- प्रवीन पौड्याल / काठमाडौं ८ भदौ /
काम नपाइने शिक्षा
मेडिकल माइक्रो बायोलोजीमा एमएस्सी पूरा गरेको एक वर्ष भइसके पनि म बेरोजगार छु । चार वर्षअघि सन् २०११ मै मेरो शैक्षिक वर्ष सकिएको हो । थेसिससमेत सकेर सर्टिफिकेट हात परेको पनि वर्ष दिनभन्दा बढी भइसकेको छ । तर, मैले आफ्नो पढाइअनुसारको काम पाउन सकेको छैन ।
मैले एमएस्सी सकेपछि आफ्नो विषयअनुरूप माग भएका धेरै ठाउँमा बायोडाटा पेस गरेँ । नेसनल पब्लिक हेल्थ लेबोरेटरी, तिलगंगा आँखा अस्पताल, विभिन्न नर्सिङ कलेज, मेडिकल कलेजका साथै राष्ट्रियस्तरका गैरसरकारी संस्था (एनजिओ), अन्तर्राट्रिय गैरसरकारी संस्था (आइएनजिओ) मा पनि आवेदन पेस गरेँ ।
आवेदन मागेका यी सबै कार्यालयले तोकेअनुसार मेरो योग्यता पुगेको थियो, तर कुनैमा छनोट हुन सकिएन । विभिन्न कारण देखाएर ती ठाउँमा मलाई छनोट गरिएन । कतै लाइसेन्सका कुरा उठाइयो त कतै अनुभवलगायतका कारण देखाइयो ।
मैले आफ्नो बायोडाटा यस्ता धेरै ठाउँमा छाडेको छु । इन्टरपिड नेपाल, लुम्बिनी मेडिकल कलेज, सेभ द चिल्ड्रेन, ग्लोबल फन्ड जस्ता संस्थामा पनि आफ्नो बायोडाटा छाडेको छु । बायोडाटा छाडेका ती संस्थाबाट समेत कुनै प्रतिक्रिया आएको छैन ।
विज्ञान पढ्ने रहर
एसएलसी उत्तीर्ण गरेपछि विज्ञान नै पढ्ने दृढ इच्छा थियो । आफ्नो चाहनाअनुसार नै मास्टर्ससम्मै विज्ञान पढेँ । नतिजा पनि राम्रै आएको छ । विज्ञानमा पनि विशेषगरी बायोलोजीमा मेरो झुकाव भएकाले मास्टर्समा पनि मेडिकल माइक्रो बायोलोजी विषय छनोट गरेर पढेँ । यो विषय अनुसन्धानमूलक हुने र सधैँ रोचक विषय आइरहने भएकाले र काम गर्दै जाँदा विषयभित्र गहिरिएर अध्ययन गर्न पाइने भएकाले पनि अध्ययन गर्न उत्प्रेरित भइरहेँ ।
यस विषयमा अवसर धेरै नै भएको सुनेको/पढेकोले लगनशील भएर पढेँ । माइक्रो बायोलोजी विज्ञानको त्यस्तो शाखा हो, जहाँ जति कुरा जाने पनि अझै बढी खोज गर्न मन लागिरहन्छ । मेडिकल माइक्रो बायोलोजीमा आज एउटा बिरामीमा काम गरिरहेको एन्टिबायोटिकले केही समयपछि सोही बिरामीमा काम नगर्न सक्छ । अब त्यो औषधिले किन, कुन कारणले काम गर्न छाड्यो भन्ने पत्ता लगाउने काम माइक्रो बायोलोजीले गर्छ । त्यसैले पनि यस विषयमा नयाँ–नयाँ अध्ययन अनुसन्धानको पाटो खुलिरहन्छ ।
त्रिचन्द्र क्याम्पसबाट माइक्रो बायोलोजीमा बिएससी सकेपछि रुचिअनुसार नै मेडिकल माइक्रो बायोलोजीमा एमएस्सी गर्ने इच्छा भयो । घरबाट पनि तत्कालै एमएस्सी गर्नुपर्छ, धेरै समय खर्च गर्नु हुँदैन भन्ने सुझाब आयो । र, मैले तत्कालै मेडिकल माइक्रो बायोलोजीको अध्ययन सुरु गरेँ । बिएससीमा सिकेको ज्ञानलाई एमएस्सीमा अझै प्रस्फुटन गराउने मौका मिल्यो । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमअनुसार एमएस्सी दोस्रो वर्षमा थेसिस गर्नुपर्ने थियो, त्यसवेला पनि धेरै संघर्ष गर्नुपर्यो । कम्तीमा ६ महिना अनुसन्धान गरेर थेसिस गर्नुपर्ने अवस्था थियो । त्यसका लागि हस्पिटलको आवश्यकता भयो ।
थेसिसका लागि हस्पिटलबाट अनुमति पाउन पनि उत्तिकै गाह्रो भयो, खर्चिलो पनि उत्तिकै थियो । हामी हस्पिटलमा गएर ल्याबका सबै काम गथ्र्यौं । तर, हस्पिटलले हामीसँग उल्टै शुल्क लिन्थ्यो । थेसिस तयारीका लागि हामी हस्पिटल पुग्दा त्यहाँका सुपरभाइजर ‘तपाईंहरू आउनुभएको छ । समस्या पत्ता लाग्ने भयो । बेडमा भएका बिरामीले अब धेरै बस्नु नपर्ने भयो,’ भन्थे । तर, अहिले तिनै हस्पिटलले हामीलाई रोजगारी दिने वेलामा लाइसेन्स नभएको भन्दै उपेक्षा गरिरहेको अवस्था छ । यस्तो समस्या हामीले कहिलेसम्म भोग्ने ?
स्वदेशमै पढ्नेमाथि उपेक्षा
एमएस्सी, त्यसमा पनि मेडिकल माइक्रो बायोलोजी पढ्नु आफैँमा खर्चिलो छ । एमएस्सीमा शुल्क मात्रै तिरेको हिसाब गर्दा साढे दुई लाख खर्च भयो । त्यसबाहेक किताब, स्टेसनरी र खाना तथा बासको खर्च उत्तिकै छ । अहिले मेडिकल माइक्रो बायोलोजी पढ्नेहरूलाई हलो अड्काएर गोरु चुटेजस्तो गरिँदै छ । नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (एनएचपिसी) ले लाइसेन्स दिनुपर्ने हो । तर, यसले भारतबाट एमएस्सी बायोलोजी गरेर आएकालाई सजिलै लाइसेन्स दिन्छ । तर, दु:खको कुरा नेपालकै त्रिभुवन विश्वविद्यालयबाट मेडिकल माइक्रो बायोलोजी पढेकालाई चाहिँ लाइसेन्स नै दिँदैन । भारतबाट एमएस्सी सकेकाहरूले त्रिविसँग समकक्षता प्रमाणित गरेर एनएचपिसीबाट लाइसेन्स लिएका छन् । तर, त्रिविबाटै अध्ययन सकेकाहरूलाई पूरै उपेक्षा गरिएको छ, अन्याय गरिएको छ ।
लाइसेन्सका लागि संघर्ष
स्वदेशमा मेडिकल माइक्रो बायोलोजी पढेकाहरू लाइसेन्सका लागि निरन्तर संघर्षमा छन् । केही समयअघि पदमराज शर्माको नेतृत्वमा मेडिकल माइक्रो बायोलोजी संघर्ष समिति बनाएरै आन्दोलन पनि भयो । सरोकारवालासँग पटक–पटक छलफल पनि भयो । तर, सुनुवाइ भने केही पनि भएन । यो विषय पढ्ने हामीमध्ये अधिकांश बेरोजगार छौँ । घरमा बुबाआमालाई छोराछोरीले एमएस्सी सकेपछि केही गर्छन् भन्ने आशा लागेका वेलामा आफैँ बेरोजगार हुनुपर्दाको पीडा कस्तो होला ? कसले बुझिदिने ? हाम्रो समाज पनि त्यस्तै छ । हामी बेरोजगार भएर बसेका वेला समाजका मानिस झनै नैतिक रूपमा गिराउने काममा मात्र लाग्छन् ।
कहालीलाग्दो बेरोजगारी
त्यसो त नेपालमा अशिक्षित, अर्धशिक्षित र सबै खालका विषय पढेका शिक्षित बेरोजगार छन् । शैक्षिक बेरोजगारको स्थिति कहालीलाग्दो नै छ । नेपालको सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालयबाट मात्र प्रत्येक वर्ष विभिन्न तह र विषयमा गरी ४० हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन्छन् । अरू विश्वविद्यालयबाट समेत प्रत्येक वर्ष केही हजारको हाराहारीमा शैक्षिक जनशक्ति उत्पादन भइरहेका छन् ।
शिक्षित जनशक्ति उत्पादन भएर मात्र के गर्नु, त्यसको खपत नै हुन सक्दैन भने ? एउटा विषयमा डिग्री लिएपछि सम्बन्धित क्षेत्रमा काम नपाएर अरू क्षेत्रमा लाग्नेहरूको संख्या पनि निकै ठूलो छ । प्राविधिक विषयमा त पढ्नेबित्तिकै रोजगारी पाउने अवस्था छैन भने गैरप्राविधिकको अवस्था के होला ?
पहिले देशको आवश्यकता के हो ? यसको पहिचान नै नगरी उच्च शिक्षा प्रदान गरेकाले शैक्षिक बेरोजगारको डरलाग्दो समस्या उत्पन्न भएको हो । हाम्रो कुन क्षेत्रमा कति जनशक्ति आवश्यक छ, कति जनशक्ति उत्पादन गर्ने र त्यसलाई कहाँ स्थान दिने भन्ने यकिन नभई धमाधम शिक्षित जनशक्ति उत्पादन भइरहँदा धेरै शिक्षित व्यक्ति यता न उता भएका छन् । यसरी मास्टर्स डिग्रीको सर्टिफिकेट लिएर मात्र के गर्ने ? मेडिकल माइक्रो बायोलोजीमा मात्र बर्सेनि तीन सयको हाराहारीमा जनशक्ति उत्पादन भइरहेको छ ।
यो जनशक्तिलाई खपत गर्न सरकार र त्रिविले कति रोजगारीका अवसर सिर्जना गरेका छन् त ? सरकारले यसतर्फ कुनै योजना बनाएकोसम्म छैन । भारतमा पढेर आउनेलाई चाहिँ तत्काल समकक्षता प्रमाणित गरी लाइसेन्स दिने तर त्रिविमै पढेकाले लाइसेन्स नपाउने अवस्थाले बेरोजगार जनशक्ति उत्पादन भई भयावह स्थिति सिर्जना भइरहेको छ ।
अहिले सम्पूर्ण अस्पताल, रिसर्च सेन्टर, मेडिकल कलेजलगायत संस्थामा मेडिकल माइक्रो बायोलोजिस्टको आवश्यकता पर्छ । तर, यी क्षेत्रमा पनि मेडिकल माइक्रो बायोलोजिस्टको उपस्थिति एकदमै कमजोर छ । सरकारले उत्पादन भएको जनशक्तिलाई खपत गर्ने व्यवस्था गर्नु जरुरी छ । देशकै जेठो विश्वविद्यालय त्रिवि हाम्रो अभिभावक हो । हामीलाई लाइसेन्स प्राप्त गर्ने कार्यमा पनि उसैले प्रमुख भूमिका खेल्नुपर्छ ।
बेरोजगारी अन्त्य गर्न
दीर्घकालीन रूपमा बेरोजगारी समस्या समाधान गर्न सरकारले विद्यार्थीलाई ऋणको व्यवस्था गर्नुपर्छ । जब कुनै विद्यार्थीले आफ्नो अध्ययन सिध्याउँछ, त्यसपछि आफ्नो विषयमा दक्ष भएर उसले त्यो सीपको उपयोग गरी आफूमाथि राज्यले गरेको लगानी फिर्ता गर्छ । जबसम्म प्रोडक्टिभ उद्यमशीलताको मोडेललाई प्रभावकारी रूपमा लागू गरिँदैन, तबसम्म यो बेरोजगारी समस्या बढी नै रहन्छ । देशले आफ्ना लागि आवश्यक सीप र क्षमताको पहिचान गर्नुपर्छ । सबै सेक्टरबाट प्राप्त तथ्यांक अध्ययन गरी समयअनुरूप आफ्नो योजना बनाउनु जरुरी छ ।
नीति–नियम परिवर्तन गरी शिक्षित युवालाई रोजगारी सिर्जनाको वातावरण बनाउनु राज्यकै दायित्व हो । पढेर सर्टिफिकेट लिएर मात्रै के गर्ने सरकार ? सर्टिफिकेटधारी बनाउनु मात्र सरकारको दायित्व हो र ? कि जति आवश्यक छ, त्यति जनशक्ति मात्र उत्पादन गर कि उत्पादन भएजतिलाई काम देऊ ।
एकातिर एमएस्सी गरेर पनि काम पाउने ग्यारेन्टी छैन । त्यसमाथि एनएचपिसीले लाइसेन्ससमेत नदिएर हामी हजारौँ विद्यार्थीमाथि गम्भीर घात गरिरहेको छ । लाइसेन्स नै नपाएपछि हाम्रो यो ऊर्जावान् समय र अहिलेसम्मको उपलब्धिको के अर्थ ? डिग्रीको सर्टिफिकेट बोकेर मात्र के गर्नु ? त्यसलाई झुन्ड्याएर मात्र शोभा बढ्ने होइन । हामी हाम्रो सर्टिफिकेट बुझाउन चाहन्छौँ ।
हाम्रो डिग्रीको सर्टिफिकेट कहाँ र कसलाई बुझाऊँ प्रधानमन्त्रीज्यू ? हामीजस्ता बेरोजगार हजारौँ विद्यार्थी यस प्रश्नको जवाफ खोजिरहेका छौँ । सरकार र सरोकारवाला सम्बन्धित निकाय जिम्मेवार छन् भने हामीजस्ता ऊर्जाशील युवाको कुरा यथा समयमा सुनियोस् ।
- साभार : नयाँ पत्रिका
प्रतिक्रिया