काठमाडौं २७ साउन / जिल्ला शिक्षा कार्यालय बाँकेले मुस्लिम धार्मिक मर्यादाअनुसार विद्यार्थीलाई पोसाक लगाउन दिन सामुदायिक तथा निजी विद्यालयलाई परिपत्र गरेको छ ।
मदरसा इस्लामिक संघ केन्द्रीय कार्यालय काठमाडौंले मुस्लिम बालिकालाई विद्यालयले तोकेको पोसाक लगाएर विद्यालय जान अप्ठेरो परेर विद्यालय छाडेको जनाएपछि शिक्षाले धार्मिक पोसाक लगाउन दिन अनुमति दिएको हो । अधिकांश सार्वजनिक विद्यालयमा पोसाक मिड्डी र सर्ट तोकिएको छ । पोसाककै कारण विद्यालय छाड्न थालेकाले विद्यालयले तोकेको रङमा सरवाल, कुर्ता लगाउन छुट दिन आग्रह गरेपछि परिपत्र गरेको हो ।
धार्मिक मान्यतालाई आत्मसात् गरी सर्ट र मिड्डी लगाउनुपर्ने बाध्यात्मक नियमलाई परिमार्जन गरी विद्यार्थीको इच्छाअनुसार विद्यालयले छानेको रङकै पोसाक लगाउन छुट दिन परिपत्र गरेको सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बताए । पोसाककै कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोउन् भन्ने उद्देश्यले यस्तो परिपत्र गरेको सहायक जिशिअ थापाको भनाइ छ । ‘पोसाकले विद्यार्थीको भविष्य नबिगार्न आसयसहितको परिपत्र विद्यालयलाई पठाएका छौ,’ उनले भने ।
विद्यालय छाड्न थालेपछि समस्या
नेपालगन्जको गोल्डेन एबिसीले तोकेकै पोसाकमै आउनुपर्ने जनाएपछि मुस्लिम बालिकालाई समस्या भएको थियो । कतिपय छात्रा विद्यालय जानै छाडेका थिए । सो विद्यालयलाई पनि तत्कालै परिपत्र गरेको थापाले बताए । उनले भने, ‘हाल गोल्डेन एबिसीलाई मात्र पठाइएको छ, केही दिनभित्र बााकेका सबै विद्यालयलाई विद्यालयले तोकेको रङमा धार्मिक मर्यादाअनुसारको पोसाक लगाउन दिन परिपत्र गरिनेछ ।’
मुस्लिम अगुवा एवं पत्रकार सकिल अहमद कादरीले निजी विद्यालयले तोकेको सर्ट, पाइन्ट र मिड्डीका कारण मुस्लिम बालिका विद्यालय छाड्न बाध्य भएको बताए । उनले पोसाककै कारण मुस्लिम समुदायका धेरै बालिकाले विद्यालय छाडिसकेको बताए ।
विद्यालय छाडेको जानकारी छैन: सहायक जिशिअ
सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले पोसाककै कारण मुस्लिम बालिकाले विद्यालय छाडेको जानकारी नआएको बताए । पोसाकको समस्या पहिलोपटक आएको भन्दै उनले विद्यालय छाड्नेको यकिन तथ्यांक नभएको बताए । ‘पोसाकको समस्या पहिलोपटक आएको छ, समस्या आउनासाथ धार्मिक मान्यताअनुसारको पोसाकको व्यवस्था गर्न परिपत्र गरेका छौा,’ उनले भने । कुनै पनि बालिकालाई पोसाककै कारण शिक्षाबाट वञ्चित हुने अवस्था आउन नदिने उनको भनाइ छ ।
नयाँ पत्रिकामा विश्वराज पछल्डङ्ग्याले लेखेका छन् ।
प्रतिक्रिया