Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

बीरेठाँटीका विद्यार्थी तिलौराकोट हुँदै कोरिया सम्म

मंगलबार, २१ भदौ २०७३

- खगप्रसाद चापागाई / कपिलवस्तु – नेपाल भन्ने वित्तिकै आँखा अघिल्तिर बन्द, हड्ताल र अस्थिरताको चित्र झल्कने खतरा बढ्दो छ । यही चिन्ताका बिचमा कास्किको बीरेठाँटीका विद्यार्थी भने नेपाली कला, संस्कृति, परम्परा र जीवनको चित्र उतार्न ब्यस्त छन्, त्यो पनि बुद्ध जन्मस्थल तिलौराकोटमा ।

विश्वमा नेपालको परिचय नै गलत तरिकाले फैलिरहेको अवस्थामा आफूहरु नेपालको अर्को पाटो उजागर गर्न जुटेको बताउँछन् विद्यार्थी अर्जुन राई । ‘तिलौराकोट आईपुग्दा २५ सय बर्ष अघि कै शान्त परिवेशको अनुभुती भईरहेछ’ उनी भन्छन् ‘हामी त समाचारमा सुनेकै आधारमा धारणा बनाउँदा रहेछौं, यहाँ आएपछि मात्रै कपिलवस्तुको खास परिचय थाह पायौं भने अन्य देशका मान्छेले के बुझेका होलान् ? त्यसैले हामी नेपाल चिनाउने चित्र कोर्न यहाँ आएका छौं ।’

कक्षा ७ मा अध्ययनरत पुजा परियार पनि आफ्नो चित्रकलाको प्रतिभा मार्फत बुद्धको देश भनेर चिनाउन पाईने भए पछि मख्ख छिन् ।

बुद्ध स्थलको मात्र नभएर नेपाल कै प्रचार प्रसार गर्ने गरी कास्कीको दाङसिंङ ५ बीरेठाँटी माध्यमिक विद्यालयका कक्षा ८ र ९ का १२ विद्यार्थीले बुद्धले २९ बर्ष विताएको कपिलवस्तुको तिलौराकोट दरवार परिसरलाई चित्रमा उतारेका छन् ।

सिकाइ भनेको कक्षा कोठामा मात्रै हुँदैन देश र यहाँको पहिचान सिक्न यो यात्रा सफल भएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि तिमिल्सिना बताउँछन् । वालवालिको प्रतिभा प्रस्फुटनसँगैं आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि बुद्ध स्थलमा आएको उनको भनाई छ ।

बालबालिकाले तिलौराकोटको मध्य भागमा रहेको राजप्रासाद स्थित विश्रामस्थलमा बसेर चित्र उतारका थिए । उनीहरुले राजकुमार सिद्धार्थको बाल्यकाल, सुख सयल र तिलौराकोट दरवारको वर्तमान अवस्थालाई चित्रमा उतारेका छन् । प्राचीन समयमा तिलौराकोटको सुरक्षा व्यवस्था र व्यवस्थित शहर, शालो उद्यानमा ध्यान मग्न भई बसेका भिक्षु भिक्षुणीको अवस्थालाई रंग दिएर आर्कषक चित्र बनाउका छन् । 

उत्तर दिशमा देखिने धौलागिरी हिमाल र नजिकैबाट बग्ने भागीरथी (वाणगंगा)नदी र दरवार क्षेत्रको सडक, ढल निकास, संरचना, प्रशासनिक भवन र हरियाली वातावरणलाई दुरुस्त चित्रमा उतारिएको छ । यस अघि शैक्षिक भ्रमण आईसकेका विद्यार्थीले आफ्नो कलामा ताजगी ल्याउन फेरी यहाँ आएका हुन् ।

विद्यार्थीले लुम्बिनी स्थित पुष्करणी पोखरीमा बसेर अशोक स्तम्भ सहित चिरिच्याट्ट मायादेबी मन्दिरलाई समेत क्याभासमा उतारेका छन् । भगवान बुद्धकी आमा मायादेबीे, बुद्धलाई जँमाउदा उहाँ छोपिएको भनिएको र पिपलको रुख मुनी ध्यानमग्न भिक्षुलाई चित्रमा उतारेका छन् । लुम्बिनी स्थित पुष्णकरणी पोखरी, बौद्ध ध्वजापताका लुङ्दाले सिंगारिएको र हरियाली वातावरण बीच दर्शनार्थीको भिड बढेको अवस्थालाई चित्रमा दुरुस्त पारेका छन् ।

किताबी ज्ञान र तस्विर हेरेर भन्दा स्थलगत अवलोकन गरेर आफ्नो कलालाई उर्तान पाउदा बास्तविक अध्ययन भएको विद्यार्थी बताउँछन् । यो अध्ययनलाई प्रभावकारी र सन्देश मुलक बनाउन विद्यालयले पहल गरेको शिक्षक सुदन गुरुङले बताए ।

विद्यार्थीले बनाएको चित्रमा कपिलवस्तु र बुद्धभुमीको प्रचार प्रसार हुने गरी ‘बुद्ध वाज वर्न ईन नेपाल’ लेखेका छन् । यही सन्देश विश्वलाई दिन नेपालको बुद्धस्थलका उक्त कला दक्षिण कोरियामा प्रर्दशन गर्ने योजना रहेको प्रअ लामिछानेले बताए । भगवान बुद्ध र तत्कालिन परिवेशको दरवारसँग सम्वन्धित उनीहरुले बनाएका चित्र आगामी बैशाखमा कोरियामा प्रर्दशनी गर्ने योजना छ ।

विद्यार्थीले पेन्सिलले स्केच गरेर रंग रोगन गरेका चित्र स्वयंसेवी शिक्षक तथा कोरियन नागरिक किम कू ह्युनले कोरियामा प्रर्दशनी गर्ने प्रवन्ध मिलाएका हुन् । उनले भने–विद्यार्थीको सृजनाबाट सन्तुष्ट छु । ६ महिना देखि ती विद्यार्थीलाई  उनले यसरी प्रशिक्षण दिदैं आएका छन् ।  प्रर्दशनीमा पोखराबाट देखिने मनमोहक हिमश्रृंखला, फेवाताल र रोमाञ्चक दृष्यावलोकन सहित लुम्बिनी क्षेत्रमा बनाईएका ८० भन्दा बढी चित्र राखिने छ, जसमा बुद्धसंग सम्वन्धित मात्रै ३० भन्दा बढी चित्र हुने छन् ।

उक्त चित्रलाई अझ राम्रो बनाईने र अन्य नेपाली कला ५ महिना लगाएर तयार गरिने विद्यालयले जनाएको छ ।

कोरियन ड्रोईङ्ग स्वयंसेवी शिक्षक ह्युनको सहयोगमा राजधानी सोलमा एक साता सम्म प्रर्दशन गरिने छ । प्रर्दशनीका बेला यी १२ विद्यार्थीलाई पनि कोरिया लैजाने योजना छ ।

कोरियन नागरिक ओम हंगिलले नेपालमा १६ विद्यालय भवन बनाउने लक्ष्य अनुरुप बीरेठाँटी माविको पनि भवन बनाईदिएका छन् । उनै मार्फत उनका साथी कोरियन स्वयंसेवी शिक्षक ह्युन नेपाल आएका हुन् ।
ह्युन चीनको एक विश्वविद्यालयका बौद्ध दर्शनका सेवा निवृत्त प्राध्यापक हुन् । उनी हाल विभिन्न मुलुकमा अतिथि प्राध्यापकका रुपमा आवद्ध छन् ।

प्रकाशित मिति २०७३ भदौ २१ गते

प्रतिक्रिया