Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

'हस्तक्षेपले उपकुलपति सिफारिस गर्न सकेनौं'

मंगलबार, ०१ भदौ २०७२

काठमाडौं १ भदौ / राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयका उपकुलपति छान्न ढिलाइ भइरहेको छनोट समितिका सदस्यहरूले बताएका छन्। समिति सदस्य प्राध्यापक रामेश्वर उपाध्यायले चौतर्फी राजनीतिक हस्तक्षेत्र बढ्दै गएपछि नाम सिफारिस गर्नै नसकिएको बताए। 'हस्तक्षेपले गर्दा छलफल गर्ने वातावरणसमेत छैन,' उनले सोमबार नागरिकसँग भने।

उपकलुपति नियुक्तिका लागि प्रधानमन्त्री र शिक्षामन्त्रीलाई राजनीतिक दहरूबाट दबाब आइरहेको उपाध्यायले बताए। प्रधानमन्त्री कोइरालाले साउन २७ गतेभित्र रिक्त सातवटै विश्वविद्यालयका लागि उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट समिति गठन गरेका थिए।

कोइरालाले त्रिभुवन, संस्कृत, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा साउन २३ गतेदेखि एकै पटक रिक्त उपकुलपति पदका लागि योग्य उमेदवारको नाम सिफारिस गर्न छनोट समिति गठन गरेका थिए। समितिले उपकुलपतिहरूको नाम सिफारिस गर्नुपर्ने म्याद गुजि्रसकेको छ। यस विषयमा समितिले छलफलसमेत गर्न सकेन।

'छनोट समितिमा पहिलोपटक प्राध्यापकलाई सदस्य बनाइएको हो,' नेपाल प्राध्यापक संघका अध्यक्षसमेत रहेका उपाध्यायले भने, 'मलाई सबैले विश्वास गरेर योग्य र दक्ष तथा स्पष्ट भिजन भएको व्यक्तिलाई उपकुलपतिमा सिफारिस गर्न जिम्मेवारी दिएका छन्। तर राजनीतिक हस्तक्षेप बढी भयो।'

उनका अनुसार दलका शिर्ष नेताहरूबीच कुरा मिल्न नसकेका कारण उपकुपति नियुक्ति ढिलाइ भइरहेको छ। उपाध्यायले छनोटमा राजनीतिक भागबन्डा हुन नदिने बताए।

यसैगरी छनोट समितिकै अर्का सदस्य डा. यज्ञ कार्कीले योग्य र प्राज्ञिक व्यक्ति छनोट गर्न नाम सिफारिस गर्न समय लागेको बताए। 'उपकुलपति नियुक्ति बजारमा गएर चामल किनेजस्तो सजिलो होइन,' सदस्य कार्कीले नागरिकसँग भने, 'योग्य र दक्ष व्यक्ति विश्वविद्यालयको उपकुलपतिमा सिफारिस गर्नुपर्ने भएकाले समय लागेको हो। यो काम सोचेजस्तो सजिलो रहेनछ। निकै मुस्किल र संवेदनशील कार्य पनि हो।'

समावेशी महिला प्राध्यापक समाजकी अध्यक्ष प्राध्यापक राधा शर्माले उपकुलपति नियुक्तिमा दलका नेताहरूले योग्य र दक्षभन्दा पनि आफ्नो मान्छेको भर्ती केन्द्र बनाउँदै आएकाले नै विश्वविद्यालय धरासायी हुँदै गएको बताइन्।

उनले त्रिविको स्थापनाकालदेखि नै पुरुषहरू नै उपकुलपति हँुदै आएकाले विश्वविद्यालयमा भ्रष्टाचारसमेत बढेको दाबी गरिन्। 'यसपटक त विश्वविद्यालयको उपकुलपति नियुक्तिमा सोर्सफोर्स र अनेक किसिमका चलखेल भइरहेको सुनिरहेकी छु,' उनले भनिन्, 'यस्ता चलखेल गरेर आएका उपकुलपतिहरूले विश्वविद्यालयमा भ्रष्टाचार गर्न थाल्छन्।'

त्रिभुवन विश्वविद्यालय विज्ञान संकायकी डिन चिरिकशोभा ताम्राकारले विश्वविद्यालयको डिन, विभागीय प्रमुखदेखि उपकुलपति नियुक्तिमा विभिन्न किसिमको चलखेल भइरहेको बताइन्। 'विभिन्न चलखेलका कुरा आइरहेका छन्। यसले विश्वविद्यालयलाई सिध्याउ"छ,' उनले भनिन्।

सातवटै विश्वविद्यालय डेढ सातादेखि उपकुलपतिविहीन छन्। यसले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र आर्थिक काम प्रभावित बनेको छ।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया