Edukhabar
सोमबार, ०३ मंसिर २०८१
अन्तैवाट

दधिकोटमा प्राविधिक शिक्षालय बन्ने

सोमबार, २० भदौ २०७३

काठमाडौं २० भदौ / अनन्तलिङ्गेश्वर नगरपालिका वडा नं. १० स्थित दधिकोटमा कोरियन प्रोेजेक्टको सहयोगमा कृषि शिक्षा प्रदान गर्ने उद्देश्यले प्राविधिक शिक्षालय बन्ने भएको छ । आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी अहिले प्रारम्भिक काम सुरु भएको हो ।

कोरिया र जापानमा भएको व्यावसायिक कृषि प्रणालीलाई नेपालमा पनि प्रयोग गरी प्राविधिक कृषि शिक्षा प्रदान गर्ने उद्देश्यले उक्त प्राविधिक शिक्षालय निर्माण हुन लागेको अनन्तलिङ्गेश्वर नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले कोरियन प्रोजेक्टले तीन महिनाअगाडि प्रारम्भिक अध्ययन गर्दा दधिकोटमा भौगोलिक र वातावरणीय रूपमा कृषिसम्बन्धी प्राविधिक शिक्षालय निर्माण गर्न उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

कोरियन प्रोजेक्टले प्राविधिक शिक्षालयको भवन निर्माणदेखि आवश्यक उपकरणसमेतको व्यवस्थापन गरी शिक्षालय निर्माण भएपछि नगरपालिकालाई हस्तान्तरण गर्नेछ । त्यसपछि नगरपालिकाकै व्यवस्थापनमा प्राविधिक शिक्षालय सञ्चालन हुनेछ । पाँच वर्षसम्म भने कोरियन प्रोजेक्टका तर्फबाट पनि शिक्षालयको व्यवस्थापनमा बसेर काम गरिने जनाइएको छ ।

शिक्षालय सञ्चालन भएपछि हरेक वर्ष तीन सयदेखि पाँच सय जनासम्म कृषि प्राविधिक उत्पादन हुनेछ । उक्त प्राविधिकले नेपालमै रोजगार सिर्जना गर्ने र अन्य व्यक्तिले समेत रोजगार पाउने अर्को सम्भावना बढ्ने नगरपालिकाको दाबी छ ।

कोरियन प्रोजेक्टले शिक्षालय निर्माणका लागि कुल ६० रोपनी जग्गा आवश्यक पर्ने जनाएको छ । अहिले उक्त क्षेत्रमा ९ रोपनी सार्वजनिक जग्गाको व्यवस्थापन भइसकेको र बाँकी जग्गाको खोजी कार्य तीव्र भइरहेको छ । जग्गाको व्यवस्था भएसँगै कोरियन प्रोजेक्टसँग सम्झौता भई काम प्रारम्भ हुनेछ ।

सार्वजनिक जग्गा खोजी गर्न नगरपालिकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरलाई लिखित आग्रह गरेको र प्रशासनले सार्वजनिक जग्गाको खोजी गरिरहेको छ ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया