Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

शिक्षा मन्त्री भन्छन् : शिक्षाको गुणस्तरका बारेमा सचेत छु

सोमबार, २० भदौ २०७३

काठमाडौ – शिक्षामन्त्री धनीराम पौडेलले शिक्षाको पहुँचलाई मात्र नभएर आफूले गुणस्तरलाई समेत ध्यान दिएको बताएका छन् । ३७ औं शिक्षा दिवसको सन्दर्भमा सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले अहिलेसम्म विद्यालयको पहुँच र व्यवस्थापनका क्षेत्रमा काम गर्दैं आएको भए पनि आगामी दिनमा गुणस्तरीय शिक्षा तर्फ ध्यान दिनु पर्ने बेला आएको बताए । “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षामा लगानी” भन्ने नारा साथ बिहीबार शिक्षा दिवस मनाईदैँ छ । 

मन्त्री पौडेलले शिक्षाका सवल पक्षलाई अँगाल्दै आफ्नो कार्यकालमा मन्त्रालयको कामकाजलाई चुस्त र दुरुस्त राख्ने प्रतिवद्धता समेत जनाए । संसदको महिला, वालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिमा सदस्य भएर काम गरेको अनुभव भएका आधारमा पनि मन्त्री पौडेल शिक्षाका सवालमा जानकार छन् ।

यसअघिका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले गरेको १८ बुँदे प्रतिवद्धतालाई आफुले पनि मार्ग निर्देशन मानेर मन्त्रालयको कामकाजलाई निरन्तरता दिने मन्त्री पौडेलले बताए ।

पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयका सहसचिव डा. हरी लम्सालले दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल विद्या भुषण क, ख र ग तथा नेपाल छात्रा विद्या पदकबाट विभिन्न व्यक्ति तथा विद्यार्थीलाई विभुषित गर्न लागेको जानकारी गराए ।

उनका अनुुसार नेपाल विद्याभुषण पदक ‘क’ १ सय ९० जनालाई, नेपाल विद्याभुषण पदक ‘ख’ ८१ जनालाई, नेपाल विद्याभुषण पदक ‘ग’ १५ जनालाई, नेपाल छात्रा विद्या पदक ‘क’ २६ जनालाई र नेपाल छात्रा विद्या पदक ‘ख’ वाट ४ जना विभुषित हुने भएका छन् ।

त्यसैगरी गुणस्तरीय शिक्षा प्रवाह गर्ने निजी तथा सामुदायिक शैक्षिक संस्थालाई मन्त्रालयले हौसला स्वरुप पुरस्कार तथा प्रमाण पत्रको व्यवस्था गरेको छ । सामुदायिक विद्यालय तर्फ कास्किको श्री शितला देवी सामुदायिक विद्यालयले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाण पत्र र नगद २ लाख रुपैयाँबाट सम्मानित हुने भएको छ ।  त्यसैगरी क्षेत्रीय स्तरमा राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाण पत्र र नगद १ लाख रुपैयाँ सहित प्रत्येक विकास क्षेत्रबाट १/१ सामुदायिक विद्यालय पुरस्कृत हुने भएका छन् ।

पूर्वाञ्चलबाट श्री बरुणेश्वर मावि ओखलढुंगा, मध्यमाञ्चलबाट श्री नारायणी मोडल सेकेण्डरी स्कुल भरतपुर चितवन, पश्चिमाञ्चलबाट श्री गणेश माबि नारायणस्थान, वाग्लुङ मध्य पश्चिमाञ्चलबाट श्री गुरु मावि, मुगु र सुदुर पश्चिमाञ्चलबाट श्री भगवती मावि तलरा, डोटी र दुर्गम क्षेत्रबाट श्री खुम्जुङ मावि खुम्जुङ, सोलु रहेका छन् ।

पुरस्कृत विद्यालय तथा शैक्षिक संस्थालाई मन्त्रालयले निश्चित मापदण्डका आधारमा अंक प्रदान गर्दा उच्चतम् अंक ल्याएका आधारमा विज्ञ सहितको छनोट समितिले छनोट गरेको लम्सालले जानकारी दिए । उनले भने “शिक्षाको माध्यमबाट समृद्ध नेपाल निर्माणका लागि सकारात्मक सोचको विकास गर्न आवश्यक रहेकोले राम्रो काम गर्ने निजी र सरकारी शैक्षिक संस्थालाई पुरस्कृत गरिएको छ ।”

त्यसैगरी मन्त्रालयले निजी तथा प्राबिधिक विद्यालयका अतिरिक्त उच्च शिक्षा अध्यापन गराउने क्याम्पसहरुलाई पनि नगद पुरस्कार सहित पुरस्कृत गर्ने भएको छ । मन्त्रालयका अनुसार सिटीईभिटी अन्र्तगतका निजी र सरकारी ७ प्राविधिक शिक्षालयलाई नगद १ लाख रुपैयाँ सहित पुरस्कृत गरिने भएको छ ।

क्याम्पस तर्फ सरकारी सामुदायिक र निजी गरी ३ क्याम्पसलाई शिक्षा दिवसको अवसरमा नगद १ लाख रुपैयाँ सहित पुरस्कृत गरिन लागेको छ । निजी विद्यालय तर्फ श्री ग्रेडेड ईङ्लििस मिडियम स्कुल (जेम्स) ललितपुरले राष्ट्रिय सिल्ड, ध्वजा, प्रमाण पत्र र नगद २ लाख रुपैयाँबाट सम्मानित हुने भएको छ । क्षेत्रीय स्तरमा ५ बिकास क्षेत्रबाट १/१ निजी विद्यालयले नगद १ लाख रुपैयाँ सहित सिल्ड र प्रमाण सहित सम्मानित हुने भएका छन् । पुरस्कृत हुने निजी शैंक्षिक संस्था पनि छनोट समितिको मापदण्डमा आधारमा छनोट गरिएको मन्त्रालयले जानकारी गराएको छ ।

प्रकाशित मिति २०७३ भदौ २० गते

प्रतिक्रिया