- हरिसुन्दर छुकां / काठमाडौं - खास पेशागत योग्यता, दक्षता, गुण र विशिष्टताहरु भएनन् भने शैक्षिक खम्बाका रुपमा परिचित शिक्षक, शिक्षक कम ‘चटकी’ धेरै बन्छ ।
देशमा कार्यरत लाखौं शिक्षकहरु मध्ये सामुदायिक विद्यालयका अधिकांश शिक्षकहरु ‘शिक्षक’ नभएर त्यस्तै ‘चटकी’ बनिरहेको आरोप लाग्ने गरेको छ । सामुदायिक शिक्षाको खस्कदों गुणस्तरले उक्त आरोपलाई छर्लङ्गै पारेर पुष्टि गरेको छ ।
शिक्षक एउटा नागरिक, सामाजिक नेता, प्राज्ञिक व्यक्तित्वको एकीकृत रुप भएकोले शिक्षकमा पेशागत गुण हुनु अनिवार्य भएको शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला बताउँछन् । ‘शिक्षकमा नेतृत्व सीप, दूरदृष्टि, प्रतिवद्धता र कडा मिहिनेतले मात्र असल शिक्षक बन्न सक्छ’ शिक्षकले चाहेमा गर्न सक्छन् भन्ने अभियानको नेतृत्व गर्दै आएका कोइराला भन्छन्, ‘तर अहिलेका शिक्षकहरु बढी जागिरे स्वभावका हुँदा निक्कै अल्छी गर्न थालेका छन् ।’
शिक्षक बन्ने तर विना तयारी कक्षाकोठामा जाने, शैक्षिक सामग्री नै नलिइकन, नबनाइकन कक्षामा जाने प्रवृत्ति र स्वभावका शिक्षकहरु पेशाप्रति इमान्दार नभएका शिक्षक मात्र नभएर टाइम पासमात्र गर्ने मनशायबाट प्रेरित शिक्षक भएको उनको निष्कर्ष छ ।
कुनै बेलाका शिक्षक, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले त्यस्ता शिक्षकलाई ‘कामचोर’ का आरोप लगाएका छन् । शिक्षकहरुकै एक कार्यक्रममा बोल्दै उनले शिक्षकहरु ‘कामचोर’ प्रवृत्तिका भएको टिप्पणी गरेका हुन् । ‘हाम्रा शिक्षकहरु पढ्न भनेपछि दाँतबाट पसिना निकाल्छन्, देश, विदेशमा के कस्ता घटना भइरहेका छन् भन्ने बारेमा चासो नै दिँदैनन्’ उनले भने, ‘अपडेट नभएका शिक्षकले पढाउनै सक्तैन, विद्यालयमा पढाउन भनेर आएका कति शिक्षकहरु हाइहाइ गरेर कक्षामा निदाइरहेको म आफैंले देखेको छु ।’
अहिलेका शिक्षकहरु आफैंप्रति विश्वस्त छैनन्, यसको उदाहरण प्रत्येक सरकारी स्कुलमा पाइन्छ । ‘आफ्ना सन्तानलाई निजीमा पठाउने शिक्षकले अरुका सन्तानलाई मात्र राम्रो पढाउँछ भन्ने के ग्यारेन्टी ?’ ठिमीका एक अभिभावकले प्रश्न गर्दै थप्छन्, ‘यस्तो स्वभावका शिक्षकलाई कसले विश्वास गर्छ ?’ उनले सामुदायिक विद्यालय प्रति स्थानीयको विर्कषण हुनुको मुख्य दोष शिक्षक नै भएको बताए ।
विषयवस्तुको उच्च ज्ञान, शिक्षण कौशल, बाल मनोविज्ञानको ज्ञान, शिक्षण पद्दति, प्रविधि र प्रकृतिको ज्ञान, उत्तरदायित्वबोध, शिक्षण सामग्रीको ज्ञान तथा जिज्ञासु र अध्ययनशील, प्रयोग र अनुसन्धात्मक प्रवृत्ति, शिक्षण प्रक्रियाको ज्ञान र शिक्षाका नवीनतम् विश्व मान्यताहरु प्रति जिज्ञासु जस्ता वुंदाहरु शिक्षकका पेशागत गुणहरु हुन् । तर ती गुणहरुमा शिक्षकहरु ध्यानै नदिने स्वभावका भेटिने शान्ति निकेतन मावि भक्तपुरका प्रअ महेन्द्रगोपाल कर्माचार्यले भने ।
‘हामीकहाँ अन्त कहीँ काम नपाए पछि अब शिक्षक भए पनि बनौं न भन्ने सोच स्वयम् शिक्षकहरुमै छ, यही कारण उनीहरु शिक्षण पेशालाई सबभन्दा तल्लो तहको पेशाका रुपमा बुझ्छन्, उनले भने, ‘यस्तो सोच भएका शिक्षकले शिक्षण पेशा नै बद्नाम गराएको छ ।’
शिक्षालाई सपार्ने र बिगार्नेमा प्रमुख भूमिका शिक्षककै हुन्छ यसैले शिक्षक आफ्नो पेशाप्रति बफादार नभइ हुन्न । ‘शिक्षकहरु दश चार त बस्नु नै पर्छ, त्यो समय भित्र बसेर आफ्नो काम सम्पादन गर्ने व्यक्ति असल शिक्षक हुन्छ, तर अकिकाँश शिक्षकहरुमा स्कुलमा नबस्ने संस्कार छ ।’ भक्तपुर जिल्लाका जिशिअ अर्जुनबहादुर रायमाझीले भने ।
उनले शिक्षक आफैले अनुभूत गरेर आफ्नो पारिश्रमिक कहाँबाट आउँछ भन्ने कुरा चिन्तन गर्नुपर्नेमा जोड दिनुपर्ने भए पनि निक्कै थोरैमात्र शिक्षकहरु विद्यालय र विद्यार्थीप्रति जवाफदेही हुने गरेको पाइएको बताए । ‘शिक्षक आफै जागरुक हुनुपर्छ, मेरो पेशा के हो ? भन्ने ठम्याए पछि मात्र शिक्षक आफै जान्ने हुन्छन् ।’ उनले थपे ।
उनीमात्र नभएर जाजरकोटका जिशिअ ललितविक्रम सिंह पनि शिक्षकहरु नै पेशाप्रति जिम्मेवार नभएकोमा चिन्तित छन् । शिक्षण पेशा जागिर मात्रै हैन एउटा निष्ठा पनि हो । प्रभावकारी रुपमा उक्त निष्ठा पुरा गर्न सक्ने ब्यक्तिनै असल शिक्षक हुन सक्छ । तर यस्तो नहुँदा पेशागत गुणमा क्रमशः ¥हास आइरहेको सिंहले बताए ।
‘विगतमा राजनीतिक नियुक्ति पाएका, चाप्लुसी, चाकडी र प्रलोभनमा पारेर शिक्षक भएकाहरुमा शिक्षकमा हुनुपर्ने गुण नै छैन, जसको सिकारमा सिंगो विद्यालय परिरहेको छ ।’ उनले भने ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रमुख लेखनाथ पौडेलले पनि वर्सेनी सिकाइ उपलब्धि ऋणात्मक हुनुको दोषी शिक्षक नै भएको जनाए । उनले शिक्षकहरुले आफ्नो पेशागत धर्म निर्वाह नगर्ने तर शारीरिक रुपमा मात्र उपस्थिति हुने चरित्रले सामुदायिक शिक्षा खस्किरहेको बताए ।
‘शिक्षकले कक्षा कोठामा गर्नुपर्ने न्यूनतम क्रियाकलापमा समेत कञ्जुस्याइँ गरेबाट सिकाइ उपलब्धि घटेको छ, यसले शिक्षकहरु पेशाप्रति गम्भीर देखिँदैनन् ।’
प्रकाशित मिति २०७३ भदौ ६ गते
प्रतिक्रिया