Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

चर्को शुल्क असुल्दै पिपल्स डेन्टल कलेज

बुधबार, ०९ भदौ २०७२

काठमाडौं ९ भदौ / मेडिकल कलेजहरूले गरिब विद्यार्थीबाट चर्को शुल्क असुलेको विरोधमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी अनशनमा होमिएका बेला राजधानीको सोह्रखुट्टेस्थित पिपल्स डेन्टल कलेजले विद्यार्थीबाट अनियमित ढंगले शुल्क असुल्दै आएको छ।
 
सरकारले तेकेको अध्ययन शुल्कबाहेक कलेजले विभिन्न बहानामा विद्यार्थीबाट १० देखि ११ लाख रुपैयाँसम्म असुल्ने गरेको भन्दै विद्यार्थी दुई सातादेखि कलेजमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन्।माग सुनुवाइ नभएपछि आन्दोलनमा होमिएको कलेजका 'ब्याचलर अफ डेन्टल सर्जरी' का विद्यार्थी खगेन्द्र झाले जानकारी दिए।

आन्दोलनले कलेजको पठनपाठन ठप्प छ। माग पूरा गर्न दबाबस्वरूप मंगलबार कलेजका करिब दुई सय विद्यार्थी र्‍यालीसहित आईओएम परिसरको डिन कार्यालय पुगेका थिए। त्रिभुवन विश्वविद्यालयले 'ब्याचलर अफ डेन्टल सर्जरी' अध्ययनका लागि किस्ता बन्दीमा १७ लाख ५६ हजार नौ सय २० रुपैयाँ तोके पनि कलेजले विद्यार्थीबाट पहिलो चरणमै १८ लाख ५५ हजार असुलेको छ।

किस्ताबन्दीमा तिर्दा २२ लाख रुपैयाँसम्म पुग्ने गरेको विद्यार्थीको गुनासो छ। कलेजले तीनवटा आन्तरिक परीक्षा, त्रिविको रजिस्ट्रेसन दर्ता, नेपाल मेडिकल काउन्सिलको दर्ता, परीक्षा भन्दै मनोमानी शुल्क उठाउने गरेको छ।
 
फेल भएका विद्यार्थीबाट समेत कलेजले ५० हजार रुपैयाँ जरिबाना शुल्क उठाउँदै आएको छ। वार्षिक अध्ययन हुने भनिएको कलेजमा सेमेस्टर प्राणालीमा अध्ययन चलिरहेको भन्दै एक वर्षमा तीनवटा आन्तरिक परीक्षा र लजिस्टिक शुल्कबापत हजारौं रुपैयाँ विद्यार्थीबाट असुल्ने गरिएको छ।

सरकारले तोकेको न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा आएको कलेजमा आवश्यक सेवासुविधाको व्यवस्था नहुँदा अध्ययन गर्न कठिन भएको विद्यार्थीको गुनासो छ।धेरै पैसा असुले पनि कलेजले राम्रो पिउने पानीको व्यवस्था नगरेको विद्यार्थीको गुनासो छ।
 कलेजले विद्यार्थीबाट थप ११ लाख रुपैँयासम्‍म असुल्‍ने गरेको छ।

'हामीलाई एटिएम मेसिन बनाइएको छ, कलेजको खर्च सकिनासाथ एउटा बहाना बनाएर विद्यार्थीबाट मनलाग्दी असुल्ने गरिएको छ’, झाले भने, ‘कलेजमा पुस्तकालय पनि छैन । राम्रो क्यान्टिन छैन, खानेपानी पनि छैन।'
 
गत वर्ष पनि विद्यार्थी खानेपानी माग गर्दै आन्दोलनमा होमिएका थिए। इन्टर्न गर्दा सरकारले तोकेबमोजिमको तलब दिन तयार छौं भने प्रतिबद्धता जनाएको कलेजले 'इर्न्टन' चिकित्सकलाई १२ हजार रुपैयाँ दिनुपर्नेमा चार हजार रुपैयाँ मात्र दिने गरेको छ।
 
कलेजका विद्यार्थी दुई सातादेखि डिन कार्यालय, त्रिवि कार्यालय, मेकिडल काउन्सिल, नेपाल चिकित्सक संघ, नेपाल डेन्टल एसोसिएसन, शिक्षा मन्त्रालय धाइरहेका छन्।'घाटामा जान थालेपछि कलेज सञ्चालकले जति मन लाग्यो त्यति शुल्क माग्न थालेका छन्। भर्ना सूचना निक्लना साथ जसले बढी रकम जम्मा गर्छ उसैले सिट पाउँछ', अस्पतालका एक कर्मचारीले भने।
 
कलेज आफैंले व्यवस्था गर्नुपर्ने डेन्टल उपचारको अभ्यास आवश्यक सामग्री विद्यार्थीलाई किन्न र बिरामीसमेत आफैं खोज्न पठाउने गरेको छ। 'यति ठूलो कलेज छ। हामीले डेन्टल प्राक्टिस गर्न आफैंले सामान किन्नुपरिरहेको छ', आन्दोलनको नेतृत्व गरिरहेका स्वस्तिक देवकोटाले भने, ‘उपचारका लागि अभ्यास गर्न बिरामीसमेत आफैं खोजेर ल्याउनुपर्छ।'
 
नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्माले यो कलेज चलाइरहेका छन्। कलेजका समस्याबारे शर्मासँग कुरा गर्न कलेजमा पुग्दा उनी कार्यकक्षमा भेटिएनन्। फोनमा पनि उनीसँग सम्पर्क भएन।
 
आईओएमका डिन डा. राकेश  श्रीवास्तवले बुधबार कलेजमै पुगेर सञ्चालकसँग छलफल गर्ने योजना बनाएको र त्यसबाट समस्या समाधान हुने विश्वास लिएको बताए।
 
केसीको माग सम्बोधन गर्न माग

नेपाल चिकित्सक संघले छैटौंपटक आमरण अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेको छ।
 
डा.केसी चिकित्साशिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै मंगलबारदेखि अनशनमा बसेका छन्।
 
संघले विज्ञप्ति जारी गर्दै डा. केसीले उठाएका जायज मागको शीघ्र सम्बोधन नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ।

अन्नपूर्ण पोष्टमा दीपा दाहालले लेखेकी छन् ।

प्रतिक्रिया