भक्तपुर ६ भदौ / गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ ।
पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थिचेका भरमा तत्काल प्राप्त गर्न सक्नेछन् ।
यस्तो सुविधाबाट पाठ्यसामग्री प्राप्त गर्न एनरोइड सुविधा भएको मोबाइल फोन वा ट्याब्लेट आवश्यक छ । आईफोन वा आईप्याडमा भने यस्तो सुबिधा उपलब्ध हुन केही प्रतीक्षा गर्नुपर्ने केन्द्रको भनाइ छ ।
विनाविभागीय मन्त्री डीआर पौडेलले अब झोला बोकेर विद्यालय जाने प्रचलन हट्नुपर्छ र ग्याजेट बोके पुग्छ भन्दै थप्नुभयो, “विद्यालय जाँदा झोला बोक्ने परिपाटी विश्वमै हट्दैछ । अब हामीहरूले पनि अनिवार्य रूपमा पाठ्यपुस्तकका ठेली बोकेर विद्यालय जानुपर्ने बाध्यताबाट विद्यार्थीलाई मुक्त गराउनै पर्छ । ”
डाटाबाट एप्स डाउनलोड गर्दा सुरुमा बढीमा तीन रूपियाँ खर्च लाग्छ । केन्द्रले एप्समा थप सामग्री समावेश गर्दै जाने योजना बनाएको छ र डाउनलोड गरेपछि एप्स अटोअपडेट हुने सुविधा बनाइएको छ ।
केन्द्रले हाल कक्षा १ देखि १० सम्ममा पाठ्यक्रमलाई एप्समा राखेको छ । त्यस्तै कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तकलाई पनि डीसीसीनेपाल एप्समा राखिएको छ । केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्मकै पाठ्यक्रम र पाठ्यपुस्तकलाई राख्ने योजना रहेको जानकारी दिनुभयो ।
केन्द्रले साधारण धारबाहेक प्राविधिकतर्फको कक्षा ९–१२ को पशुविज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र वनस्पति विज्ञानको पाठ्यक्रम तथा पाठ्यसामग्रीलाई पनि एप्समा केही दिनमै समावेश गर्ने भएको छ । एप्समा शिक्षक निर्देशिका, मातृभाषाका पाठ्यसामग्री, शिक्षकका लागि थप सामग्री, पाठ्यक्रमसम्बन्धी सूचना तथा जानकारी लगायतको सुविधा छ ।
यसैबीच, केन्द्रले आइतबार पहिलोपटक पाठ्यक्रम दिवस मनाएको छ । त्यस अवसरमा विनाविभागीय मन्त्री डीआर पौडेलले प्रविधिमैत्री पाठ्यक्रम विकास गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया