Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

शिक्षकको अत्याचार !

आइतबार, ०६ भदौ २०७२

shiksekकाठमाडौं ६ भदौ / ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरमा विद्यार्थीलाई पिटेको तथ्य सार्वजनिक भएको छ। भक्तपुरको कमलविनायकस्थित जेन्युइन सेकेन्डरी इंग्लिस स्कुलका शिक्षकले पिटेर विद्यार्थीको कानको जाली फुटाइदिएका छन्।

गत बिहीबार स्कुलका कम्प्युटर शिक्षक निरञ्जन श्रेष्ठले कुटपिट गरी कक्षा ६ मा अध्ययनरत वर्ष १२ का एरिकप्रताप थापाको कानको जाली फुटाइदिएको भन्दै विद्यार्थी तथा अभिभावकले कारबाहीको माग गरेका छन्।

शिक्षकले कक्षामा होमवर्क ढिला गरेको बहानामा कान र कञ्चटमा कुटेर कानको जाली नै फुटाइदिएको विद्यार्थी थापाका बाबु शिवकुमारले बताए। थापाको काठमाडौंस्थित अल्का अस्पतालमा उपचार गर्दा अस्पतालले कानको जाली फुटेको रिपोर्ट दिएको र डाक्टरले कानको अप्रेसन गर्नुपर्ने बताएको जानकारी परिवारले दिएको छ। घाइते विद्यार्थी थापाले बिहीबार दिउँसो शिक्षक श्रेष्ठले कक्षा कोठामा होमवर्क गर्दा ढिला गरेको भन्दै हिर्काएपछि दाहिने कानबाट रगत आएको बताए। कक्षामा यसअघि पनि शिक्षक श्रेष्ठले विद्यार्थीहरूलाई कुटपिट गर्दै ज्यादती गर्ने गरेको र यसबारे कसैलाई उजुरी गरे फेल गरिदिने धम्की दिने गरेकाले कसैले पनि उजुरी गर्न नसकेको परिवारले बताए।

यसैबीच विद्यालयका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्ने र विद्यार्थीको उपचार खर्च गरिदिने सहमति भएको बताउनुभयो।

नेपाल समाचारपत्रमा पुष्कर बुढाथोकीले लेखेका छन् ।

प्रतिक्रिया