काठमाडौं १० भदौ / पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ०७१ वैशाखमा 'अक्षरको खेती' निबन्ध कृति लेखे। छाप्नुअघि भाषाका त्रुटि हटाउन र लेखनमा मिठास भर्न उनले पाण्डुलिपि सम्पादकलाई दिए। पाण्डुलिपि जब सम्पादन भएर आयो, उनी छाँगाबाट खसेझैं भए।
सम्पादित कृतिमा उनले लेखेका वाक्य त एउटै सद्दे रहेनछन्, सम्पादकले धेरै शब्दका खुट्टा काटिदिएछन्। धेरै अक्षरका दाहिना–बाइमात्रा उल्ट्याइदिएछन्। विद्यालयको ठाउँमा विद्यालय, बुद्धको सट्टा बुद्ध, राष्ट्रियको सट्टा रास्ट्रिय। दीर्घ हुनुपर्ने शब्द ह्रस्व, ह्रस्व हुनुपर्ने दीर्घ। शर्माले सम्पादकलाई सोधे, 'यो कस्तो भाषा हो? यस्तै हो त सम्पादन?' भाषा 'बिगार्ने' सम्पादकले तुरुन्तै जवाफ दिए, 'भाषामा विवाद छ, अहिले यस्तै प्रयोग गर्ने निर्णय भएको छ।'
सम्पादकको जवाफ सुनेपछि शर्मालाई लाग्यो, नेपाली भाषामा ठूलै समस्या आएछ। उनी अझ अचम्मित त त्यतिबेला भए जतिबेला भाषामा यस्तो प्रयोग गर्ने निर्णयको फाइल सदर गर्ने आफैं पो रहेछु भन्ने थाहा पाए।
'आफैंले निर्णय सदर गरेको रहेछु,' शर्माले भने, 'एक/डेढ वर्षपछि पो थाहा पाएँ, गल्ती भएछ।'
तत्कालीन शिक्षामन्त्री शर्माले 'मन्त्री छँदै थाहा पाएको भए निर्णय तत्कालै उल्टाउने आसय व्यक्त गरे। 'नेपाली वर्णविन्यासको फाइल दुई वर्षदेखि मन्त्रालयमा घुमिरहेको रहेछ,' शर्माले भने, 'कतैबाट विमति नआएको र सचिव तथा नजिककाबाट सदर गर्न भनेपछि हस्ताक्षर गरेको थिएँ।'
नेपाली लेख्य भाषालाई अपांग बनाइएको भन्दै राजधानीमा 'नेपाली भाषा बचाऔं, अभियान : २०७२' ले सडकमै सत्याग्रह थालेपछि शिक्षा पत्रकार समूहले बिहीबार राजधानीमा यस सम्बन्धी अन्तरक्रिया राखेको थियो। अभियानकर्ता र भाषामा पछिल्लो परिवर्तन ल्याउन संलग्न दुवै पक्षलाई डाकेर गरिएको अन्तरक्रियामा पूर्वमन्त्री शर्माले आफ्नो गल्ती मात्र स्विकारेनन्, यसलाई सच्याउन जस्तोसुकै कदममा सघाउने प्रतिबद्धता जनाए।
भाषामा विभिन्न समयमा विवाद आइरहे पनि अहिलेको समस्या सुरु भएको २०७० बाट हो। पाठ्यक्रम विकास केन्द्रले २०६७ जेठ १६ मा 'सम्पादन प्रकाशन शैली– २०६३' परिमार्जन गर्न भाषाशास्त्री हेमांगराज अधिकारीको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलले २०६८ पुस २२ गते वर्णविन्यास परिमार्जन गर्न सिफारिससहित प्रतिवेदन दियो।
उक्त प्रतिवेदन कार्यान्वयनमा लैजाने फाइल ०६९ साउन २२ गते तत्कालीन शिक्षामन्त्री शर्माले हस्ताक्षर गरी सदर गरेका थिए। यसको प्रयोग २०७० बाट सुरु भएको थियो।
समयअनुसारको प्रविधिमैत्री भाषा भन्दै खुट्टो काट्ने शैली प्रयोगमा ल्याइएको हो। अहिले ६ देखि ९ कक्षाका पाठ्यपुस्तकमा यही भाषा लागू भइसकेको छ। विद्यालयमा अपांग भाषा पढाउँदा शिक्षक नै हाँसोको पात्र बन्नुपरेको नेपाली शिक्षक राजेश घिमिरेले सुनाए।
'मैले कक्षा ९ मा पढ्दा विद्यालयलाई विद्यालय लेखेकै कारण कक्षाबाट बाहिर निस्कनुपरेको छ,' उनले अनुभव सुनाए, 'विद्यार्थीले नै शिक्षकलाई आएन भन्दै खिल्ली उडाए।'
आफूले सिकेको भन्दा फरक शैलीमा पढाउँदा विद्यार्थीले समेत अफ्ठेरो मान्ने गरेकाले नयाँ शैलीअनुसार नपढाएको उनले सुनाए।
नेता प्रदीप ज्ञवालीको भनाइ पनि उस्तै थियो। 'प्रयोगले भाषाको परिवर्तन गर्ने हो, प्रक्रियामा जबर्जस्ती गएर होइन,' ज्ञवालीले भने, 'अहिलेको भाषाले अराजकता सिर्जना गर्ने देखिन्छ। त्यसैले यो बहस जहाँ पुगेको छ, त्यसलाई रोकौं।'
उनले थपे, 'यो विषयमा मेरो पार्टीसमेत चिन्तित छ तर भाषाको विषयमा पार्टीले बोले फेरि राजनीति सुरु हुन सक्छ, त्यसैले नेपाल प्रज्ञा प्रतिष्ठानले अराजकता हटाइहाल्नुपर्छ।'
त्रिभुवन विश्वविद्यालयले नयाँ शैली स्वीकार्य नभएको भन्दै पहिलेकै वर्णविन्यासअनुसार अध्यापन गराउँदै आएको छ। केन्द्रीय नेपाली विभाग प्रमुख देवीप्रसाद गौतमले भने, 'यो कसैले यसो गरौं भनेर निर्णय गरेरभन्दा प्रयोगकर्ताले परिवर्तन स्विकार्दै जाने हो।'
तत्कालीन कार्यदलका संयोजक डा. हेमांगराज अधिकारीले 'प्रविधिमैत्री र सजिलो हुने ठानेर यस्तो वर्णविन्यास प्रयोगमा ल्याइएको' प्रस्टीकरण दिए।
भाषाविज्ञ शरदचन्द्र वस्तीले 'यो वर्णविन्यासले सजिलो होइन, वितृष्णा पैदा गरेको छ,' विद्यार्थीले लेख्दै आएको विद्यार्थी शब्दलाई विद्यार्थी लेख्दा कसरी हुन्छ सजिलो।'
पत्रकार केदार शर्माले पनि वस्तीकै भनाइमा सहमति जनाउँदै भने, 'आफ्नो भाषा जसलाई पनि सजिलो हुन्छ। कसैलाई अफ्ठेरो लाग्छ भने सरकारको काम सिकाउने हो, भाषा नै परिवर्तन गर्ने?'
त्रिवि शिक्षाशास्त्र संकायकी प्राध्यापक डा. सुसना आचार्यले क्रिस्चियन दबाबमा नेपाली भाषा बिगारिएको आरोप लगाइन्। 'यो काममा अमेरिकाको सिल (समय इन्टिच्युट लिंगुइस्टिक) नामक संस्थाको भूमिका रहेको र क्रिस्चियन धर्मसम्बन्धी उक्त संस्था विवादित रहेको जनाइन्।
'नासा (नेसनल एसेसमेन्ट स्टुडेन्ट एचिभमेन्ट) मा पढ्ने विद्यार्थीले समेत नेपाली विषयको नतिजा सबैभन्दा उत्कृष्ट ल्याएको देखिन्छ,' उनले थपिन्, 'उदाहरण नै प्रस्तुत भएपछि अब नेपाली भाषा सजिलो छैन भन्न मिल्छ?'
शिक्षाविद् विद्यानाथ कोइरालाले पनि भाषालाई अपांग बनाएर अपराध गरेको आरोप लगाए। भाषा बचाउ अभियानले हस्ताक्षर संकलन गरिरहेको संयोजक बलदेव अधिकारीले जनाए।
खिलक बुढाथाकीले नागरिकमा लेखेको खबर ।
प्रतिक्रिया