Edukhabar
सोमबार, ०३ मंसिर २०८१
खबर/फिचर

भाषाविद्को बाझाबाझ र ठेलम्ठेल : विवाद थप जटिल हुँदै गएको संकेत

आइतबार, १९ भदौ २०७३

- हरिसुन्दर छुकां / काठमाडौं - औपचारिक कार्यक्रम सकियो । त्यस पछि चियापानका लागि चमेनागृह तर्फ लागे कार्यक्रमका अतिथिहरु । एउटै टेबुलमा राखिएको फरक फरक मेचमा बसे ‘नेपाली भाषा बचाऔं अभियान’ का एक अभियन्ता प्रा. डा. खगेन्द्र लुइटेल र भाषा सुधारका पक्षधर प्रा.डा. बद्रीविशाल भट्टराई ।

एउटै मञ्चमा सँगै बसेर भाषाको विषयमा पक्ष र विपक्षमा आआफ्नो तर्क प्रस्तुत गरेपछि खाजा खान पुगेका र सँगै बसेका  उनीहरु एक्कासी बाझ्न थाले ।

– ‘.... भन्न खोजेको के ?’

– ‘......... चाहिँ भन्न खाजेको के त ?’

चियापानका लागि तयार भएका उनीहरुबीच बाझाबाझ नसकिँदै ठेलम्ठेल नै सुरु भयो । उनीहरु कुम कुम जुधाउन थाले । त्यहाँ भएका अरु भाषाविद्, शिक्षकहरु र कार्यक्रम आयोजकले उनीहरुलाई दुईतिर तान्न बाध्य भए ।
तानेपछि पनि उनीहरु एकले अर्कोलाई चोर औंला देखाउँदै आफै आफै मुरमुरिन थाले ।

यो घटनाले भाषाको विषयमा भएको पक्ष विपक्षको तर्क औपचारिक कार्यक्रममा मात्रै सिमित नभएको संकेत गर्छ ।

युवाकवि मोतीराम भट्टको १ सय ५१ आंै जन्म जयन्तीको अवसरमा भक्तपुरमा ‘नेपाली भाषा बआचौं अभियान’ बारेमा भएको साक्षात्कार कार्यक्रमपछिको यो दृष्य त्यसकै उदाहरण हो ।
भाषाविद्हरुबीच वर्णविन्यासबारे विवाद बढेको र त्यो विवादले उनीहरुबीच दूरी बढाएको स्पष्ट देख्न सकिन्छ ।

पछिल्लो समयमा नेपाली हिज्ये, भाषा र वर्ण विन्यासलाई लिएर निक्कै बहस र विवाद सतहमा आइरहेको छ, तर यस क्षेत्रका जानकारहरु आफैं पौठे जोरी खेल्दै हिँडिरहेका छन् । यो विषयलाई कसरी सल्टाउने भन्ने उपायको खोजिमा भन्दा आआफ्नै तर्कमा जुटिरहेका छन् । समाधान निकाल्न गम्भिर देखिदैंनन् ।

त्यसैले यो विषयमा अहिले विद्यालयतहका शिक्षकदेखि विश्वविद्यालय तहसम्मका प्राध्यापकहरु अलमलमा संगै दुई खेमामा विभक्त भएका छन् ।

कोही नयाँ फेरिएको नियमले अन्योल बढाएको बताइरहेका छन् भने कोही भने सजिलो बनाएको दाबी ।

नेपाल प्रज्ञा प्रतिष्ठानले २०६७ सालमा भाषा संगोष्ठी आयोजना गरेपछि पाठ्यक्रम विकास केन्द्रले वर्णविन्यास सम्बन्धी शैली पुस्तिका प्रकाशित गरी विश्वविद्यालय तहमा कार्यान्वयनमा समेत ल्याइसकेको छ । राज्यको करोडौं लगानी गरी पाठ्यक्रम, पाठ्यपुस्तक प्रकाशित भई करिब ४ वर्षसम्म कार्यान्वयनमा आइसकेको छ । 

सुधार वा सरलताका नाममा भाषाका आधिकारिक निकायहरु प्रज्ञा प्रतिष्ठान, त्रिविविबीच आवश्यक समन्वय हुन नसक्दा भाषाविद्हरु दुई भागमा विभाजित भएको देखिन्छ ।

नयाँ वर्णविन्यासले भाषाको मर्म र मूल्य मान्यतामा समेत आँच पुगेको भाषाविद् शरतचन्द्र वस्ती बताउँछन् । प्रा.डा. बद्रीविशाल भट्टराई भने भाषालाई सरल बनाउनका लागि सरकारले नयाँ नियम ल्याएको बताउँछन् ।
प्रज्ञा प्रतिष्ठानले हालै मात्र परिमार्जन सहित बजारमा ल्याएको बृहत नेपाली शब्दकोषमा समेत वर्णविन्यास बिगारिएको भन्दै भाषाविद्हरु दुई कित्तामा बाँडिएका छन् । यस सम्बन्धमा त्रिवि नेपाली भाषा विभागले भाषा सुधारको नाममा सरकारले गरेको परिपत्रलाई त्रिविले स्वीकार नगर्ने बताइसकेको छ । 

‘भाषालाई तोक आदेश र टिप्पणीबाट लागू गर्ने होइन, भाषा प्रयोक्ताको सम्पत्ती हो, भाषा परिवर्तनशील छ, यो निरन्तरको प्रक्रिया हो,’ नेपाली भाषामा गरिएको सुधारलाई भाँडभैला भएको बताउँदै विभाग प्रमुख प्रा.डा. देवीप्रसाद गौतमले भने, ‘यसलाई लादेर लादिन्न ।’

‘नेपाली बचाऔं अभियान’ का संयोजक बलदेव शर्मा 'गाउँले' पाठ्यक्रम विकास केन्द्रले नेपाली भाषा विषयमा भ्रम पैदा गरेको मात्र नभएर देवनागरी लिपिलाई समाप्त पार्ने षड्यन्त्र गरेको बताउँछन् ।

भाषाविद् गाउँलेले भाषा सुधारका नाममा नियम लाद्नुको स्वार्थ राष्ट्रको भाषा बचाउ र सुधारभन्दा केही व्यक्तिहरूको शब्दकोश बिकाउने स्वार्थ भएको कडा टिप्पणी गदै भाषा बिगार्ने षड्यन्त्र विरुद्ध सबैलाई एक हुन आग्रह गरे । नयाँ नेपाली वर्णविन्यासका पक्षधर प्रा. डा. भट्टराई भने अनावश्यक कोकोहोलो गरेको आरोप लगाउँछन् । सरकारले छलफल गरेरै भाषामा नयाँपन ल्याएको उनको तर्क छ ।

प्रकाशित मिति २०७३ भदौ १९ गते

प्रतिक्रिया