Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

विश्वविद्यालय पदाधिकारीको भागबन्डामै बखेडा

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / मुख्य दलहरूबीच भागबन्डामै बखेडा भएपछि विश्वविद्यालयमा आइतबार पनि पदाधिकारीहरूको नियुक्ति हुन सकेन। कांग्रेसले आफ्नातर्फबाट दिएका चार उपकुलपतिको नाममा एकलौटी गरेको भन्दै एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकले आपत्ति जनाएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले नियुक्तिपत्रमा हस्ताक्षर नगरेका हुन्।

त्यसका लागि तयारी पूरा भइसके पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आइतबार नभ्याएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो। तर त्रिवि उपकुलपतिका लागि सिफारिस प्रा. तीर्थ खनियाँको नाममा विवाद देखा परेपछि, अरू नाममा एमालेले विरोध जनाएपछि प्रधानमन्त्री पछि हटेको बताइएको छ। प्राध्यापक खनियाँमाथि ‘बौद्धिक चोरी’ को अभियोग लागेपछि चौतर्फी विरोध भएको हो। त्रिवि शिक्षा विभाग प्रमुख रहेका बेला खनियाँले ‘नेल्टा’ जर्नलको ११ औं अंकमा यस्तो चोरी गरेको केही अनलाइनले सार्वजनिक गरेका थिए।

खनियाँले भने पदाधिकारी नियुक्ति लागि छानबिनका सबै प्रक्रिया पूरा भइसकेर अन्तिम समयमा प्रचारबाजी भइरहेको भन्दै गुनासो गरेका छन्। ‘त्यस्तो केही रहेछ भने छानबिन होला, तर अगाडि बढ्न खोज्दा खुट्टा तान्ने संस्कार हाम्रो समाजमा छ, यस पटक त्यही दोहोरियो,’ उनले कान्तिपुरसँग दाबी गरे, ‘उपकुलपति बन्न ६ वटा मापदण्ड तोकिएको छ, मैले ती सबै पार गरिसकेको छु।’

हाल उपकुलपतिविहीन सात विश्वविद्यालयमध्ये चारवटामा नियुक्ति गराउन सहकुलपति तथा शिक्षामन्त्री चित्रलेखा यादव संयोजक रहेको समितिले प्रधानमन्त्रीसमक्ष शनिबारै सिफारिस गरेको थियो। कुलपतिको हैसियतमा प्रधानमन्त्रीकै निर्णय लागू हुने प्रचलित व्यवस्थाअनुसार त्रिविमा खनियाँ, नेपाल संस्कृतमा कुलप्रसाद कोइराला, पूर्वाञ्चलमा घनश्यामलाल दास, सुदूरपश्चिमाञ्चलमा भूषण श्रेष्ठको नाम सिफारिस भएको थियो।

स्रोतका अनुसार चार विश्वविद्यालयमा कांग्रेसले एकलौटी गरेको एमालेको आरोप छ। कांग्रेसले भने एमालेको प्रधानमन्त्री छँदा तीनवटा कुलपति आफूले राखेर कांग्रेसलाई बाँकी छाडेको नजिर सम्झाउँदै त्यसैअनुरुप भएको यो भागबन्डा स्वीकार्न आग्रह गरेको छ।

नौमध्ये सात विश्वविद्यालय गत साउन २२ मा नै पदाधिकारीविहीन भइसकेका थिए। दलहरूबीच कुरो नमिल्दा यति लामो समय ती उच्च शिक्षाका केन्द्रहरू नेतृत्वविहीन भएका हुन्। चार विश्वविद्यालयका सबै पदाधिकारी कांग्रेससम्बद्ध रहेको भनी एमालेनिकट प्रगतिशील प्राध्यापक संगठनले सिफारिस लागू हुन नदिने चेतावनी दिएको छ। पदाधिकारीमा कांग्रेसको एकलौटी भएको भन्दै संगठनका अध्यक्ष यादवप्रकाश लामिछानेले पार्टी नेतृत्व गुहारिसकेका छन्। एमाले नेताहरूले समेत एकलौटी नियुक्ति नगर्न भन्दै दबाब दिइरहेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।

कांग्रेसले खनियाँलाई यसअघि उच्च मावि शिक्षा परिषदको उपाध्यक्ष र योजना आयोग सदस्यमा पठाइसकेको थियो। स्रोतका अनुसार उनी चितवन ४ बाट कांग्रेसको टिकट पाउनेवाला थिए। अन्तिम समयमा सभापति सुशील कोइराला नै लड्न आएपछि उनले त्याग गरेको सम्झाउँदै पार्टीले त्यसको मूल्यांकन गर्नुपर्ने दाबीमा थिए। प्रस्तावित अरू पदाधिकारीको पनि दलीय आबद्धता छँदैछ। नेपाल संस्कृतमा सिफारिस कोइराला कांग्रेसको भ्रातृ संगठन प्रजातन्त्रवादी प्राध्यापक संघमा दुई कार्यकाल सभापति भइसकेका छन्। पूर्वाञ्चलमा उपकुलपति सिफारिस घनश्यामलाल दास, सुदूरपश्चिमको पनि सोही संगठनका पदाधिकारी हुन्। एमाले, एमाओवादीले अघि सार्न लागेका नामहरू पनि दलीय परिचय बनाइसकेका प्राध्यापक भएको विश्वविद्यालय पदाधिकारी छनोटमा संलग्न एक अधिकारीले खुलाए।

पदाधिकारी सिफारिस हुन बाँकी विश्वविद्यालयमा एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको भागबन्डा भइसकेको छ। त्रिविमा आउने तयारीमा रहेका खनियाँले आफू दलीय नियुक्तिभन्दा गुणस्तरकै पक्षमा रहेको जिकिर गरे।

उच्च शिक्षा महाशाखा हेर्ने जिम्मेवारी पाएका शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले छनोटविधि अस्पष्ट र अमूर्त भएकाले पदाधिकारी नियुक्तिमा किचलो हुने गरेको बताए । 

कान्तिपुरमा बसन्त बस्नेतले लेखेका छन् ।

प्रतिक्रिया