Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

जिशिअलाई निजामती पुरस्कार, भन्छन् - अझै उत्साह बढ्यो

बुधबार, २२ भदौ २०७३

काठमाडौं - निजामति सेवा दिवसका अवसरमा सरकारले पुरस्कृत गरेका ४१ जना कर्मचारी मध्ये शिक्षा मन्त्रालय अन्र्तगत एक उप सचिवले पनि निजामति सेवा पुरस्कार प्राप्त गरेका छन् । गोरखाका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी पुरस्कृत भएका हुन् । तेह्रौं निजामति सेवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई प्रमाणपत्र सहित नगद ५० हजारबाट सम्मान गरे । 

पुरस्कार प्राप्त गरेपछि एडुखबरसंग कुरा गर्दै जिशिअ सुवेदीले पुरस्कारले अझै उत्साह थपेको बताए । 'अझै ईमान्दार भएर काममा लाग्न प्रेरणा प्राप्त गरेको छु' उनले भने, 'शैक्षिक प्रशासन सुधार र चुस्त बनाउन ध्यान दिने छु ।'

शैक्षिक क्षेत्रको बेरुजु फच्र्छौट तर्फ ध्यान दिनु आवश्यक रहेको उनले बताए । यस अघि उनलाई धाँदिङ्को जिल्ला शिक्षा अधिकारी हुँदा बेरुजु फच्र्छौटमा उल्लेखनीय काम गरेको भन्दै शिक्षा मन्त्रालयले समेत पुरस्कृत गरेको थियो ।

२०२९ सालमा गोरखाको ताकुकोटमा जन्मेका सुवेदी संयोगले जन्म जिल्लामै कार्यरत रहँदा निजामति सेवा पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

२०५२ सालमा अस्थायी दरबन्दीमा विद्यालय निरिक्षकबाट निजामती सेवा प्रवेश गरेका सुवेदी २०५५ सालमा स्थायी भएका हुन् । उनी २०६७ सालमा खुल्ला प्रतिस्पर्धाबाट राजपत्राकित द्धितीय श्रेणी अर्थात् उपसचिव भएका हुन् ।

अधिकृत हुँदा महोत्तरी, जुम्ला, सल्यान, मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभागमा रहेर काम गरेका सुवेदी उपसचिव भएपछि जिल्ला शिक्षा अधिकारीका रुपमा दैलेख, धादिङ हुँदै पछिल्लो समय गोरखामा कार्यरत छन् ।

दैलेखमा जिशिअका रुपमा १ बर्ष रहँदा शिक्षक दरबन्दी मिलान गरेर चर्चा कमाएका सुवेदी धाँदिङ्मा ३ बर्ष रहँदा एक विद्यालय एक पुस्तकालय अभियान सञ्चालन गरेर जिल्लका ३ सय ९४ विद्यालयमा पुस्तकालय स्थापना गर्न सफल भएका थिए । उनकै नेतृत्वमा धादिङ् साक्षर जिल्ला घोषणा पनि भएको थियो । उनलाई राम्रो काम गरेको भन्दै २०७१ सालमा धादिङ् जिल्ला परिषद्ले समेत अभिनन्दन गरेको थियो ।

गोरखा जानु अघि उनी शैक्षिक जनशक्ति विकास केन्द्रमा योजना तथा कार्यक्रम शाखामा कार्यरत थिए । सात महिना अघि गोरखा सरुवा भएका सुवेदीले यस विचमा जिल्लालाई शैक्षिक सुधार बर्ष घोषणा गरेर काम गरिरहेका छन् । श्रोत केन्द्रमा आफैं पुुगेर प्रधानाध्यापकहरुसँग कार्यसम्पादन करार गरेर उनले शैक्षिक नतिजा अभिवृद्धि तथा गुणस्तर बृद्धिका लागि कामको शुरुवात गरेका छन् ।

जिल्लामा रहेका विद्यालय मध्ये ५७ वटा विद्यालय मर्ज तथा ५ वटाको तह घटाएको उनले बताए । 

यसैविच दिवसका अवसरमा सरकारले अर्थ सचिव डा. शान्तराज सुवेदीलाई यस बर्षको सर्वोत्कृष्ट निजामति कर्मचारी घोषणा गर्दै सर्वोत्कृष्ट निजामति सेवा पुरस्कारले सम्मान गरेको छ ।

हरेक बर्ष भदौ २२ गतेलाई निजामति सेवा दिवसका रुपमा मनाउने प्रचलन अनुसार दिवसका अवसरमा सरकारले विभिन्न मन्त्रालय र निकाय अन्र्तगतका ४१ जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरेको छ । जस अनुसार एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामति सेवा पुरस्कारबाट सम्मानित गरिएको हो ।

यसैगरी सरकारले अवकास प्राप्त ५० जना निजामती कर्मचारीलाई पनि सम्मान गरेको छ ।

प्रकाशित मिति २०७३ भदौ २२ गते

प्रतिक्रिया