Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

सधैं अब्बल रञ्जन

मंगलबार, २५ साउन २०७३

झापा- कक्षामा होस् या पेसामा, सधैं अरूभन्दा अब्बल हुनुपर्ने मान्यता राख्थे पाइलट रञ्जन लिम्बू। स्कुलमा कहिल्यै दोस्रो हुनुनपरेका उनले पाइलट कोर्स पनि सहपाठीभन्दा दुई वर्षअघि नै पूरा गरे। र, जहाज उडाउने सानैदेखिको सपना अरूभन्दा छिट्टै साकार पारे।

तर, दुर्भाग्य! रञ्जनका बाँकी सपना भने अधुरै रहे। हेलिकोप्टर दुर्घटनामा कलिलै उमेरमा ज्यान गुमाए उनले।

सोमबार दिउँसो गोरखाको फिलिमबाट काठमाडौंका लागि उडेको फिस्टेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भयो। पाइलट रञ्जनसहित त्यसमा सवार सातै जनाको मृत्यु भएको खबर फैलियो। त्यसयता झापा, धाइजन–६, पिपलडाँगीस्थित उनको घर शोकमा डुबेको छ। आमा शान्ताकुमारी अर्धचेत अवस्थामा छिन्। उनीहरूलाई सान्त्वना दिन छिमेकी र आफन्त झुम्मिएका छन्। बाबु भक्त पीडा लुकाएर इष्टमित्रलाई घटनाबारे बताउँदै छन्। 'लागेको कुरा गर्ने, अरूभन्दा फर्स्ट हुनुपर्ने जिद्दी खालको थियो,' दुईमध्ये कान्छा छोरा रञ्जनको स्वभावबारे उनले भने, 'आफ्नो लक्ष्य छिट्टै पूरा गर्‍यो अनि चाँडै सधैंका लागि गयो पनि।'

नर्सरीदेखि एसएलसीसम्म एउटै बेन्चमा बसेका सहपाठी  सुमन कार्कीका अनुसार कक्षामा शिक्षकले 'भविष्यमा तिमी के बन्छौ' भनेर सोध्दा रञ्जनको एउटै जवाफ हुन्थ्यो– पाइलट। २०६३ मा एसएलसी सक्नासाथ उनले घरमा पाइलट कोर्स पढ्ने योजना सुनाएका थिए। त्यस बेला भक्तले केही भनेनन्। आमा शान्ताले चाहिँ 'जीवन सधैं खतरामा पर्ने काममा किन हात हाल्नु' भन्दै धेरैपटक सम्झाइन्। आमालाई आश्वस्त पार्न उनले भनेका थिए, 'मरिन्छ भन्ने डरले जहाज कसैले नउडाउने हो भने संसार कसरी चल्छ?' जस्तोसुकै अवस्थामा जोकसैलाई पनि तर्कले 'कन्भिन्स' गराउन सक्ने स्वभावका थिए  उनी। सन्तानको इच्छालाई अभिभावकले टार्न चाहेनन्।

गोर्खा ब्रिटिस आर्मीका अवकाशप्राप्त भक्त हङकङमा कार्यरत छँदा २०४६ असार १० गते उतै जन्मेका थिए रञ्जन। १८ दिनको हुँदा उनलाई झापा, धाइजनको घरमा ल्याएका थिए उनले। त्यसपछि उनको शिक्षादीक्षा चारआलीस्थित लिटिल एन्जल अंग्रेजी स्कुलमा सुरु भयो। चित्रकला र फोटोग्राफीमा रुचि राख्ने उनी विद्यालय तहका प्रतिस्पर्धामा सधैं पहिलो हुन्थे। 'लागिसकेपछि त्यसमा उत्कृष्ट नै हुने उसको बानी थियो,' शिक्षक मानबहादुर शेर्पाले सम्भि्कए, 'ज्यादै अनुशासित, मेहनती र मिलनसार थियो।'

राजधानीका किङ्स र क्याप्टेन कलेजबाट 'ए' लेभल पढाइ पूरा गरेपछि उनी पाइलट कोर्स गर्न संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियातिर लागे।

ब्रिटिस आर्मीबाट बिदा लिएर नेपालमा राजनीतिक जीवन सुरु गरेका भक्तलाई छोराको पढाइखर्च जुटाउन सजिलो भने थिएन। 'कम्तीमा ५५ लाख रुपैयाँ लाग्ने रहेछ,' उनले भने, 'घरखेत सबै बैंकमा राख्दा ४५ लाख आयो, त्यही पैसा दिएर पठाएँ।' उनका अनुसार उक्त ऋण दिन बैंकले बलियो आयस्रोत खोजेपछि उनी सुरक्षागार्डको काम गर्न ब्रुनाई गए। त्यहाँ ६ वर्ष काम गरे। 'राजनीतिक जीवन त्यागेर छोराको इच्छा पूरा गर्न त्यता गएँ', अहिले संघीय लिम्बूवान पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष रहेका भक्तले भने, 'मैले त्यसो नगरेको भए छोरो डिप्रेसनमा डुब्थ्यो होला।' तर, रञ्जनले बुबाको मेहनत खेर जान दिएनन्, पढाइ पूरा गरे। सँगै पढेका दुई साथीभन्दा दुई वर्षअगाडि नै क्याप्टेन बनिसकेका थिए उनी।

२७ वर्षीय रञ्जनले २१ वर्षको उमेरमै को–पाइलटको हैसियत बनाए। तीन वर्षअघि उनी क्याप्टेन बनेका थिए। त्यसयता उनी फिस्टेल एयरसँगै जोडिए। माछामासु र मदिराको संगतबाट टाढै रहेका उनी सानैदेखि प्रविधिप्रेमी थिए। 'अलिकति पैसा हुँदा खानपिन गरेर रमाइलो गर्ने हाम्रो बानी थियो,' साथी सुमनले भने, 'ऊचाहिँ कि भिडियो गेम कि क्यालकुलेटर लिन्थ्यो।'

गत वैशाखमा दाजु राकेशको बिहेका बेला घर आएका थिए रञ्जन। दुई सातासम्म बसेका थिए। त्यही मौकामा उनले परिवारलाई हेलिकोप्टरमा पाथीभरा क्षेत्र घुमाए। बाबु भक्तले देखे, जब बादल आउँछ रञ्जन 'हेली' अर्कैतिर मोड्थे। उनले सोधे पनि, 'किन बादलसँग तर्काएको?' रञ्जनले 'हेलिकोप्टर बादलमा पस्यो कि सक्किइगो' भनेर जवाफ दिएका थिए।

'सायद आज बादलभित्रै पस्यो होला,' भक्तले भने, 'त्यही भएर सक्कियो, उसले पेसा नै रिस्कको रोजेको थियो।'

अबको नौ महिनापछि काठमाडौंमा घर किन्ने अनि बिहे गर्ने योजनामा थिए रञ्जन। 'मेरो बिहेमा धेरै खर्च लाग्छ, पढेको ऋण पनि उठाउनु छ,' भक्तले छोराको भनाइ सम्भि्कए, 'चिन्ता नलिनू, म केही वर्षमै सबै कुरा फत्ते गर्छु भन्थ्यो।'

काठमाडौं, चाबहिलमा डेरा गरेर बस्दै आएका रञ्जन कुनै पनि विषयमा लामो भूमिका बाँध्दैनथे। आइतबार दिउँसो उनले फोनमा दाजु राकेशसँग छोटो कुरा गरेका रहेछन्। त्यति बेला आमा, बुबा र भाउजूको हालचाल सोधेका थिए। फोन राख्ने बेला बिदा मिल्यो भने चाँडै घर आउने बताएका थिए।

उनलाई घर ल्याउन मंगलबार परिवार राजधानी जाँदै छ। तर, यसपटक माहोल पहिलेजस्तो हुनेछैन किनभने उनको निर्जीव शरीर मात्रै झापा आइपुग्दै छ।

राजु अधिकारीले नागरिकमा लेखेको खबर ।

प्रतिक्रिया