Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बौद्धिक चोरी आरोपी त्रिवि उपकूलपति सिफारिस

सोमबार, ०७ भदौ २०७२

काठमाडौं ७ भदौ / सरकारले मुलुककै प्रतिष्ठित र जेठो विश्वविद्यालयमा बौद्धिक चोरी आरोप लागेका व्यक्तिलाई उपकुलपति सिफारिस गरेको छ।

शिक्षामन्त्री संयोजक रहेको उपकुलपति छनोट समितिले बौद्धिक चोरी आरोप लागेका तीर्थराज खनियाको नाम शनिबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको हो।

खनियामाथि ९ वर्षअघि टर्किस लेखकको लेख हुबहु सारेको आरोप लागेको थियो। त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकाय केन्द्रीय विभाग प्रमुख हुँदा नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) बाट प्रकाशित हुने जर्नल अफ नेल्टामा उनको अनुसन्धानात्मक लेख प्रकाशित भएको थियो।

सन् २००६ मा 'अंग्रेजी वैदेशिक भाषाको रूपमा कक्षाकोठामा प्रामाणिक सामग्रीको प्रयोग (युज अफ अथेन्टिक मेटेरियल्स इन इएफएल क्लासरुम)' शीर्षकमा प्रकाशित उनको लेखमा टर्किस लेखक फेरिट किलिक्कायाको सन् २००४ मा प्रकाशित 'अथेन्टिक मेटेरियल्स एन्ड कल्चलर कन्टेन्ट इन इएफएल क्लासरुम' बाट हुबहु साभार गरेको आरोप लागेको थियो।

खनिया सन् २००४ देखि २००६ सम्म शिक्षाशास्त्र केन्द्रीय विभाग प्रमुख थिए। उनको लेख जर्नल अफ नेल्टा २००६ को भोलुम ११ को नम्बर १–२ को पृष्ठ १७ मा प्रकाशित थियो। सन् २०१० मा त्रिविको अनलाइन पोर्टलमा नेल्टाले खनियाको लेख प्रकाशित गरेको थियो।

टर्किसको अंकरास्थित मिडिल इस्ट टेक्निकल विश्वविद्यालयका अंग्रेजी विषयका प्राध्यापक फेरिटले सन् २०१० मा आफ्नो आर्टिकल चोरी भएको कुरा त्रिविको अनलाइन पोर्टलबाट थाहा पाएपछि उनले नेल्टालाई इमेलद्वारा जानकारी गराएका थिए। खनियाले फेरिटको लेखलाई सन्दर्भसामग्रीमा समेत नखुलाई आफ्नो नाममा छापेका थिए।

तत्कालीन जर्नल अफ नेल्टाका प्रधान सम्पादक एवं सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा जयराज अवस्थीले तत्कालीन समयमा कुनै पनि लेखकले लेख पठाउँदा त्यसमाथि अध्ययन गराई सुझाव दिने व्यवस्था नभएको जनाए। लेखकले पठाएको लेखलाई फर्म्याटिङ गरी जस्ताको त्यस्तै छापिने व्यवस्थाले समस्या आएको उनले बताए।

'म सन् २०१२ सम्म जर्नल अफ नेल्टाको प्रधानसम्पादक थिए। खनिया सरको लेख २००६ मा छापिएको हो, फर्म्याट मात्र गरेर छापिएको थियो,' प्राडा अवस्थीले नागरिकसँग भने, 'त्यही भएर त्यो आर्टिकलको बारेमा हामीले बु‰ने मौका पाएनौं।'

प्राडा खनिया विश्वबैंक, एसिएन विकास बैंक जाइकालगायतको प्रोजेक्ट आधारभूत तथा प्राथिमक शिक्षा परियोजनाको निर्देशकसमेत थिए। यसको कार्यालय शिक्षा मन्त्रालयमै थियो। यो परियोजना प्राथमिक स्कुल शिक्षा सुधार, स्रोत व्यवस्थापन, शिक्षक तालिम, पाठ्यक्रम बनाउन र किताब छाप्नसमेत सहयोगका लागि गठन गरिएको उनले बताए।

खानियाले भने आफूमाथि लगाइएको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन्। आफूले लेखेको आर्टिकल कुनै पनि अरु लेखकको नभई आफ्नै विचार भएको उनले तर्क गरे। 'मैले बौद्धिक चोरी गरेको कहीं, कतै कुनै लेखकले आधिकारिक रूपमा उजुरी गरेको मलाई थाहा छैन,' उनले नागरिकसँग भने, 'मलाई कुनै कारबाही भएको छैन। कसरी म बौद्धिक चोरी गर्ने भएँ? सबै दुश्मनले लगाएका आरोप हुन्।'

खानिया नेल्टाको संस्थापन अध्यक्ष हुन्। उच्चमाध्यामिक शिक्षा परिषदको पहिलो उपाध्यक्षसमेत रहेका उनले प्लसटु शिक्षा सुधारमा काम गरेका छन्। २०४८ सालमा भरतपुर क्याम्पस प्रमुख रहेका उनी आधारभूत तथा प्राथमिक शिक्षा परियोजनाका निर्देशकसमेत थिए।

यसैगरी उपकुलपति छनोट समितिले शनिबारै नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा रत्नराज्य लक्ष्मी क्याम्पसका नेपाली विषयका प्राध्यापक कुलप्रसाद कोइरालालाई सिफारिस गरेको छ। कोइराला परिवारनजिक रहेकाले उनको नाम पारिवारिक दबाबमा सिफारिस गरिएको प्राध्यापक स्रोतले बताएको छ। कोइराला कांग्रेसनिकट प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालका पूर्वअध्यक्ष हुन्।

प्रजान्त्रवादी प्राध्यापक संघले सिफारिस गरेको सातैवटै विश्वविद्यालयका उपकुलपतिको नामावली सूचीमा उनको नाम नरहे पनि प्रधानमन्त्री सुशील कोइरालाको आग्रहमा छनोट समितिले उनको नाम सिफारिस गरेको प्रजातन्त्रवादी प्राध्यापकबीच चर्चा छ।

यसैगरी सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक भुषण श्रेष्ठको नाम सिफारिस भएको छ। श्रेष्ठ नेपाल प्रध्यापक संघकी पूर्व उपसभापतिसमेत रहिसकेकी छन्। उनी शिक्षाशास्त्र केन्द्रीय विभागमा इतिहास विषयकी प्राध्यापक हुन्।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा छनोट समितिले घनश्यामलाल दासको नाम सिफारिस गरेको छ।

शिक्षामन्त्री चित्रलेखा यादवले चार विश्वविद्यालयको उपकुलपतिको नाम सिफारिस गरी शनिबार कूलपतिलाई बुझाएकी थिइन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार प्रतीक प्रधानले शनिबार शिक्षामन्त्रीले चार विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गरेको बताए।

नेकपा एमालेका शिक्षा विभाग प्रमुख गंगालाल तुलाधारले भने उपकुलपतिमा नाम सिफारिस नै नभएको बताए। 'यस विषयमा कांग्रेस र सत्ता साझेदार एमालेबीच कुनै पनि तहमा छलफल भएको छैन,' उनले नागरिकसँग भने, 'आज (आइतबार) दिउँसो भेट हुँदा शिक्षामन्त्रीलाई सोधेको थिएँ, उहाँले पनि नाम सिफारिस नभएको बताउनुभयो। एमालेलाई तर्साउन नाम सिफारिसको हल्ला चलाइएको हुन सक्छ।'

उनले कांग्रेसले एकलौटी उपकुलपति सिफारिस गरे सत्ता पल्टाइदिने चेतावनी दिए।

नागरिकमा रुबी रौनियारले लेखेकी छन् ।

प्रतिक्रिया