Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

कलेजका प्रमुखद्धारा १५ लाख हिनामिना

सोमबार, ३२ साउन २०७२

काठमाडौं ३२ साउन / लमजुङ सदरमुकाम बेसीशहरमा रहेको जनविकास कलेजका प्रमुखले १५ लाख रुपैयाँ हिनामिना गरेको संचालक समितिले आरोप लगाएको छ । जनविकास शैक्षिक सहकारी संस्थाद्वारा सञ्चालित यस कलेजका सञ्चालकहरूले क्याम्पस प्रमुख अङ्गराज घिमिरेले आफुखुसी रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

गतवर्ष क्याम्पसका सेयर सदस्यहरुलाई फिर्ता दिने भनिएको रकम १३ लाख ९ं० हजारको हिसाव पनि क्याम्पस प्रमुखले नदेखाएको र क्याम्पसको आम्दानी खर्च सबै नगदमा नै गर्ने गरेको क्याम्पस घाटामा नगएको हुँदा ठूलै रकम भ्रष्टाचार भएको अनुमान गरिएको सञ्चालकको दावी छ । सञ्चालक समितिले छानविन समिति गठन गरेपछि घिमिरेको सञ्चालक समितिसँग टसल सुरु भएको स्रोतको भनाई छ ।

उता, निलम्बित क्याम्पस प्रमुख घिमिरेले संचालक समितिले आफुलाई फसाउन खोजेको बताएका छन् । ‘अध्यक्ष र कोषाध्यक्षको संयुक्त रुपमा कलेजको खाता चल्छ’ प्रमुख घिमिरेले भने, ‘बिल सबै लेखा शाखामा हुन्छ । त्यसमा मेरो कुनै हात छैन् । संचालक समितिको निर्णय अनुसार १३ लाख ९० हजारको चेक आफ्नो नाममा काटिएको छ र शेयर संचालकहरुलाई प्रतिब्यक्ति १५ हजारको दरले शेयर रकम बुझाएको भर्पाइ मसँग छ ।’

यता क्याम्पसमा अध्ययनरत विविएस प्रथम वर्षका ४२ जना विद्यार्थीलाई परीक्षा फारम भर्ने समयमा प्रमुख घिमिरेले स्थानीय मस्र्याङ्दी क्याम्पसबाट परीक्षा फारम भरिएपछि ४२ जनाको भविष्यमात्र हैन क्याम्पसकै भविष्यमा प्रश्न खडा हुन गएको छ ।

कलेजका अध्यक्ष तेजनारायण अधिकारीले क्याम्पस प्रमुख घिमिरेले कलेज धरासायी बनाउने मनसायका गतिविधि गरेको पाइएकोले निलम्बन गरी प्रशासनिक कारवाहीको माग गरिएको जानकारी बताएका छन् । उनका अनुसार क्याम्पस प्रमुख घिमिरेले विविएस प्रथम वर्षमा अध्ययनरत ४२ जना विद्यार्थीलाई परीक्षा फारम भर्ने अन्तिम समयमा आएर मस्र्याङ्दी बहुमुखी क्याम्पसबाट परीक्षा फर्म भराउने, क्याम्पसका महत्वपूर्ण काजगपत्र गायव गर्ने र सञ्चालकहरूसँग सम्पर्कविहीन रहेकोले निलम्बन गरी कारवाही अघि बढाइएको छ ।

अध्यक्ष अधिकारीले भने, ‘यहीँ क्याम्पसमा भर्ना भएर पढेका विद्यार्थीलाई परीक्षा फर्म भर्ने अन्तिम दिनमा आएर मस्र्याङ्दी क्याम्पसबाट फर्म भराएको पाइयो । यो कार्य क्याम्पसलाई तहसनहस गरी सिध्याउने षड्यन्त्र हो ।’

२०६६ बाट सञ्चालनमा आएको सो कलेज यही बर्षबाट सहकारी अन्तरगत दर्ता गरी सो अनुसार सञ्चालनको तयारीमा थियो । ‘क्याम्पस प्रमुख घिमिरेको हर्कतले मर्माहत बनाएको छ । सो घटनापछि सञ्चालक समिति कानुनी प्रक्रियाबाट उपचारको खोजीमा छ । हामीले आवश्यक सबै स्थानमा मौखिक र लिखित जानकारी गराईसकेका छौँ ।’ क्याम्पस सञ्चालक समितिका सल्लाहकार गणेश न्यौपानेले भने ।

क्याम्पसको स्थापनाकाल देखिकै हिसाबकिताव पारदर्शी नदेखिएकाले सो खोज्नका लागि सञ्चालक समितिका उपाध्यक्ष अमृत सुवेदीको संयोजकत्वमा एक महिना अघि छानविन समिति गठन गरिएको जानकारी सो क्याम्पसका सञ्चालक समितिका सदस्य नारायण सुयँलले बताए ।

कारोबारमा छविलाल बगालेले लेखेका छन् ।

प्रतिक्रिया