Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

त्रिवि उपकुलपति कार्यालय निर्माण सुरु

बुधबार, २२ भदौ २०७३

काठमाडौं २२ भदौ / त्रिभुवन विश्वविद्यालयले भूकम्पबाट क्षतिग्रस्त उपकुलपतिको कार्यालय भवन निर्माण सुरु गरेको छ। गत वर्षको भूकम्पले त्रिवि उपकुलपति, रेक्टर र रजिस्ट्रारको मुख्य कार्यालयलगायत संरचना क्षतिग्रस्त भएका थिए। त्रिविले उपकुलपति कार्यालयलाई पहिलो प्राथमिकतामा राखेर निर्माण सुरु गरेको हो।

कीर्तिपुरस्थित विश्वविद्यालय परिसर प्रवेशद्वारसँगै उत्तरतर्फ खुला मैदानमा निर्माण थालिएको छ। यो भवन २१ हजार ६ सय ६० स्क्वायर क्षेत्रफलमा बन्ने छ। दक्षिण मोहडामा निर्माण गर्न लागिएको भवन अंग्रेजीको यु आकारमा बन्नेछ। त्रिवि सामान्य प्रशासन महाशाखाका निमित्त प्रमुख सुवासचन्द्र कँडेलका अनुसार टेन्डरका आधारमा करिब १५ करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने सम्झौता भएको छ। ‘बीस करोड रुपैयाँ लागत स्टिमेट गरिएको हो, टेन्डरका आधारमा १५ करोड रुपैयाँ लागतमा निर्माण गरिने भएको छ,’ कँडेलले कान्तिपुरसित भने, ‘दुई वर्षभित्र बन्नेछ।’

पेस कन्सल्टेन्टका प्रबन्ध निर्देशक विष्णु खनालका अनुसार निर्माणका निम्ति अनक–कवीन्द्र–सत्यश्वर जेभी निर्माण कम्पनीसित सम्झौता भएको छ। उक्त कम्पनीले यसै साताबाट निर्माण सुरु गरेको छ। ‘जग खन्ने काम भइरहेको छ, वर्षादले गर्दा केही ढिलो भयो,’ दुई वर्षभन्दा अघि नै निर्माण पूरा गर्ने निर्माण कम्पनीको दाबी रहेको उल्लेख गर्दै खनालले भने, ‘कामदार जनशक्तिको केही अभाव छ। तैपनि लक्ष्यअनुसार रफ्तारमा काम भएमा पूरा हुन सक्छ।’ निर्माणमा संलग्न ओभरसियर आशिष लामाले भवन निर्माण कार्य तीव्र गतिमा अघि बढेको बताए।

साढे दुई तलाको भवनमा ३२ कोठा र एउटा सिनेट हल बन्नेछ। उक्त भवनमा उपकुलपतिको कार्यालयअन्तर्गत रहने महाशाखा तथा शाखा कार्यालयहरू रहने छन्। भीसी कार्यालयअन्तर्गत त्रिवि कार्यकारी परिषद्, प्राज्ञिक परिषद, योजना महाशाखा, अन्तर्राष्ट्रिय सम्बन्धन केन्द्र, प्रमुख कानुनी सल्लाहकारको कार्यालयलगायत रहेका छन्। भूकम्पबाट त्रिविको १० अर्ब बराबरको भौतिक क्षति भएको थियो।

कार्यालयको अभावमा विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार अन्य भवनको कक्षमा रहेर काम चलाउँदै आएका छन्। त्रिविले रेक्टर र रजिस्ट्रारको कार्यालयसमेत बनाउने प्रक्रिया अघि बढाएको छ। यतिखेर कीर्तिपुरस्थित विश्वविद्यालय हातामा एग्रो बायो ल्याब, बेसिक साइन्स भवन, म्याथम्याटिकल साइन्स भवन, मानविकी, शिक्षाशास्त्र र विज्ञानको संयुक्त परीक्षा भवन निर्माण भइरहेको छ।

कान्तिपुरमा प्रकाशित खबर

प्रतिक्रिया