- पार्वती थापा मगर / पोखरा -नयाँ संविधानले निर्धारण गरेका सात प्रदेश मध्ये प्रदेश नम्बर ४ अर्थात पोखरा केन्द्र बनाइएको प्रदेश धेरै हिसाबले विशिष्ठ प्रदेश हो । भौगोलिक संरचनाको हिसाबले हिमालदेखि तराई मात्रै हैन दुवै छिमेकी चीन र भारतलाई यो प्रदेशले छोएको छ । उत्तरमा पर्ने मनाङ्ग र मुस्ताङ्गले चीनको तिब्बतलाई जोडेको छ भने दक्षिणमा पर्ने नवलपरासीले भारतलाई जोडेको छ ।
यहाँको भूगोल, जातीय परम्परा तथा प्राकृतिक तथा धार्मिक सम्पदाहरुको साइनो पर्यटनसँग गाँसिएको छ । त्यसैले संघीयतामा प्रदेश नम्बर ४ को शिक्षा नीति तय गर्दा यहाँको भौगोलिक संरचना र सामाजिक संरचनाको बारेमा बुझ्न सक्ने जनशक्ति उत्पादन गर्ने गरी तयार गर्नुपर्ने बताउँछन् उपप्राध्यापक तथा समाजशास्त्री डा. शुक्रराज अधिकारी । शिक्षालाई जीविकोपार्जनसंग जोड्न नसक्दा नै अहिले धेरै खाले समस्या आईरहेको उनको भनाई छ । जीविकोपार्जनको विषय बनाउन नसकेका कारण नेपालका शिक्षालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने केन्द्रको रुपमा परिभाषित हुँदै गएका छन् । मुलुकका शिक्षित युवाहरु विदेश पलायत हुने अवस्था सिर्जना भएको छ ।
यो प्रदेशको भूगोल, जातीय परम्परा तथा प्राकृतिक तथा धार्मिक सम्पदाहरुको साइनो पर्यटनसँग गाँसिएको छ । जसको कारण क्षेत्र क्षेत्रलाई पर्यटकीय क्षेत्र भनिँदै आएको छ । मुलुकमा आउने पर्यटकहरु मध्ये ६० प्रतिशतभन्दा बढी पर्यटक यही क्षेत्रमा पुग्छन् । धार्मिक, संस्कृतिक तथा पर्वतीय पर्यटन, सहासिक पर्यटन, पैदलत्राया लगायतयका पर्यटकीय गतिविधिको संभावना यस प्रदेशले बोकेको छ ।
त्यसैले यो प्रदेशमा सञ्चालन हुने शैक्षिक गतिविधिहरु पर्यटनसँग गाँस्न सकियो भने बल्ल शिक्षालाई जिविकोपार्जनसँग जोड्न सकिने पोखराको कालिका बहुमुखी क्याम्पसका उपप्राध्यापक अधिकारीको निष्कर्ष छ । सोही अनुसारको शिक्षा दिन सकेमा यहाँको जनशक्ति कामको खोजीमा विदेश जानुपर्ने अवस्था नरहने समाजशास्त्री डा.अधिकारीको दावी छ । उनी भन्छन्, 'शिक्षा सीपमूलक भयो भने त्यसले व्यवसाय सिर्जना गर्छ । प्रदेश नम्बर ४ मा यो संभव छ ।'
प्राकृतिक सम्पदाको हिसाबले पनि यो प्रदेश विशिष्ठ रहेको छ । धौलागिरी, अन्नपूर्ण, माछापुच्छ«े, मनास्लु हिमश्रृङ्गखला, कास्कीका ९ ताल मात्रै होइन अन्य थुप्रै हिम चुचुरा र पर्वतीय श्रृङ्गखलाहरु यस प्रदेशमा रहेका छन् । विश्व सम्पदा सूचीमा रहेको मुस्ताङ्गको लोमान्थाङ्ग एउटा महत्वपूर्ण सम्पदा हो भने प्रशिद्ध धार्मिक केन्द्रहरु पनि यस क्षेत्रमा छन् । मुस्ताङ्गको मुक्तिनाथ, म्याग्दीको गलेश्वर, बाग्लुङ्गको कालिका मन्दिर, कास्कीको विन्दवासिनी, तालवाराही, भद्रकाली, पर्वतको गुप्तेश्वर महादेव, तनहुँको ढोर र छाब्दी वाराही, थानी माई लमजुङ्गको लमजुङ्ग कालिका र उदीपुर कालिका, गोर्खाको गोरखादरबार, गोरख कालिका, मनकामना, पाल्पाको भैरबस्थान, गुल्मीको रिडी नवलपरासीको मौलाकालिका आदि यस क्षेत्रका उल्लेखनीय धार्मिक सम्पदाहरु हुन् ।
जनसंख्याको हिसाबले पनि यो प्रदेशलाई विशिष्ठ मानिएको छ । मुलुकका मुख्य जनजातिहरु गुरुङ्ग, मगर, तामा«ङ्ग, थकाली, थारु जातिहरुको बाक्लो बस्ती यसै प्रदेशमा रहेको छ । जनसंख्याको पछिल्लो तथ्याङ्क अनुसार यस क्षेत्रको कूल जनसंख्याको १७.४३ प्रतिशत मगर जातिहरुको जनसंख्या रहेको छ भने १०.२७ प्रतिशत गुरुङ्क जातिहरुको बस्ती रहेको छ । त्यसैगरी पहाडी बाहुनको जनसंख्या १७.२७ र क्षेत्रीको १२.३४ प्रतिशत जनसंख्या रहेको छ ।
प्राकृतिक श्रोतको हिसाबले पनि अत्यान्तै महत्वपूर्ण रहेको यो प्रदेशको मुस्ताङ्गमा युरेनियमको खानी रहेको संभावना रहेको छ भने उक्त खानीलाई सञ्चालन गर्ने तयारी सरकारले पनि गरेको छ । त्यसैगरी जलश्रोतको धनी प्रदेशको रुपमा यसलाई मानिएको छ । अहिले पनि मुलुकको ६० प्रतिशतभन्दा बढी जलविद्युत उत्पादन यसै क्षेत्रमा भएको छ । कालिगण्डकी, मस्र्याङ्गदी, मादी, मदी जलविद्युत आयोजना यसको उदाहरण हुन् । त्यसको साथै बुढीगण्डकी लगायतका महत्वपूर्ण जलविद्युत आयोजनाहरु यसै प्रदेशमा सञ्चालनको तयारीमा रहेका छन् । त्यसको लागि आवश्यक जनशक्तिहरु उत्पादन गर्ने गरी शिक्षा नीति र पद्धती तय गर्नुपर्ने सुझाव छ पोखराको पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक बामदेव गौतमको ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, मनास्लु संरक्षण क्षेत्र आयोजना, ढोरपाटन शिकार आरक्ष पनि प्राकृतिक सम्पदाको साथसाथमा पर्यटीय गतिविधिसँग जोडिएका छन् । ती क्षेत्र वरपर हाल १ हजारभन्दा बढी होटल व्यवसायहरु सञ्चालन भैसकेका छन् भने यस प्रदेशको निर्विवाद केन्द्र मानिएको पोखरा अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको रुपमा समेत विकसिन हुने संभावना रहेको छ । सामाजिक अभियान्ता तथा अधिवक्ता सुरेन्द्र थापामगर भन्छन् - 'केन्द्रीकृत शिक्षा पद्धतीलाई चिरेर अव कक्षा १० सम्म पढेको विद्यार्थीले आफ्नो प्रदेशको बारेमा जानकारी राख्ने गरी र कक्षा १२सम्म बढेको विद्यार्थीले आफ्नो घरठाँउमै बसेर आफूले गर्ने पेशाको बारेमा ज्ञान पाउने गरी शिक्षाका कार्यक्रमहरु तय गरिनुपर्छ ।'
प्रदेश नम्बर ४ कृषि, फलफूल र पशुपालनको हिसाबले पनि त्यतिकै महत्वपूर्ण मानिएको छ । तराईको समथर फाँटमा कृषि, पहाडी क्षेत्र कृषिको साथसाथमा फलफूल र हिमाली क्षेत्र पशुपालनको महत्वपूर्ण क्षेत्र मानिएको छ । गोर्खाको पालुङ्गटार, साइलीटार लमजुङ्गको अल्काटार, हाँडेटार, कोइराला फाँट, तनहुँको साँघे, पाल्पाको रामपुर, कास्कीको, स्याङ्गजाको आँधीखोला, पर्वतको ग्यादी आदि पहाडी क्षेत्रका मुख्य कृषि कर्म हुने स्थानहरु हुन् । त्यसलाई पनि पर्यटनसँगै जोड्ने प्रयास गरिएको छ । पोखरामा हरेक बर्षको असार १५ अर्थात धान दिवसलाई रोपाई महोत्सवको रुपमा मनाउई स्वदेशी तथा विदेशी पर्यटकलाई सहभागी गराउने अभियान त्यसको एउटा उदाहरण बनेको छ । त्यसको साथसाथमा ग्लाइडिङ्ग, प्याराग्लाइडिङ्ग, ¥याफ्टिङ्ग, बन्जी, कायकिङ्ग, रक क्लाइम्बिङ्ग, क्यानोनिङ्ग लगायतका सहासिक पर्यटकको गतिविधिहरु पनि बढ्दै गएको कारण यस क्षेत्रमा ती गतिविधिका लागि ठूलो संख्यामा जनशक्तिको माग भएको पर्यटन व्यवसायी बासु त्रिपाठी बताउँछन् । त्यसको लागि पनि पाठ्यक्रम र पाठ्यपुस्तक तय गरी लागू गर्नुपर्ने उनको सुझाव छ ।
जातीय तथा भौगोलिक विविधता र ती विविधतालाई कुनै न कुनै रुपमा पर्यटनसँग जोड्ने प्रयास गरिएको प्रदेश नम्बर ४ मा सोही अनुसारको शिक्षा प्रदान गरी जनशक्तिको उत्पादन गर्न सकेमा भौतिक विकास त छँदै छ आर्थिक विकासको केन्द्र बन्ने संभावना पनि त्यतिकै रहेको छ । कृषि उत्पादनको साथ साथमा पर्यटकीय गतिविधिलाई चाहिने आवश्यक जनशक्तिको यस क्षेत्रमा अझै अभाव रहेको छ भने पर्यटन क्षेत्रको लागि मुलुकको अन्य प्रदेशबाट तथा विदेशबाट समेत जनशक्तिको आयात हुने गरेको छ । प्रदेश नम्बर ४का पेशकर्मी, जातजाति, भाषभाषी जुनसुकै क्षेत्रलाई पन पर्यनसँग गाँसिएको कारण यहाँको जनशक्ति कामखोज्न बाहिर जानुपर्ने अवस्था नरहेकोले शिक्षाको नीति निर्माताहरुले त्यसमा ध्यान दिन सुझाव छ महेन्द्र उच्च मावि भलाम कास्कीका शिक्षक डिल्लिराम देवकोटाको ।
प्रदेशको आवश्यकता र माग अनुसारको शैक्षिक गतिविधि सञ्चालन गर्नको लागि यस ४ नम्बर प्रदेशका जनशक्ति व्यवस्थापनमा पनि सहज देखिएको छ । मिश्रित जनसांख्यिक अवस्था रहेको कारण यहाँको शैक्षित जनशक्ति अहिले पनि जातीय मिश्रित रहेको र उनीहरुलाई नै परिचालन गर्न सकिने अवस्था देखिएको छ । यहाँका जातजातिहरुको आफ्नै भाषा रहेकोलु बहुभाषाका शिक्षा सञ्चालन गर्नको लागि सोही अनुसारका जातीय जनशक्तिहरु रहेकोले कुनै समस्या नहुने दावी पनि उपप्राध्यापक बामदेव पौडेलको छ ।
यसै प्रदेशमा पोखरा विश्वविद्यालय, मुलुककै धेरै विद्यार्थी संख्या रहेको र पूर्वाधारको हिसाबले विश्वविद्यालयकै हाराहारीमा रहेको पृथ्वीनारायण क्याम्पसको कारणबाट पनि जनशक्ति व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ । उपप्राध्यापक तथा समाजशास्त्री शुक्रराज अधिकारी पनि ४ नम्बर प्रादेशिक शैक्षिक नीति र पाठ्यक्रम तय गर्नको लागि यिनी संस्थालाई जिम्मा दिएपनि हुने सुझाव दिन्छन् ।
निश्कर्षमा के भन्न सकिन्छ भने प्रदेश नम्बर ४ मुलुककै पर्यटकीय केन्द्र मानिदै आएकोछ । यहाँको भौगोलिक, जातीय, भाषिक विविधतहरु र सम्पदाहरु पर्यटकीय गतिविधिका आकर्षण बन्दै आएका छन् । स्थानीयस्तरमा गरिने सम्पूर्ण गतिविधिहरुलाई पर्यटन गतिविधिसँग जोड्ने प्रयास भैरहेको छ । त्यसैले प्रदेश नम्बरको शिक्षा नीति र कार्यक्रम तय गर्दा पर्यटन शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा त्यस क्षेत्रमा बस्ने कसैको पनि दुइमत पाइँदैन ।
(यूनेस्को काठमाडौंको सहयोगमा एडुखबर डटकमले तयार पारेको रेडियो कार्यक्रम ’संघीयतामा शिक्षा’ मा समाबेश भएको सामग्रीमा आधारित, उक्त कार्यक्रम संघीय संरचना अनुसार निर्माण भएका प्रदेशलाई केन्द्रमा राखेर विभिन्न सातवटा एफ एम रेडियो स्टेशन मार्फत् प्रशारण हुँदै आएको छ । रेडियो पश्चिम टुडे धनगढी, रेडियो जाजरकोट, कृष्णसार एफ एफ नेपालगञ्ज, रेडियो तरंग, पोखरा, रेडियो त्रिवेणी, भरतपुर, रेडियो पूर्वेली आवाज, विराटनगरबाट हरेक बिहीबार विहान ७ः३० बजे र काठमाडौं उपत्यकामा रेडियो थाहा सञ्चारबाट हरेक बिहीबार विहान ८ः०० बजे प्रशारण हुन्छ । रेडियो स्टेशनका अलावा उक्त कार्यक्रम www.edukhabar.com र एण्ड्रोईड एप edunepal बाट जुनसुकै बेला सुन्न सकिने छ ।)
रेडियो तरंगका पत्रकारहरु हिमनिधि लौडारी र पार्वती थापामगरले तयार पारेका सामग्री सहितको उक्त कार्यक्रम सुन्न यहाँ क्लिक गर्नुहोस् ।
* सच्याईएको - सं.
प्रकाशित मिति २०७३ साउन २७ गते
प्रतिक्रिया