थीहरू प्रयोगमा व्यस्त छन्। विश्वविद्यालयले संसारका ठूल्ठुला कम्पनीहरूसँग सहकार्य गरेर त्यही हवाइजहाजका इन्जिनसमेत बनाउने काम गरिरहेका छन्। विद्यार्थीहरू पढाइ सक्नासाथ तिनै कम्पनीका निम्ति अनुबन्धित पनि भइसकेका छन्।
त्रिभुवन विश्वविद्यालयको क्यान्टिनमा देशका सबैजसो जातजातिका परिकारहरू चाख्न पाइन्छ। विद्यार्थीहरू आपसमा छलफल गर्दै छन्— हिजो नेवारी खाजा सेट खाइएको थियो आज मैथिली तरुवासहितको लन्च खानुपर्ला।
विश्वविद्यालयमा पुस्तकालय मात्रै दसभन्दा बढी छन्। संसारभरिका विश्वविद्यालयले निकाल्ने इजर्नलहरू यहाँका विद्यार्थीका निम्ति सहज उपलब्ध छन्। संसारभरिका पत्रपत्रिकाहरूको माइक्रो फिल्मिङ गरेको हुनाले जस्तोसुकै अनुसन्धान गर्न पनि उनीहरूलाई गाह्रो छैन। जंगबहादुरको बेलायत यात्राका बेला बेलायती अखबारमा छापिएका सामग्रीबारे आज पत्रकारिताको कक्षामा छलफल भइरहेको छ।
सिनेमासम्बन्धी अध्ययन गरिरहेका विद्यार्थीहरू तीन घन्टा लामो सिनेमा हेरिसकेर यसका पात्रहरूमाथि लामो बहस गरिरहेका छन्। विश्वविद्यालयको क्षेत्र यति ठूलो छ कि एक ठाउँबाट अर्को ठाउँमा पुग्न वरिपरि मोनोरेल गुडिरहेको हुन्छ। विश्वविद्यालयमा आउने पाहुना, विद्यार्थीमात्र होइन त्यस क्षेत्रका बासिन्दालाई समेत यसमा कुनै भाडा लाग्दैन। विश्वविद्यालयको पार्किङ लटमा उभिएका गाडी देख्दा संसारभरिका धनी मानिस यही विश्वविद्यालयमा पढ्न र पढाउन आउँछन् भन्ने लाग्छ।
सरकारले भर्खरै बजेटमार्फत विश्वविद्यालयको निम्ति अर्बौं रुपैयाँ अनुदान दिने घोषणा गरेको छ। यसको कारण देशभरिका गरिब तथा जेहन्दार विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न पाउने छन्। त्यतिमात्र होइन नेपालसम्बन्धी अध्ययनमा रुचि राख्ने संसारभरिका विद्यार्थीहरूलाई काठमाडौंमा अध्ययनका निम्ति सरकारले छात्रवृत्तिको व्यवस्थासमेत गरेको छ।
विश्वविद्यालयका फ्याकल्टीहरूमा देशका उम्दा लेखक, अनुसन्धानकर्तामात्र होइन राष्ट्रपति, प्रधानमन्त्रीसमेत संलग्न छन्। देशले आगन्तुक प्राध्यापकका रूपमा पनि नोबेल पुरस्कार पाएकादेखि संसारभरका नेता, अभिनेता, अनुसन्धानकर्ताहरूलाई ल्याएको छ।
०००
यही गहिरो सोचाइबीच हामी हिँडिरहेका छौं। विश्वविद्यालय राजनीतिले धुजाधुजा भएको छ। विश्वविद्यालयमा उपकुलपति लगायतका पदाधिकारीहरू अध्ययन/अनुसन्धानका आधारमा भन्दा दलीय आस्थाका आधारमा नियुक्त हुन्छन्। विश्वविद्यालयमा दलले नियुक्त गर्ने भएका कारण तिनले आफ्नो पद जोगाउनेबाहेक संस्था र शैक्षिक उन्नयनका निम्ति काम गर्दैनन्।
काठमाडौं विश्वविद्यालयबाहेक अरू कुनै पनि विश्वविद्यालयले मुलुक र विद्यार्थीलाई गौरवान्वित बनाउने गरी काम गर्न सकेका छैनन्। त्रिभुवन विश्वविद्यालयकै इन्जिनियरिङ र मेडिकलबाहेक अन्य संकायमा लोभलाग्दो प्रगति पनि गरेको छैन। अझ यसको जति तीव्र विकास हुनुपर्थ्यो त्यो पनि भएको छैन।
आखिर स्रोतसाधनको सदुपयोग गर्न सक्दा काठमाडौं विश्वविद्यालयजस्तो संस्था पनि बन्न सक्ने रहेछ। तर, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालय चरम विकृतिमा परेका छन्। तिनले विद्यार्थीलाई सपना देखाउन सकेका छैनन्।
यिनै तन्द्राहरूबीच सुभासको बोली सुनियो, 'कीर्तिपुरको यो हालत देखेपछि आज म साह्रै निराश भएँ। यत्रो स्रोत साधन भएर पनि हामी कसरी गरिब छौं?'
लगत्तै सुभासको आफ्नै जवाफ आयो- व्यवस्थापनको कमी। पद्धतिको कमी।
नागरिकमा गुणराज लुईंटेलले लेखेका छन् ।
प्रतिक्रिया