काठमाडौं १५ भदौ / भूकम्पले भवनहरू क्षतिग्रस्त भएपछि मुलुकका प्रमुख पुस्तकालयहरू ढेढ वर्षदेखि सञ्चालनमा आउन सकेका छैनन् ।
राष्ट्रिय पुस्तकालयका एक लाखभन्दा बढी किताब ५ हजार बोरामा कोचेर राजधानीको एक विद्यालयमा राखिएको छ । पुस्तकालय भवन पूर्णरूपमा क्षति भएपछि बाल शाखा मात्रै सञ्चालनमा छ ।
स्वदेशी र विदेशी गरी दैनिक डेढ सयभन्दा बढी पाठक हुने केशर पुस्तकालय पनि भूकम्पपछि सञ्चालनमा आउन सकेको छैन । पुस्तक, जर्नल, म्यागनिज, पत्रपत्रिकालाई एक सय बोरामा पोका पारेर राखिएको छ ।
लाजिम्पाटस्थित डिल्लीरमण पुस्तकालयको भवन पनि चर्किएपछि धेरै भीडभाड नगर्न प्राविधिकले सल्लाह दिएका छन् । ‘आठ/दस जनाभन्दा बढी राख्न मिल्दैन,’ पुस्तकालय प्रमुख भोलाकुमार श्रेष्ठले भने । उनका अनुसार केशर र राष्ट्रिय पुस्तकालय बन्द भएपछि पाठकहरू यो पुस्तकालयमा आउनेक्रम बढेको छ ।
एउटै कोठामा बेहाल अवस्थामा राखिएकाले किताबमा ढुसी पर्न थालेको छ । भित्तातिरका पुस्तक धमिराले खान थालेको छ ।
राष्ट्रिय पुस्तकालका तीन सय वर्ष पुराना किताब बोरामा कोचिएका छन् । भूकम्पपछि कर्मचारीहरूले तत्कालका लागि जोगाउन पाँच हजार बोरामा पोका पारेका किताब अहिले पनि उस्तै हालतमा छन् । बोरामा थाकमाथि थाक लगाएर राखिएको छ । ‘यतिको समय बोरामा राखेपछि प्रयोगमा ल्याउन नमिल्ने पनि हुन सक्छ,’ सामुदायिक पुस्तकालयका संघका अध्यक्ष गणेशप्रसाद न्यौपानले भने ।
सरकारले बुधबार नवांै पुस्तकालय दिवस मनाउँदै छ । ‘जीवन पर्यन्त शिक्षाका लागि पुस्तकालय’ नारा दिएर प्रभातफेरी, भाषणको कार्यक्रम, पुस्तक नीति सार्वजनिक गर्दै छ । तर भूकम्पपछि बन्द भएका पुस्तकालय सञ्चालनको कुनै पहल गर्न सकेको छैन । ‘बोरामा किताब राख्दा बिग्रन सक्ने भएपछि जोगाउन भए पनि घर भाडामा लिएर पुस्तकालय सञ्चालन गर्ने प्रक्रिया अघि बढाएका छौं,’ राष्ट्रिय पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले भने ।
केशर पुस्तकालय रहेको केशर महल क्षतिग्रस्त भएपछि ६५ हजार पुस्तक त्यही भवनको भूई तल्लाको एउटा कोठामा राखिएको छ । पुस्तकालयमा आउने पाठकका लागि बाहिर पाल टाँगिएको छ । तर, पाठकले चाहेको पुस्तक नपाउने भएपछि आउँदैनन् । ‘पुस्तकालय बन्द छ, तर पुस्तकचाहिँ बोराबाट निकालेर र्याकमा सुरक्षित राखेका छौं,’ पुस्तकालय प्रमुख दशरथ मिश्रले भने । पुस्तकालयमा हातले लेखेर तयार पारिएका सात सय थान पुराना पुस्तकसमेत छन् ।
केशरशमशेरका छोरा लोकभक्त राणाले पुस्तक संरक्षण गर्न सरकारलाई हस्तान्तरण गरे पनि थप नासिएको गुनासो गरे । ‘हामीसँग रहँदा नासिएला, मासिएला र बिग्रिन सक्ने भन्दै सरकारलाई संरक्षण गर्न दिएको हौ,’ उनले भने, ‘अहिलेको अवस्था देखेर नदिएको भए पनि हुने रहेछ । योभन्दा त बरु हामी नै राम्ररी संरक्षण गथ्र्यौं जस्तो लाग्छ ।’ केशर महल बनाउन दाता खोजे पनि सरकारले बनाउन नदिएको उनले बताए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको अवस्था पनि नाजुक छ । भूकम्पले पुस्तक राखेको र्याक ढालेपछि पुस्तक भुइँमा यत्रतत्र छरिएका छन् । काम नलाग्ने दराज र र्याक हटाएपछि एक लाखभन्दा बढी पुस्तक भुइँमा रहेको पुस्तकालयका एसोसिएट लाइब्रेरियन इन्द्रप्रसाद अधिकारीले बताए । पुरानो दराज मर्मत गर्न, नयाँ किन्न र पूर्णरूपमा व्यवस्थापन गर्न २० लाख रुपैयाँ लाग्ने उनले बताए । दैनिक एक हजारभन्दा बढी पाठक आउने पुस्तकालयमा अहिले चाहिएको पुस्तक पाउनै गाह्रो छ । भूकम्पले पुरानो भवन संरचना ध्वस्त भएपछि त्यहाँ रहेका पुस्तकहरू मिलाएर राख्ने व्यवस्था भएको छैन ।
त्रिवि केन्द्रीय पुस्तकालयमा झन्डै पाँच लाख पुस्तक छन् । विभिन्न विषय र विधाका विशेष पुस्तक छन् । हजारौं पत्रपत्रिका छन् । यी पुस्तक तथा पत्रपत्रिकाहरू २०२५ सालदेखि संकलन गरिँदै आएका हुन् । भूकम्पले भवन ध्वस्त भएपछि पुस्तकहरू छरपष्ट छन् । पुस्तकालयको ९० प्रतिशत र्याक भाँचिए पनि पुस्तक भने जोगिएका छन् । तर, ती पुस्तकलाई भुइँबाट उठाएर राख्ने दराज छैन ।
भूकम्पले मुलुुकभरका ६० भन्दा बढी पुस्तकालयमा क्षति पुगेको शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालयको भवन पूर्णरूपमा क्षति भएको छ । डिल्लीरमण पुस्तकालयको पर्खाल चर्किएको छ । त्रिभुवन विश्वविद्यालको भवन, पर्खाल चर्किएको छ भने जमिन भासिएको छ । सिंहदरबारको योजना आयोगको पुस्तकालय, मदन पुरस्कार पुस्तकालय रहेको भवन पनि पूर्णरूपमा क्षति भएको थियो ।
त्यस्तै सोलुखुम्बुको जुनबेसी सामुदायिक पुस्तकालय, चरिकोटको गौरीशंकर, नुवाकोटको जनजागरण पुस्तकालय रहेको भवन पूर्ण क्षति भएको थियो । अन्य पुस्कालयको भवनमा आशिंक रूपमा क्षति भएको थियो । ‘केही पुस्तकालय वैकल्पिक उपाय अपनाएर समान्य रूपमा सञ्चालन भइरहेको छ,’ सामुदायिक पुस्तकालय संघका अध्यक्ष गणेशप्रसाद न्यौपानेले भने, ‘भूकम्पबाट क्षति भएका पुस्तकालयहरू पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।’
शिक्षाविद् केदारभक्त माथेमाले मुलुकको पुस्तकालयको अवस्था देखेर रुन मन लाग्ने बताए । ‘पुस्तक बोरामा राखेको देख्दा रुन मन लाग्छ,’ उनले भने । सरकारले भने पुस्तकालयको भवन पुनर्निर्माण योजनासमेत बनाएको छैन । पुराना ग्रन्थ र बहुमूल्य पुस्तक कोचेर राख्दा चोरी हुन सक्ने भएकाले सुरक्षामा समेत निगरानी बढाउनुपर्ने उनले बताए ।
पुस्तकालय अभिलेख व्यवस्थापन समितिका अध्यक्ष इन्दिरा दलीले मुलुकभर ४१ हजार आठ सय ७२ पुस्तकालय रहेको बताइन । उनका अनुसार विश्वविद्यालय र कलेजमा एक हजार सात सय ७२, विद्यालयमा ३७ हजार, सरकारी कार्यालयमा दुई सय, सामुदायिक पुस्तकालय एक हजार पाँच सय, गैरसरकारी कार्यालय र निजी संस्थाको दुई हजार पुस्तकालय छन् ।
शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले भूकम्पले भत्किएको भवन समयमा बनाउने प्रयास गर्दा पनि नसकिएको बताए । ‘यो वर्ष पुनर्निर्माण गर्ने प्रक्रियामा छौं,’ उनले भने ।
मकर श्रेष्ठले कान्तिपुरमा लेखेको बर, ।
प्रतिक्रिया