Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

एजुकेसन कन्सल्टेन्सीमा छापा

बुधबार, ०२ भदौ २०७२

educationकाठमाडौं २ भदौ / विदेश पढ्न जाने विद्यार्थीलाई परामर्श दिने नाममा खोलिएका एजुकेसन कन्सल्टेन्सीहरूले मानव बेचबिखन गर्न थालेको गुनासो बढेपछि महानगरीय अपराध महाशाखाले मंगलबार राजधानीमा छापा मारेको छ।

एजुकेसन कन्सल्टेन्सीहरूले परामर्शको नाममा विदेशमा काममा पठाउने भन्दै ठगी गर्न थालेपछि महाशाखाले राजधानीका विभिन्न ठाउँमा छापा मारेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो। ती निकायले सरकारी निकायबाट अनुमति पनि नलिने र विद्यार्थीलाई विदेश पठाउँछु भन्दै ठगी गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएपछि प्रहरीले त्यस्ता एजुकेसन कन्सल्टेन्सीहरूमा छापा मारेको हो।
महाशाखाले झन्डै १० वटा टोली बनाएर छापा मारेको थियो। मंगलबार दिनभरमा राजधानीका २५ वटा भन्दा बढी कन्सल्टेन्सीमा छापा मारेको थियो।

महाशाखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीको कमान्डमा खटिएको टोलीले राजधानीको नयाँ बानेश्वर, पुतलिसडक, बागबजार, डिल्लीबजार, कुपण्डोल, पुल्चोकलगायतका क्षेत्रमा छापा मारेको थियो।

प्रहरीले शंकास्पद कन्सल्टेन्सीमा छापा मार्दा एउटै कन्सल्टेन्सीबाट दर्जनौं पासपोर्टसमेत बरामद गरेको छ। पछिल्लो एक महिनामा कन्सल्टेन्सीबाट ठगिएको भन्दै दुई दर्जनभन्दा बढी पीडितले महाशाखामा उजुरी दिएपछि प्रहरीले १५ जना ठगीमा संलग्न रहेका सञ्चालकलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ।

महाशाखाले त्यस्ता ठगीमा संलग्न रहेका कन्सल्टेन्सीलाई कानुनी दायरामा ल्याइने प्रहरीले दाबी गरेको छ। गैरकानुनी ढंगले कन्सल्टेन्सी सञ्चालन गरेको आशंकामा प्रहरीले मंगलबार २० वटा कन्सल्टेन्सी सञ्चालकलाई पक्राउ गरेर ल्याएको छ।
कतिपय कन्सल्टेन्सी सञ्चालकले कुनै पनि सरकारी निकायसँग अनुमति नै नलिई सञ्चालन गरेको पाइयो, छापा मार्न गएका महाशाखाका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

प्रहरीले छापा मारेका अधिकांश कन्सल्टेन्सीले शिक्षा मन्त्रालयबाट अनुमति नै नलिई आफ्नो व्यवसाय सञ्चालन गरेको पाइयो, ती अधिकृतले जानकारी दिए। कतिपय कन्सल्टेन्सीले शिक्षा मन्त्रालयको छाप आफ्नो कार्यालयमा राखेर सञ्चालन गरेको समेत भेटिएको प्रहरीले जानकारी दिएको छ।

मंगलबार प्रहरीले शंकास्पद गतिविधि सञ्चालन गरेका एजुकेसन कन्सल्ट्यान्सीमा छापा मारेपछि अपराध महाशाखाका सञ्चालकहरूको भीड नै लागेको देखिएको थियो।

प्रहरीले उक्त अभियानलाई अझै केही दिन तीव्ररूपमा अगाडि बढाउने जनाएको छ। शैक्षिक परामर्शका रूपमा खुलेका त्यस्ता संस्थाले कामदारका रूपमा बाहिर पठाउने र विभिन्न ठाउँबाट पीडितहरू फर्कन थालेपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको थियो।

नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया