Edukhabar
बुधबार, १२ मंसिर २०८१
गतिविधि

बाल मैत्री शासन लागु गर्ने दोस्रो गाविस घोषित

विहीबार, २३ भदौ २०७३

प्यूठान – प्यूठानको भिंग्री गाविस बाल मैत्री स्थानीय शासन लागु गर्ने दोस्रो गाविस भएको छ । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले बाल मैत्री स्थानीय शासन लागु भएको व्यहोरा उल्लेखित ताम्रपत्र गाविस सचिव हिमलाल पोखरेललाई हस्तान्तरण गरेर घोषणा गरेका हुन् ।

यस अघि नवलपरासीको प्रगतिनगर गाविस नेपालकै पहिलो बाल मैत्री गाविस घोषित भएको थियो ।

बाल मैत्री स्थानीय शासन लागु भएर भिंग्री गाविस नमुना बनेको जवेगुले बताए । बालबालिकाकालाई विकासका हरेक प्रक्रियामा साझेदार बनाउनु पर्ने उनले बताए ।

बाल मैत्री स्थानिय शासन घोषणा भएसँगै भिंग्रीले बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिताका क्षेत्रमा विभाजित ३९ वटा मापदण्ड पुरा गरेको छ । मन्त्रालयले मापदण्ड पुरा भएको पुष्टि गरेर गाविसलाई बाल मैत्री स्थानीय शासन लागु भएको गाविस घोषणा गर्न स्वीकृति दिएको थियो ।

बाल मैत्री स्थानीय शासन लागु गर्न गाविस र जिविसको सहकार्यमा गाविसमा सन् २०१३ देखि प्रयास शुरु भएको थियो । सेभ द चिल्डे«न र यसको साझेदार संस्था कालिका विकास केन्द्रले भने सन् २००९ देखि लागु भएको स्पोन्सरसिप कार्यक्रम मार्फत बाल मैत्री स्थानीय शासनका मापदण्ड पुरा गर्न काम गर्दै आएको छ ।

स्थानीय बाल मैत्री शासनको महत्वलाई बुझेर जिल्ला विकास समिति र गाविसको नेतृत्वमा सहयोग गर्दै आएको सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाईला बोर्जाले बताईन् । सरकारले गाविसलाई विनियोजन गरेको बजेट मध्ये १५ प्रतिशत बजेट बालबालिकाको क्षेत्रमा छ्ट्टाएर लगानी भएको छ । गाविसमा १७ वटा बाल क्लब र तिनको एउटा बाल क्लब सञ्जाल सञ्चालनमा आएको सेभ द चिल्ड्रेनलेजनाएको छ । ३ देखि १३ वर्षसम्मका सबै बालबालिका बाल विकास केन्द्र र विद्यालयमा भर्ना भएका र बालबालिका, अभिभावक, विद्यालय र सरोकारवालाहरको लागि आचारसंहिता बनेर लागु गरिएको छ ।

प्रकाशित मिति २०७३ भदौ २३ गते

प्रतिक्रिया