- सुरेन्द्र सुमन / जाजरकोट - विद्यार्थी संगठन के का लागि खुलेका हुन् ? विद्यालय उमेरका केटाकेटीलाइ दलको कार्यकर्ता बनाउन कि शिक्षा र विद्यार्थीका सरोकारबारे छलफल गर्न ? झीनो भए पनि बहस निरन्तर छ, तर निष्कर्ष सकारात्मक छैन ।
दलका भातृ संगठनले आफूलाई विद्यार्थी बताए पनि उनीहरुले कहिल्यै शिक्षाका मुद्दामा चासो लिने नगरेका सरोकारवालाहरुको आरोप छ । ठूलो दल भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्रका विद्यार्थी संगठन वा साना दलका विद्यार्थी संगठन उनीहरुको मूल उद्देश्य कक्षा सपार्ने भन्दा विद्यार्थीलाई संगठनको सदस्य बनाएर राजनीतिक गतिविधिमा संलग्न गराउने गर्दा आरोप पुष्टि हुँदै पनि गएको छ ।
पछिल्लो उदाहरण हो रुकुममा एमाले अखिलले विद्यालय तहमा गरेको राजनीति । भर्खर आधारभूत तहको कक्षामा अध्ययन गरिरहेका केटाकेटीलाइ अखिलले संगठन विस्तारका नाममा सदस्यता दिएको छ । कक्षा ७ का विद्यार्थी संगठनमा आवद्ध भएपछि उनीहरुको शैक्षिक विकासमा के प्रगति हुन्छ भन्ने बारे भने जिल्ला अखिल सित जवाफ छैन ।
जिल्ला अखिलका एक नेता भन्छन्, हामीले संगठन विस्तार गरेपछि शैक्षिक तथा राजनीतिक दुवै चेतना बढ्छ ।
तर कसरी ? त्यसको उत्तर उनीहरु दिन सक्दैनन् ।
त्रिवेणी निम्न माध्यमिक विद्यालय आठविसकोट ६ डाँडागाउँमा प्रारम्भिक कमिटी गठन गरिएको अखिलले जनाएको छ ।
अखिको यस गतिविधिको स्थानीय शिक्षा सरोकारवाला तथा वुद्धिजीविले शारिरिक, मानसिक तथा संवेगात्मक विकास नभएका बालबालिकालाई दल विशेषको राजनीतिक प्रशिक्षण दिएर संगठित गराउनु दुर्भाग्यपुर्ण भएको भन्दै आलोचना गरेका छन् ।
‘पढाइ र सिकाइमै परिपक्क नभइसकेकलाई दलमा आवद्ध गराउनु दुर्भाग्य पूर्ण र आलोच्य छ,’ जाजरकोटकामा लामो समय देखि शिक्षण पेसामा आबद्ध राजेन्द्र कार्कीले भने, ‘उनीहरुको उमेर पार्टीको नीति र सिद्धान्त बुझ्ने तहको छैन । यसले न पार्टीलाई फाइदा गर्छ न समाजलाइ ।’
एउटा विद्यार्थी संगठनले कमिटि बनाए पछि अरु दलका संगठनका विद्यार्थी पनि आउने र त्यसले पठन पाठनमा प्रभाव पार्ने शिक्षकहरु बताउँछन् । विद्यार्थी भने आफूहरुलाई दलबारे केही जानकारी नभएको, दाइहरु आएर कमिटी बनाउनु पर्छ भने पनि कमिटीमा बसेको बताउँछन् ।
अखिलका जिल्ला कमिटि सचिवालय सदस्य भिमबहादुर सार्कीले निमावि तहका विद्यार्थीलाई समेटेर प्रारम्भिक कमिटि निर्माण गरेको बताए । नागरिक समाजका अगुवा केशवजंग शाहले यो उमेरका केटाकेटी देखासिकी र साथीहरुको लहलहैमा लागेर प्रभावित हुने भएकोले यस्तो कार्यले बालबालिकाको पढाई लेखाईमा प्रभाव पर्ने भन्दै चिन्ता व्यक्त गरे ।
राजनीतिक दल र तिनका भातृ संगठनहरुले बालबालिकाको चौतर्फी विकासका क्रियाकलापहरु सञ्चालन गरेर शैक्षिक तथा उनीहरुको वौद्धिक विकासमा योगदान गर्नु पर्ने बेला दलको झण्डा बोकाएर उनीहरुको सोचमाथि प्रहार गर्नु उपयुक्त नहुने उनको तर्क छ ।
उनले भने, ‘कुन दल छान्ने भोलि उनीहरुले मूल्यांकन गर्छन्, गर्न सक्छन् । आज उनीहरुलाई यो दल यस कारण ठीक भने ज्ञान हुने शिक्षा दिन तिर लाग्नु जरुरी छ ।’
सरकाले शिक्षा ऐनमै व्यवस्था गरेर शिक्षकहरुलाई भने राजनीतिक दलको सदस्य हुन रोक लगाएको छ । विद्यार्थीको हकमा भने ऐनमा केही उल्लेख छैन ।
प्रकाशित मिति २०७३ साउन २८ गते
प्रतिक्रिया