Edukhabar
आइतबार, ०६ असोज २०८१
अन्तैवाट

बन्दले पढाइ चौपट

आइतबार, १३ भदौ २०७२

विद्यार्थी भन्छन्– विद्यालय शान्तिक्षेत्र कहिले हुन्छ ?

काठमाडौं १३ भदौ / एकपछि अर्को निकायले शैक्षिक संस्था बन्द गर्दा दाङ्का बालबालिकाको पढाइ चौपट भएको छ। साउन २७ देखि लगातार विद्यालय बन्द छन्। सुरुमा थरुहट/थारुवान संघर्ष समिति, त्यसपछि आदिवासी जनजाति महासंघ, संयुक्त मधेसी मोर्चा र अन्तमा जिल्ला सुरक्षा समितिले पालैपालो शैक्षिक संस्था बन्द गराइरहेका छन्।

लामो समय बन्द हुँदा अभिभावक र विद्यार्थीलाई सम्झाउनै गाह्रो भइरहेको प्याब्सनका जिल्ला अध्यक्ष यादव गिरीले बताए। ‘दिनहुँ अभिभावक र विद्यार्थीले फोन गरेर हैरान पारिरहेका छन्। हामीलाई सम्झाउनै गाह्रो भएको छ,’ उनले भने, ‘एकपछि अर्को बन्द थपिएका छन्। जति अनुरोध गर्दा पनि कसैले खोल्न मान्दैन। पछिल्लो समय सुरक्षाको कारण बन्द भनेकाले झनै कठिन भएको छ।’ अब पाठ्यक्रम पूरा गर्न कठिन हुने उनले बताए।

केही ठाउँमा स्थानीयस्तरको पहलमा एक/दुई दिन विद्यालय सञ्चालन पनि भए तर यसले निरन्तरता पाउन सकेन। बन्दकर्ता थरुहट/थारुवान संघर्ष समिति विद्यालय खुलाउन सहमत भएको दिनदेखि जिल्ला सुरक्षा समितिले सुरक्षाको कारण देखाउँदै फेरि बन्द गराएको छ।
जिल्लाका राजनीतिक दलहरूसँगको छलफलपछि सोमबारसम्म केही राजनीतिक निकास निस्कने आशामा थप दुई दिन विद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले बताएका छन्।

कैलालीमा प्रहरीको ज्यान जानेगरी हिंसा भडकिएपछि भदौ ७ देखि २२ गतेसम्म जिल्लाका मुख्य सहरी तथा राजमार्ग क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको छ। दंगाग्रस्त क्षेत्र घोषणासँगै बालबालिकामा त्रास हुने र विद्यार्थीको हुलमा हिंसात्मक गतिविधि गर्नेको घुसपैठ हुनसक्ने
भन्दै शैक्षिक संस्थाहरू बन्द गरिएको प्रजिअ पौड्यालले बताए।

यसअघि पढ्न पाउनुपर्ने माग गर्दै विद्यार्थीले पटकपटक प्रदर्शन र सडकमै पढ्ने कार्यक्रम समेत गरेका थिए। विद्यार्थीले विद्यालयलाई शान्ति क्षेत्र कायम गर्न माग गरेका छन्। पढ्न पाउने अधिकार वञ्चित नगर्न उनीहरूले अनुरोध गरिरहेका छन्। ‘जुन माग राखे पनि विद्यालय
बन्द गर्नुभएन।

हाम्रो पढ्न पाउने अधिकार सुरक्षित हुनुपर्‍यो,’ घोराहीस्थित पद्मोदय पब्लिक उच्च माविमा १० कक्षामा अध्ययनरत रूपकराज भण्डारीले भने, ‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने मात्रै होइन, व्यवहारमै बनाउनुपर्‍यो। यो तरिकाले विद्यालय शान्ति क्षेत्र कहिले हुन्छ?’
लामो समय विद्यालय बन्द हुँदा परीक्षाको समयमा पाठ्यक्रम सक्न हतार हुने र यसले पढाइको गुणस्तरमा असर पार्ने विद्यार्थीहरूको गुनासो छ। ‘अब पाठ्यक्रम समयमै सकिन गाह्रो हुन्छ। हामीलाई एसएलसी दिने बेला कठिन हुनेछ,’ माउन्ट भ्यु स्कुलमा १० कक्षा अध्ययनरत सञ्जीव पोख्रेलले भने, ‘अरू बन्द भए पनि विद्यालय खुल्ने वातावरण बनाइदिनुपर्‍यो। हामीले पढ्न पाउनुपर्‍यो।’

बन्दको प्रभाव कम हुँदै

दंगाग्रस्त क्षेत्र घोषणापछि जिल्लामा बन्दको प्रभाव भने कम हुँदै गएको छ। बजार र यातायात सञ्चालन भइरहेका छन्। बजारमा भिडभाड बढेको छ। चाडपर्वलाई मध्यनजर गर्दै उद्योग वाणिज्य संघले शनिबार समेत व्यापार–व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ।

जनैपूर्णिमालाई मध्यनजर गर्दै देउखुरी क्षेत्रमा भने थरुहट/थारुवान् संघर्ष समितिले शुक्रबार र शनिबार बन्द फिर्ता लिएको छ। बाक्लो सुरक्षाकर्मी परिचालनका कारण थरुहट कार्यकर्ताले सडकमा कार्यक्रम गर्न नपाएपछि गाउँगाउँमा प्रशिक्षण गरिरहेका छन्।

 दुर्गालाल केसीले कान्तिपुरमा देखेका छन् ।

प्रतिक्रिया