Edukhabar
सोमबार, ०३ मंसिर २०८१
विचार / विमर्श

शिक्षा दिवस : स्तुती गाउनेलाई पदक वितरण की कर्मजीवीलाई प्रोत्साहन ?

बुधबार, २२ भदौ २०७३

- सञ्जय पन्थी / विवेकशील प्राणीको कर्मलाई हौसला र प्रोत्साहन भएन, भने उसको कामको मुल्यांकन भएको मानिदैन । काम वा सेवाको मुल्याँकन नै भएन भने चाहेको प्रतिफल प्राप्त नहुन सक्छ । कामको मुल्याँकन भएन भने आशा पनि निराशामा परिणत हुन थाल्छ । मुल्याँकन बिनाको निरन्तर एउटै काममा थकान महशुस हुन थाल्छ । यो भनाईको वास्तविकताको अनुभुव र अनुभुती सरकारी सेवामा हाजीर महानुभावहरुलाई अझै बढी होला ।

पहिलो पटक विद्यालय पुग्ने बालबालिकालाई पनि शिक्षकले स्याव्वास र ‘गुड’ भनिदिएन भने भोलीबाट त्यो बालक वा बालिका स्कुल जानै मान्दैन । तर, स्याव्वास र ‘गुड’ भनिदिए त्यो बालक वा बालिकालाई विद्यालय जीवनले आर्कषण गर्छ । स्याव्वास र ‘गुड’ ती बालबालिकालाई मुल्याँकनको शब्द हो । अन्ततः तिनै बालबालिका अध्यापन गराउने विद्यालय र विद्यालयका गुरुजनलाई पनि त्यसरी नै हौसला र प्रोत्साहनको आवश्यक पर्छ नै । साथै सही मुल्याँकन गरेर प्रदान गरिने पुरस्कार र हौसलाले संस्था र व्यक्तिको जीवनमा तात्विक प्रभाव पार्छ ।

प्रसंग ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको !

शुभकामना, दिवसका अवसरमा विभुषित हुने प्रतिभा, शिक्षामा  योगदान गर्ने शैक्षिक संस्था र गुरुवरहरुलाई । आशा गरौ शिक्षा दिवसको अवसर पारेर विभुषित हुने प्रतिभा, महानुभाव तथा पुरस्कृत हुने शैक्षिक संस्था र व्यक्तिले समाजलाई ‘अभय तर्फ नभएर उदय’ को मार्गमा डो¥याउन सकुन् । मुलुकको बदलिएको सोच र संस्कार बिच हामीले गर्ने कामले पक्कै महत्व राख्ने छ, भन्ने यथार्थलाई मनन् हुन सकुन् । त्यसैले दिवसले मुलुकका लागि अर्थ राख्नेछ । मुलुकले गणतन्त्र संस्थागत गर्दैगर्दा र संबिधान सभाले निर्माण गरेको संबिधान जारी भएपछिको शिक्षा दिवस भएकाले पनि यस बर्षको दिवसको महत्व भिन्नै छ । 

शिक्षा दिवस मनाईरहदा ०४६ सालको परिवर्तनपछि बनेको २३ औं सरकारका शिक्षामन्त्री धनीराम पौडेल मन्त्रालयको बागडोर सम्हालिरहेका छन् । शिक्षा दिवस र मन्त्रीको पदभार ग्रहणमा विचित्रको संयोग परेको छ । मन्त्री भएको १३ औं दिनमा बल्ल शिक्षा मन्त्रालय छिरेका पौडेल शिक्षा मन्त्तीको कुर्चिमा बसेर गरेको पहिलो काम नै शिक्षा दिवस मूल आयोजक समितिको फाईल सदर थियो ।

राजनीति शास्त्रका जानकार भन्छन्, सरकार वा मन्त्रालय सम्हालेपछि एउटा औपचारिक उत्सव वा दिवस र बजेट कार्यन्वन गर्न नपाउने मन्त्री अद्खलो सन्तान जस्तै हो । त्यस मानेमा मन्त्री पौडेल अद्खलो हुनवाट बचेका छन् ।

मन्त्रीको दलले भन्दै आएको वर्जूवा शिक्षा र संस्कारले बसालेको जगमा मनाईरहेको दिवसको अध्यक्षता गर्दै गर्दा मन्त्री पौडेलले आफ्नो निर्धारित ९ महिने कार्यकालाई कति सार्थक र स्मरण योग्य बनाउने छन् त्यो भने हेर्न बाँकी नै छ । साथै शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयको कार्यभार सम्हाले पछि औपचारिक रुपमा सार्वजनिक हुँदै गरेका शिक्षा सचिव शान्त वहादुर श्रेष्ठको कार्यकाल पनि मन्त्रालय र मातहतका निकायका लागि प्रतिक्षाकै विषय भएको छ ।

शिक्षा मन्त्रालयले तीन दिन अघि मात्र शिक्षा दिवसको अवसरमा पुरस्कृत हुने निजी तथा सामुदायिक विद्यालय र विद्या भुषण र पदकबाट विभुषित हुने प्रतिभाहरुको सूची सार्वजनिक गरेको छ । यस बर्ष नेपाल विद्याभूषण पदक ‘क’ १९०, नेपाल विद्याभूषण पदक ‘ख’ ८१, नेपाल विद्याभूषण पदक ‘ग’ १५, नेपाल छात्रा विद्या पदक ‘क’ २६ र नेपाल छात्रा विद्या पदक ‘ख’ बाट ४ जना विभूषित हुनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमै आयोजित कार्यक्रममा उक्त पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभूषित गरेसँगै शुरु हुने दिवसको औपचारिक कार्यक्रम राष्ट्रिय सभागृहमा हुने विशेष कार्यक्रम र साँझ स्वप्न बगैंचामा गरिने चियापान हुँदै सकिने छ ।

कास्कीको शितलादेवी सामुदायिक विद्यालयले प्राप्त गरेको राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु दुई लाखको पहिलो पुरस्कार सामुदायिक शिक्षा सुधारका लागि माथि भनिए जस्तै स्याव्वास र ‘गुड’ भैदियोस् । पुरस्कारले त्यस विद्यालय र विद्यालय परिवारमा थप उत्साह र प्रेरणा जागृत गर्न सकोस् ।

क्षेत्रीयस्तरमा राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र रु एक लाख सहित प्रत्येक विकास क्षेत्रबाट पुरस्कृत एक एक वटा सामुदायिक विद्यालयमा पूर्वाञ्चलबाट बरुणेश्वर मावि (ओखलढुङ्गा), मध्यमाञ्चलबाट नारायणी मोडल सेकेण्डरी स्कुल (भरतपुर चितवन), पश्चिमाञ्चलबाट गणेश मावि नारायणस्थान (बागलुङ), मध्यपश्चिमाञ्चलबाट गुरु मावि (मुगु) र सुदूरपश्चिमाञ्चलबाट भगवती मावि तलरा (डोटी) तथा दुर्गम क्षेत्रबाट खुम्जुङ मावि (खुम्जुङ सोलु) छन् । यी विद्यालयले आफ्ना वरिपरी रहेका अन्य शैक्षिक संस्थालाई पनि आफ्ना कर्मको अनुयायी बनाउन सकुन् ।

ग्रेडेड इङ्लिस मिडियम स्कुल (जेम्स) ललितपुर राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाणपत्र र नगद रु दुई लाखबाट सम्मानित हुने निजी तर्फको विद्यालय भएको छ । सम्मान समाजको उत्तरदायित्व वहनको  मुल्यांकन भैदियोस् नकि भोली पल्टबाट पुरस्कारमा पाएको राशी भन्दा धेरै खर्चिएर अखवार र श्रब्य÷दृश्य संचार माध्यममा धन्यवाद ज्ञापनको विज्ञापन देख्न नपरोस् ।

क्षेत्रीयस्तरमा पाँच विकास क्षेत्रबाट एक एक र एक निजी विद्यालयले एक लाख सहित सिल्ड र प्रमाणपत्रसहित सम्मानित हुने भएका छन् । लगनशिलतालाई मुल्याँकन गरिएका यी शैक्षिक संस्थाले पनि पुरस्कृत भैरहँदा समाजमा सिर्जना भएको शिक्षाको खाडल कम गर्न आफुसँगै अरुलाई पनि सत्कर्म गर्ने प्ररेणा जागृत गर्न सकुन् ।

मुलुकको लोकतान्त्रिक गणतन्त्रको अनुमोदिन पहिलो संबिधानले परिकल्पना गरेको समाजवादको जग नै शिक्षा हो । शिक्षा मार्फत गाउँ वस्तीमा रहेका कलिला बालबालिकालाई शिक्षाको महत्व बोध नगराई मुलुक सवल र आत्मनिर्भर हुन सक्दैन । साथै स्वाभिमान र परिवर्तनको अनुभुत नै शिक्षाको गुणस्तरबाट हुनसक्छ । त्यसका सिपाही गुरुवर नै हुन । यदि जव आधुनिक सभ्यतालाई अंगाल्दै गुरुवरले आफ्नो कर्तब्यलाई विर्सिएर अधिकारको लडाइका पक्षपाती भए भने मुलुकको भविष्य अन्धकार छ । त्यसैगरी कर्तब्य पथमा निरन्तर साधना गर्ने गुरुवर र कार्यरत संस्थालाई मुल्याँकन गर्ने निकायले पूर्वाग्रह साँचिदियो भने पनि सफा पानीको मुहान दुषित हुन पुग्नेछ । भन्नुको तात्पर्य शिक्षा मन्त्रालयले शिक्षा दिवसको अवसरमा वितरण गरेको पुरस्कारमा राजनितीको गन्ध, अवसर र पुँजीको प्रवन्धको प्रभाव परेको भन्ने कानेखुशी मात्रै चल्यो भने यो दिवसको महत्व पंचायती स्तुतीका पदक भन्दा फरक हुने छैन ।

‘समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नारा साथ शिक्षा दिवस मनाई रहँदा एकदिन अघि बुधबार (भदौ २२)  मा मनाईएको निजामती कर्मचारी दिवसको अवसर जस्तो चित्त दुखाईको दिवस चाँही नवानोस् ।

गरिमामय शिक्षा दिवसमा छद्मभेषीहरु सम्मानित नहुन् । निजामती दिवसको प्रज्ञा प्रतिष्ठानको कार्यक्रममा मञ्चमा सम्मानित भैरहदा दर्शक दीर्घामा वसेका सहकर्मी कर्मचारीले गरेको कानेखुशीमा ‘राज्यको लगानी चाकडी चाप्लुसीहरुलाई आम्दानी’ भनिए जस्तो शिक्षा दिवसको अवसरमा बाँडिएको सम्मान त्यस्तै कानेखुशीको विषय बनेको सुन्न नपरोस् ।

प्रकाशित मिति २०७३ भदौ २३ गते

प्रतिक्रिया