Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

चीनमा पढ्ने डाक्टरको बिजोग

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न चीन गएका विद्यार्थी सरकारी लापरबाही र समन्वय अभावले अलपत्र परेका छन्। 
शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १३ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल हुन पाएका छैनन्।पाँच वर्षको अध्ययन सकेर नेपाल फर्किएका विद्यार्थीलाई काउन्सिलले पढाइको अवधि नपुगेको भन्दै पुनः अध्ययनका लागि चीन जान सुझाव दिएको छ।

चीनमा ६ महिना पुनः इन्टर्नसिप गरेर आएपछि काउन्सिलले लाइसेन्स परीक्षामा सहभागी गराउने जनाएको छ। उक्त विश्वविद्यालयले भने विद्यार्थीलाई अध्ययन पूरा गरिसकेको सम्पूर्ण प्रमाणपत्र दिएर पठाइसकेको छ। विद्यार्थीले विश्वविद्यालयबाट दिइएका शैक्षिक प्रमाणपत्र तथा इन्टर्नसिप गरेको प्रमाणसमेत अन्नपूर्णलाई उपलब्ध गराएका छन्।
 
‘हामीलाई विश्वविद्यालयले पढाइसकेको सबै प्रमाणपत्र र आवश्यक कागजात दिएको छ। अब हामी कहाँ गएर किन इन्टर्नसिप गर्ने?' पीडित विद्यार्थीमध्येकी एक श्रद्धा चुडालले भनिन्, ‘पढाइ सकेर फर्किएको विश्वविद्यालयमा फेरि कसरी इन्टर्नसिपमा जाने हो ? इन्टर्नसिपको प्रमाणपत्र पनि दिइसकेको छ।'
 
मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको समन्वयमै सरकारले विश्वविद्यालय छनोट गरी पाँच वर्षका लागि विद्यार्थी चीन पठाएको हो। अर्की पीडित विद्यार्थी वन्दना अधिकारीले अध्ययनका लागि चीन गइसकेपछि बनाइएको नियम आफूहरूलाई लागू नहुने बताइन्।
 
उनले भनिन्, ‘हामी पढ्न जाँदा जेजे नियम र प्रावधान थिए, सबै पूरा गरेका छौं।' काउन्सिलले सन् २००८ जुलाई १६ देखि लाइसेन्सको परीक्षामा सामेल हुनका लागि नयाँ निर्देशिका ल्याएको थियो। नयाँ निर्देशिकामा पढाइको अवधि साढे पाँच वर्ष हुनुपर्ने उल्लेख छ। तर यी विद्यार्थी यो निर्देशिका आउनुअघि नै चीन गएका हुन्।
 
समस्या भोगिरहेका नेपाली विद्यार्थीसँगै उक्त विश्वविद्यालयमा पढाइ सकेर फर्किएका बंगलादेश, भुटान र श्रीलंकाली विद्यार्थीले भने मेडिकल अभ्यास थालिसकेका छन्।नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटाले भने चीनबाट फर्किएका विद्यार्थीले इन्टर्नसिप नै नगरेको दाबी गरे।
 
उनले भने, ‘हाम्रो निर्देशिकाअनुसार इन्टर्नसिप गरेको भेटिएन । यो प्रमाणपत्र हामी मान्दैनौं।' बास्कोटाले थप एक वर्ष चिनियाँ विश्वविद्यालयमै इन्टर्नसिप गर्नुको विकल्प नभएको तर्क गरे।
 
लामो समयदेखि विद्यार्थीले समस्या झेलेपछि मन्त्रिपरिषद्ले समेत तत्कालका लागि नेपालमै इन्टर्नसिपको व्यवस्था मिलाउन काउन्सिललाई निर्देशन दिएको थियो। तर काउन्सिलले त्यो निर्देशनसमेत मानेको छैन । काउन्सिलका अध्यक्ष बास्कोटाले भने, ‘विद्यार्थीलाई इन्टर्नसिप गर्न देऊ भनेर मन्त्रिपरिषद्ले गरेको निर्णय षड्यन्त्रमूलक छ।'

'हामीलाई विश्वविद्यालयले पढाइसकेको सबै प्रमाणपत्र र आवश्यक कागजात दिएको छ, अब हामी कहाँ गएर किन इन्टर्नसिप गर्ने ? -श्रद्धा चुडाल, पीडित विद्यार्थी

छात्रवृत्ति उपलब्ध गराउने शिक्षा मन्त्रालयलाई काउन्सिलले बदलिएका नीति, नियम र निर्देशिकाबारे जानकारी गराएको पनि बास्कोटाले बताए। उनले भने, ‘सम्भवतः शिक्षा मन्त्रालयले विद्यार्थीलाई बुझाउन सकेन, हाम्रो कमजोरी होइन।'
 
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले भने काउन्सिलकै सहमतिमा सबै प्रक्रिया पूरा गरेर विद्यार्थी चीन पठाइएको बताए। उनले भने, ‘उनीहरूकै सहमति र सुझावका आधारमा विद्यार्थी पठाइएको हो।
 
विद्यार्थी जाने बेलामा सबै छलफल भएको हो तर अहिले किन मान्यता दिन्नौं भनेका हुन् बुझिएन।' उनले विद्यार्थीका समस्याबारे मन्त्रालय गम्भीर भएको बताउँदै सबै पक्षको छलफलबाट चाँडै निष्कर्ष निकालिने बताए। सरकारले विद्यार्थीका समस्या समाधानका लागि शिक्षा मन्त्रालयमार्फत बेइजिङस्थित नेपाली दूतावासमा पत्र पठाइसकेको छ।
 
नेपालस्थित चिनियाँ दूतावासका एक अधिकारीले चीनमा अध्ययन गरेर फर्किएका नेपाली विद्यार्थीको समस्याबारे चीन सरकारलाई जानकारी गराइसकिएको बताए। उनले समस्या समाधानका लागि छलफल भइरहेको जानकारी दिए।
 
विशेषज्ञका लागि बाहिरबाट आउने अयोग्य

नेपाल मेडिकल काउन्सिलले यस वर्ष लिएको स्नातकोत्तर तह (एमडी÷एमएस) को विशेषज्ञ लाइसेन्सिङ परीक्षामा २५ प्रतिशत चिकित्सक फेल भएका छन्।
 
फेल हुनेमा अधिकांश विदेशमा अध्ययन गरेर फर्केका चिकित्सक रहेको काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बास्कोटाले बताए। काउन्सिलले शनिबार लिएको विशेषज्ञ लाइसेन्सिङ परीक्षामा सहभागी ६ सय ६८ जना चिकित्सकमध्ये एक सय तीनजना फेल भएका हुन्।
 
काउन्सिल स्रोतका अनुसार फेल हुनेमा अधिकांश चीनबाट एमडी र एमएस अध्ययन गरेकाहरू छन्। 'दुई देशको आन्तरिक सम्बन्ध बिग्रने डर भयो। त्यही भएर हामी फेल भएका विद्यार्थी अध्ययन गरेर आएका देशका मेडिकल कलेजको नाम खुलाउन चाहन्नौं,' डा. बास्कोटाले आइतबार अन्नपूर्णसँग भने, 'तर बाहिरबाट अध्ययन गरेर आउने चिकित्सकको अवस्था दुःखलाग्दो छ।
 
त्यति धेरै संख्यामा उनीहरू विशेषज्ञ लाइसेन्सिङ परीक्षामा फेल हुनु भनेको नेपाली चिकित्सा क्षेत्रका लागि ठूलो विडम्बना हो।' काउन्सिलले विभिन्न ४७ विषयको विशेषज्ञ लाइसेन्सिङ परीक्षा लिएको थियो।
 
डा. बास्कोटाले बाहिरबाट दलालको भरमा अध्ययन गर्न जानु तथा प्रयोगात्मक र व्यावहारिक सिकाइ नहुनुले अध्ययन गरेर फर्कनेहरू विशेषज्ञ लाइसेन्सिङ परीक्षामा फेल हुने गरेको बताए । काउन्सिलले २०१२ बाट विशेषज्ञ लाइसेन्सिङ परीक्षा लिन थालेको हो।

अन्नपूर्णमा पिताम्बर सिग्देल र दीपा दाहालले लेखेका छन् ।

प्रतिक्रिया