हेटौंडा - आफ्नै जग्गा प्रदान गरी विद्यालय स्थापना गरेका दुई जना संस्थापकलाई सम्मान सहित विविध कार्यक्रम गर्दै ज्योति उच्च माध्यमिक विद्यालय हर्नामाडीले आफ्नो स्वर्ण जयन्ती मनाएको छ । २०२४ सालमा दुई दुई गठ्ठा प्रदान गरेका संस्थापक द्वय गोविन्द बहादुर महत र नरबहादुर बराललाई सम्मान गरिएको हो । मध्यमाञ्चलका क्षेत्रीय प्रशासक डा. लवदेव अवस्थी, प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विक र जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
उक्त अवसरमा प्रमुख अतिथी अवस्थीले स्वर्ण जयन्ती विशेष स्मारिकाको विमोचन पनि गरे । स्तम्भमा विद्यालयलाई आर्थिक सहयोग गर्ने दुई सय १४ दाताको नाम अङ्कित गरिएको छ । २०४० सालदेखि हालसम्म विद्यालयले १ हजार १ सय ९८ जनाले एसएलसी परीक्षा उत्तीर्ण गराइसकेको स्वर्ण जयन्ती विशेष स्मारिकाका सम्पादक तथा विद्यालयका शिक्षक राम अविकासले बताए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यालयबाट शिक्षा हासिल गरी राष्ट्रियस्तरमा ख्याति कमाउन सफल मूर्तिकार लक्ष्मण भुजेल, डा. तारालाल श्रेष्ठ, सञ्चारकर्मी तथा कथाकार अभिमन्यू निरवी र २०७३ सालको एसएलसी परीक्षामा उत्कृष्ट छात्रा सरिना पराजुलीलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
यस्तै विद्यालयलाई जग्गा दान गर्ने जगतबहादुर बानियाँ, हर्क रम्तेल, रामबाबु बानियाँ, ऋषिलाल श्रेष्ठ, शम्भु भण्डारी, अरुण खतिवडा, रुद्र नारायण श्रेष्ठ, रविन्द्र बहादुर सुर्खेती, रामप्रसादरखोडप्रसाद आचार्य, रामबहादुर र मोहन बानियाँ, चुनु कार्की, पदम बहादुर ढुंगाना, फूलमाया र रत्नकुमारी घलान, चेतनाथ र सोमकुमार आचार्यलाई सम्मान गरिएको थियो । यसै अवसरमा विद्यालयका पूर्व प्राधानाध्यापक, पूर्व शिक्षक, व्यवस्थापन समितिका पूर्व अध्यक्षहरूलाई विद्यालय निरीक्षक देवनारायण चौधरी, स्रोत व्यक्ति केशव सञ्जेल र विद्यालयका प्राचार्य रामसदय सिंहले सम्मान गरेका थिए ।
स्वर्ण जयन्तीको अवसरमा विद्यार्थीहरुले गायन, नृत्य कला समेत प्रस्तुत गरेका थिए ।
स्वर्ण जयन्ती विशेष समारोहमा राजनीतिक दलका प्रतिनिधी, अभिभावक, विद्यार्थी, स्थानीय समाजसेवीको पनि उल्लेख्य उपस्थिति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण सुवेदीले बताए ।
प्रकाशित मिति त२०७३ भदौ १ गते
प्रतिक्रिया