Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

जापानी भाषा सिक्न दुई वर्षमा १६ अर्ब खर्च

आइतबार, १२ भदौ २०७३

काठमाडौं १२ भदौ / जापानको सोफिया युनिभर्सिटीकी सहायक प्राध्यापक मासाको तानका त्यहाँ रहेका नेपालीबारे एउटा तथ्यांक सुनेर सुरुमा अचम्म परिन् । जब उनले उक्त तथ्यको प्रमाणिकता बुझिन्, मन भरंग भयो । नेपालको राजनीतिक घटनाक्रम नजिकबाट बुझेकी तानका छक्क पर्नुको कारण थियो, द्वन्द्व सकिएपछिका वर्षमा पनि गैरकानुनी रूपमा जापान बस्ने र शरणार्थीका निम्ति आवेदन दिनेको संख्या घटेको छैन । उनका अनुसार जापानमा १८ सय नेपालीले शरणार्थी बन्न आवेदन दिएका छन् । यो संख्या अति द्वन्द्वग्रस्त सिरियाली र अफगानी नागरिकले जापानमा मागेको शरणार्थी आवेदनभन्दा धेरै हो ।

जापानमा ६० हजार नेपाली छन् । मासाकोले जापानमा रहेका नेपालीमाथि अनुसन्धान नै गरेकी छन् । ‘जापानमा रहेको नेपाली कामदारले के कमाए, के गुमाए,’ शीर्षकको अनुसन्धानले उजिल्याएका तथ्यांक अनौठा त छन् नै, त्यसले बढदो आप्रवासनका कारणहरु र त्यसका उपलब्धि बुझ्न पनि सघाउँछ ।

सन् २०१३ मा ५ सय ४४ नेपालीले शरणार्थी आवेदन दिएका थिए भने २०१४ र २०१५ मा क्रमश: १२ सय ९२ र १७ सय ८६ नेपालीले आवेदन दिए । कैयन् नेपालीले नाकाबन्दीका कारण देशमा बस्न नसक्ने जनाएका छन् ।
मासाको भन्छिन्, ‘झुटा कारण देखाएर नेपालीले शरणार्थी भिसामा आवेदन दिनाले सक्कली शरणार्थीको अधिकार खोसिएको छ ।’ अनेक नक्कली कारण देखाएर शरणार्थीको आवेदन दिएकाले  जापानीमाझ नेपालीको छवि बिग्रिएको उनले बताइन् ।

राम्रो आम्दानीको स्रोत भएकैले डिपेन्डेन्ट, विद्यार्थी वा कामदार भिसामा जापान जानेको ग्राफ उक्लिँदो छ । शिक्षा मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका अनुसार जापानमा पढ्नकै निम्ति भनेर यस्तो पत्र लिनेको संख्या आर्थिक वर्ष ०६९/७० मा ४ हजार २ सय ७२ थियो भने आर्थिक वर्ष ०७०/७१ मा बढेर ७ हजार ३ सय ९९ पुग्यो । यो संख्या आर्थिक वर्ष ०७१/७२ मा ९ हजार ४ सय ५७ पुग्यो । आर्थिक वर्ष ०७२/७३ को ११ महिनामा भने ५ हजार ४ सय ९१ ले त्यस्तो पत्र लिएका छन् । आर्थिक वर्ष ०७२/७३ को ११ महिनामा मात्रै ३ हजार ८ सय ४४ नेपाली कामदार भिसामा जापान गएको देखिन्छ । सन् २०१५ मा मात्रै १२ हजार ८ सय ९६ नेपाली डिपेन्डेन्ट भिसामा जापान पुगेका थिए ।

सन् १९९६ देखि २००३ सम्म जापानको राजदूत रहेका केदारभक्त माथेमा जापानीहरू नेपालीलाई खुबै मन पराउने बताउँछन् । उनले आफू राजदूत हुँदाको बखत गैरकानुनी कामदारका रूपमा बसेका थुप्रै नेपालीलाई भेटेको सुनाउँदै भन्छन्, ‘हरे शिव, नेपालीका दु:ख †’ केही नेपाली राम्रो हैसियतमा रहे पनि धेरैसँग दु:खको कथा रहेको उनले सुनाए । आम्दानीका हिसाबले जापान नेपालीका लागि राम्रो भएको सुनाउँदै उनले भने, ‘गैरकानुनी बस्ने र शरणार्थी बन्न नक्कली कारण देखाएर आवेदन गर्नाले हाम्रो साख गिर्न सक्छ ।’

भाषा सिक्न अर्बौं खर्च
मासाकोको अध्ययनअनुसार विद्यार्थी भिसामा जापान छिरेका सबैले अनिवार्य रूपमा दुई वर्षको जापानी भाषा कक्षा लिनुपर्छ । त्यसका निम्ति कम्तीमा पनि बीस लाख नेपाली रुपैयाँ खर्च हुन्छ । अहिले यस्तो भाषा कक्षा लिने ८ हजार नेपाली छन् । मासाकोले हिसाब निकालिन्, नेपालीले जापानी भाषा सिक्न प्रत्येक दुई वर्षमा करिब १६ अर्ब रुपैयाँ खर्चन्छन् । उनका अनुसार जापान सरकारले प्रत्येक वर्ष नेपालको शिक्षा क्षेत्र सुधारका नाममा खर्चिने रकमभन्दा यो धेरै हो । तर अनौठो के छ भने, यतिका धेरै रकम खर्चेर जापानी भाषा सिकेकामध्ये २.१ प्रतिशत मात्रै उच्च शिक्षामा प्रवेश गर्छन् ।

त्यस्तै, दस हजार नेपालीले जापानका विभिन्न शिक्षालयमा सीपमूलक शिक्षा लिइरहेका छन् । मासाकाको अध्ययनअनुसार त्यस्तो तालिम लिनेमा नेपालको विश्वविद्यालयमा स्नातकोत्तर तह सकेका विद्यार्थीसमेत छन् । एसोसिएसन फर दि प्रोमोसन अफ जापनिज ल्याङवेजका अनुसार सन् २०१४ मा मात्रै ४ हजार ७ सय ७९ नेपालीले जापानी भाषाको कक्षा लिएका थिए । त्यस वर्ष जापानी भाषाको कक्षा लिनेमा चिनियाँ पहिलो, भियतनामी दोस्रो र नेपाली तेस्रो नम्बरमा छन् ।

मासाकोले जापानमा बस्ने एक सय ३ नेपालीसँग उनीहरूको कमाइको सन्तुष्टि, जापान आउनुको कारण र अन्य सामाजिकीकरणका विषयमा केन्द्रित भएर सर्वेक्षण गरेकी थिइन् । त्यस्तै, जापानबाट फर्केका ३२ र जापानमै रहेका ३० नेपालीमाथि केस स्टडी गरेकी थिइन् । उनका अनुसार जापानमा ५ हजार ४ सय नेपाली बालबालिका छन् । नेपालको स्कुले पढाइ छाडेर उता पुगेका अधिकांश बालबालिका न जापानी भाषामा दख्खल राख्छन् न नेपाली भाषामै । मासाकोले भनिन्, ‘तिनीहरू अधमरो हालतमा छन्, जसले करिअरमा समस्या पैदा गर्न सक्छ ।’

मासाकोको अध्ययनले जापानमा २० हजार नेपाली महिला रहेको देखाउँछ र तिनीहरू पुरुषको तुलनामा धेरै सन्तुष्ट रहेको देखिन्छ । पुरुषहरू रेस्टुराँको भान्छामा काम गर्ने भएकाले भाषामा राम्रो सुधार नआउने र तर महिलाहरू अक्सर संवाद गर्नुपर्ने खालको काम अर्थात् डिपार्टमेन्टल स्टोरमा काम गर्ने हुनाले भाषामा अगाडि रहेको देखिन्छ । मासाकोले अध्ययनका क्रममा पछिल्ला वर्षमा विद्यार्थी भिसामा जापान गएका विद्यार्थी निराशाको सिकार भएको र कैयन्ले आत्महत्या गरेको समेत भेट्टाइन् । उनले त्यसको कारण पनि सुनाइन्, ‘अधिकांशका अभिभावक छोराछोरी जापान जानेबित्तिकै धेरै पैसा कमाउने अपेक्षा गर्छन् र मनोवैज्ञानिक दबाब दिन्छन् ।’

जनकराज सापकोटाले कान्तिपुरमा लेखेको खबर ।

प्रतिक्रिया