काठमाडौं २० भदौ / सरकारले पुस्तक छपाइमा प्रयोग हुने कागज र मसीजस्ता सामग्रीको आयातमा छुट दिने नीति अघि सारेको छ । स्वदेशमै पुस्तक छपाइ सस्तो बनाउने गरी यस्तो नीतिको मस्यौदा छलफलका लागि सार्वजनिक गरिएको हो ।
विदेशबाट सामग्री आयात गरेर पुस्तक छपाइ गर्दा महँगो पर्ने भएपछि स्वदेशमै सस्तोमा छापेर पाठकसम्म पुर्याउन यो नीति अवलम्बन गर्न लागिएको हो । नेपालमा पुस्तक लेखन, प्रकाशन, मुद्रण र बिक्री वितरणलाई व्यवस्थित र गुणस्तरीय बनाउन शिक्षा मन्त्रालयले राष्ट्रिय पुस्तक नीति मस्यौदा तर्जुमा कार्यदल गठन गरेको थियो । कार्यदलले पुस्तक छपाइमा प्रयोग हुने कागज, मसी, फिल्म, कम्प्युटर, छपाइ मेसिनलगायतको आयातमा विशेष सुविधा र कर छुट प्रदान गरिनुपर्ने सुझाव दिएको छ । कार्यदलले शिक्षामन्त्रीलाई पेस गरेको मस्यौदामा भनिएको छ, ‘स्वदेशी पुस्तकहरू विदेशमा छापिनु नपर्ने गरी स्वदेशको मुद्रणका लागि आवश्यक कागज, मसीलगायत सामग्रीमा कर छुटको व्यवस्था गरी लागतलाई समानस्तरमा ल्याइने छ र स्वदेशमा छपाइको गुणस्तर वृद्धिमा जोड दिइने छ ।’ पुस्तकमा कुनै पनि कर नलिने युनेस्कोको मान्यतालाई पनि अनुसरण गरिने मस्यौदामा उल्लेख छ ।
यो नीति लागू भएमा नेपालमा दर्ता भएका प्रकाशकहरूले विदेशमा पुस्तक छपाइ गरी स्वदेशमा ल्याएर बिक्री गर्ने काम निरुत्साहित हुने ठानिएको छ । कार्यदलले पेस गरेको मस्यौदा सर्वसाधारणबाट सुझाव लिन शिक्षा मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको छ । शिक्षामन्त्री धनीराम पौडेलले कार्यदलले पेस गरेको मस्यौदाको थप सुझाव लिन विज्ञ र सर्वसाधारणलाई सार्वजनिक गरेको बताए । ‘सरकारलाई आर्थिक बोझ पर्ने र कानुनमा बाझिनेबाहेक सबै विषय नीतिमा समेटिन्छ,’ उनले भने, ‘जनताबाट आएको सुझावका आधारमा पुस्तक नीति बन्नेछ ।’
हरिगोविन्द लुइँटेलको संयोजकत्वमा राष्ट्रिय पुस्तक नीति मस्यौदा तर्जुमा कार्यदल गठन गरिएको थियो । यसमा शिक्षा मन्त्रालय र मातहत कार्यालयका प्रतिनिधि, पुस्तक प्रकाशक संघसंस्थाका प्रतिनिधि सहभागी थिए । यसअघि बारम्बार पुस्तक नीति ल्याउने प्रयास गरे पनि सम्भव भएको थिएन । पुस्तक उत्पादन, प्रकाशन, वितरण, भण्डारण र प्रवद्र्धन लगायतलाई व्यवस्थित गर्न नीति बनाउन लागेको कार्यदलका सदस्य सचिव उपेन्द्रप्रसाद मैनालीले बताए । पुस्तकका लागि आवश्यक पर्ने कागज देशभित्रै उत्पादन गर्न सहुलियत प्रदान गरिने नीति पनि लिइएको छ ।
कार्यदलले स्वदेशी पुस्तकलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन र निर्यात गर्न पनि सहज वातावरण गर्ने नीति अघि सारेको छ । विदेशमा रहेका नेपालीभाषीका लागि आवश्यक पाठ्यपुस्तक र अन्य पुस्तक पुर्याउन आवश्यक पहल गरिने मस्यौदामा उल्लेख छ । यस्ता किताब निर्यात गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने व्यवस्थासमेत हुने भएको छ । विदेशमा पुस्तक निर्यात गर्दा हुने कठिनाइ समाधान गर्न सम्बन्धित देशसँग सम्झौता गर्ने नीति अवलम्बन गर्ने उल्लेख छ । ‘छिमेकी देशबाट पुस्तक आयात हुने तर नेपालबाट ती देशमा पुस्तक निर्यात हुन व्यवहारमा देखिएको कठिनाइ समाधान गरेर सबै मित्र राष्ट्रहरूसँग पुस्तक आयात निर्यातका सन्दर्भमा समानस्तरका प्रावधान बनाइनेछ,’ मस्यौदामा भनिएको छ, ‘यसका लागि आवश्यक सहमति वा सम्झौता गरिने छ ।’
पाठ्यक्रममा आधारित विदेशी पाठ्यपुस्तकहरू नेपाली प्रकाशकको सहकार्यमा नेपालमा नै प्रकाशन हुने व्यवस्था गर्ने पनि मस्यौदामा छ । पाठ्यपुस्तक लेखक, अनुवादक, सम्पादक, सज्जाकारको मापदण्ड बनाइने भएको छ । कार्यदलले पाठ्यपुस्तक, सन्दर्भ पुस्तक लेखक र सम्पादकको योग्यतासमेत तय गरेको छ । आधारभूत तह (कक्षा आठसम्म) को पाठ्यपुस्तक लेखन र सम्पादनका लागि सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै कुनै पनि विषयमा स्नातक गरेर सम्बन्धित विषयमा कम्तीमा चार वर्षको अनुभव प्राप्त गरेकाले पनि आधारभूत तहको पुस्तक लेख्न सक्नेछन् । माध्यमिक तह (१२ कक्षासम्म) को पाठ्यपुस्तक लेखन तथा सम्पादन गर्न सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर सम्बन्धित विषयमा कम्तीमा चार वर्षको अनुभव हासिल गरेको हुनुपर्ने प्रावधान छ । मातृभाषाका पाठ्यपुस्तक लेख्न जुनसुकै विषयमा कम्तीमा स्नातक उत्तीर्ण गरेर अनुभव प्राप्त गरेकोलाई मान्यता दिएको छ । विश्वविद्यालय तहको पाठ्यपुस्तक लेखक हुन सम्बन्धित विषयमा स्नातकोत्तर गरी कम्तीमा दुइटा अनुसन्धानात्मक लेख रचना पेसागत जर्नलमा प्रकाशन गरेको हुनुपर्ने प्रावधान राखेको छ ।
अन्य पुस्तक लेखक तथा सम्पादकको योग्यता भने निर्धारण गरेको छैन । इच्छुक र अनुभवी व्यक्तिहरू विविध पुस्तकको लेखक तथा सम्पादक हुन सक्ने छन् । मस्यौदामा भनिएको छ, ‘उनीहरूको कामको गुणस्तरका आधारमा पाठक वर्गले उनीहरूको स्वतन्त्र रूपले मूल्यांकन गर्ने छन् ।’
पुस्तकको गुणस्तरको मापदण्ड पनि तय गरेको छ । विषयवस्तुमा गहन पकड, आधिकारिकता र तथ्यपरकतालगायत पुस्तकको प्राज्ञिक गुणस्तर उच्च तहको हुनुपर्ने, पुस्तकको प्रस्तुति शैलीमा सहजता, रोचकता र कलात्मकता हुनुपर्ने, प्रस्तुति वैज्ञानिक शोध विधि र स्थापित स्तरीय मानकमा आधारित हुनुपर्ने भनिएको छ । पुस्तकको आकार, कागजको तौल, रङ, चिप्लोपन, छपाइ, कभर पेज, पुस्तकको अगाडि पछाडि छोडिनुपर्ने खाली पृष्ठ, बाइन्डिङलगायत पक्षको पनि सुनिश्चित गरिने भएको छ ।
यस्ता विषयको नियमन र अनुगमन गर्न १५ सदस्यीय राष्ट्रिय पुस्तक परिषद् गठन गर्ने अवधारणा अघि सारेको छ । परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डलाई आधार बनाएर पुस्तकको न्यूनतम गुणस्तरको मापदण्ड अध्यावधिक गर्दै जाने भएको छ । पुस्तक व्यवसायलाई उद्योगका रूपमा मान्यता दिइने नीति लिएको छ । कार्टेलिङ गर्ने, पाठ्यपुस्तकको जथाभावी मूल्यवृद्धि, कम गुणस्तरका पुस्तक छाप्ने, रचना चोरी गरी छाप्ने, लेखक, बिक्रेता आदिलाई तोकिएको पारिश्रमिक वा छुट नदिर्ने गर्ने प्रकाशन गृह र वितरकलाई कानुनी कारबाहीको दायरामा ल्याइने नीतिमा उल्लेख छ ।
देशको बौद्धिक सम्पत्ति संरक्षण गरी भावी पुस्ताका लागि सुरक्षित गर्न छापिएको हरेक पुस्तकको दुई प्रति राष्ट्रिय पुस्तकालयमा नि:शुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । सबै खाले पुस्तकमा आईएसबीएन अनिवार्य राख्नुपर्ने प्रावधान राखेको छ ।
मकर श्रेष्ठले काीन्तपुरमा लेखेको खबर ।
प्रतिक्रिया