Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

शिक्षकको निधनले शोक

मंगलबार, २१ भदौ २०७३

काठमाडौं २१ भदौ / भोजपुरको उत्तरी क्षेत्र दिङ्लामा रहेको अरुण माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रामचन्द्र महतोको निधनको खबरले दिङ्लावासी शोकमा डुबेका छन् ।

भारतको विहारस्थित बेगुसराय घर भई २६ वर्षदेखि नेपालमा रही अरुण उच्च मावि दिङ्लामा निरन्तर अध्यापन गराउँदै आउनुभएका महतोको आइतबार राति भारतको पटनामा निधन भएको थियो । सामान्य बिरामी भएर घर जानुभएका महतोको उपचारका क्रममा पटनामा निधन भएको थियो । निधनको खबर आउनासाथ दिङ्लाका जनता शोकमा परेका छन् । शिक्षकमध्ये सबैभन्दा इमान्दार र कामप्रति लगनशील मानिएका ५५ वर्षीय महतोको हृदयाघातका कारण मृत्यु भएको हो ।

उहाँ लामो समयदेखि उच्च रक्तचापको समस्याबाट पीडित हुनुहुन्थ्यो । २६ वर्ष विज्ञान, गणित विषयको अध्यापन गराउँदै आउनुभएका महतोको निधनको खबर पाएसँगै शोकसभासहित उहाँले अध्यापन गराउँदै आएको अरुण मावि एक दिनका लागि बन्द गरिएको छ । विद्यालयका पूर्वप्रधानाध्यापक गुरुप्रसाद राईले २०४७ सालदेखि अविच्छिन्नरुपमा अरुण उच्च माविमा रही आफूसँग २०६८ सालसम्म काम गर्दा उहाँ अत्यन्तै मिहिनेती र आफ्नो कामप्रति लगनशील रहेको स्मरण गर्नुभयो ।

उहाँले लगनशील र कर्तव्यपरायण शिक्षक महतो विदेशी हुनुको कारण स्थायी हुने अवसरबाट वञ्चित रहँदै आउनु परेको गुनासोसमेत गर्नुभयो । विद्यालयमा कार्यरत शिक्षकहरुले महतो कार्यरतरहेकै अवस्थामा दिवङ्गत हुनुभएको भन्दै उहाँको योगदानको कदर गर्दै सरकार र सम्बन्धित विद्यालयले पनि सहयोग गर्नुपर्ने धारणा राखे । महतोका एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया