काठमाडौ १९ भदौ / ‘उच्च’ शब्द हटाउन नियामक निकायले दिएको निर्देशनलाई विद्यालयले मानेका छैनन् । शिक्षा ऐन संशोधन भइसकेपछि उच्च माध्यमिक विद्यालय रहने व्यवस्था हटेको छ । ऐनले कक्षा १२ सम्मलाई माध्यमिक तहका रूपमा परिभाषित गरेको छ ।
शिक्षा विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक योगेन्द्र बरालले अब उच्च माध्यमिक विद्यालय नभएकाले त्यस्ता विद्यालयले आफ्नो नाम तत्काल सच्याउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालयको नाममा लेखिएका ‘उच्च’ शब्द हटाउन देशभरिका जिल्ला शिक्षा कार्यालयलाई निर्देशन दिएका छौँ, त्यसको कार्यान्वयन जिशिकाहरूले गर्नुपर्दछ, त्यसबारेमा अनुगमन गर्न बाँकी छ । ”
विद्यालयले आफ्नो बोर्डका साथै लेटरप्याडलगायतमा पनि उच्च शब्द हटाउनुपर्ने छ । बाँकी रहेका पुराना लेटरप्याडमा ‘उच्च’ शब्द मेटेर काम चलाउन सक्ने भए पनि विद्यालयले त्यस्तो नगरिकनै पत्राचार गर्ने गरेको पाइएको छ ।
पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक नारायण गौतमले आफूहरूले नयाँ बोर्ड पेन्टिङ गर्न दिएको जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा भाषा विवाद भइरहेको र आफूहरूले पद्मोदय र विद्यालयको खुट्टा नकाटेर बोर्ड लेख्न लगाएको बताउनुभयो ।
ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सबै विद्यालयलाई उच्च शब्द हटाउन निर्देशन दिइसकेको बताउँदै उनीहरूले विगतकै लेटरप्याडलगायतका सामग्री सञ्चित छ भनेर सुस्त गतिमा उच्च शब्द हटाउने कार्य गरिरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभरिमा हालसम्म तीन हजार ६६९ वटा विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ ।
गोरखापत्रमा प्रकाशित खबर
प्रतिक्रिया