काठमाडौं १३ साउन / अछाममा २०६२ साल वैशाखमा कक्षा १ मा जम्म ३० हजार आठ सय ७३ विद्यार्थी भर्ना भए । त्यो वर्ष कक्षा १ मा भर्ना भएका विद्यार्थीले १० वर्षपछि अर्थात् २०७१ सालमा एसएलसी परीक्षा दिँदा करिब सात गुणाभन्दा बढी विद्यार्थी बीचमै हराए ।
३० हजार आठ सयबाट विद्यार्थी हराउँदै एसएलसीसम्म पुग्दा जम्मा चार हजार मात्र बँचे । त्यो वर्ष मात्र यतिका विद्यार्थी हराएका होइनन्, कक्षा १ मा भर्ना भएकामध्ये एसएलसी दिने बेलासम्म सात/आठ गुणाभन्दा बढी विद्यार्थी बीचमै हराउने गर्छन् ।
यतिको संख्यामा विद्यार्थी कक्षा छोडेर कता जान्छन् त ? अछामका जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले कक्षा १ मा भर्ना भएकामध्ये केही उमेर कम भएका कारण त्यही कक्षामा रहेका र केही उत्तीर्ण हुन नसकेर कक्षा दोहोर्याउने गरेको बताए । ‘त्यसमध्ये केही बसाइसराइ गरेर अन्यत्र जिल्ला गए भने केही पढाइनै छोडेर बसे', जिशिअ विष्टले भने, ‘त्यसमध्ये पढाइ छोडेर भागेकाको संख्या धेरै छ ।'
जिल्ला शिक्षा कार्यालयको तथ्यांकअनुसार कक्षा दोहोर्याउने विद्यार्थीको संख्या २२ दशमलब १३ प्रतिशत छ भने कक्षा छोड्ने दर १९ दशमलब सात प्रतिशत छ । उत्तीर्ण भएर माथिल्लो कक्षामा जाने विद्यार्थीको संख्या ५८ दशमलब २९ प्रतिशत मात्र छ । जिल्ला शिक्षाको अर्को तथ्यांकअनुसार प्राथमिक तहमा रहेका कुल विद्यार्थीमध्ये ३६ दशमलब ५३ प्रतिशत विद्यार्थी मात्र निमावि तहमा पुग्ने गर्छन् ।
निमावि तहमा रहेका पनि सबै विद्यार्थी मावि तहमा पुग्दैनन् । निमावि तहमै करिब ४५ प्रतिशत विद्यार्थी हराएर मावि तहमा जम्मा ५५ प्रतिशत विद्यार्थी मात्र पुग्छन् । मावि तहबाट उच्च मावि तहमा जाने विद्यार्थीको संख्या त झन् नगन्य मात्र छ । मावि तहबाट जम्मा साढे नौ प्रतिशत मात्र विद्यार्थी उच्च माविमा पुग्ने गर्छन् । जिल्ला शिक्षा कार्यालयको यस तथ्यांकले पनि के देखाउँछ भने प्राथमिक तहमा पढाइ छोड्नेको संख्या अन्य तहभन्दा धेरै छ ।
अभिभावकको आर्थिक अवस्था कमजोर, घर तथा विद्यालयमा बालमैत्री वातावरणको अभावजस्ता कारणले पढाइ छोड्ने विद्यार्थीको संख्या धेरै हुने गरेको विद्यालय निरीक्षक हरिदत्त जोशीले बताए । ‘विषेश गरी सानो उमेरका बालबालिका प्राथमिक तहमा भर्ना भए पनि विद्यालयमा उनीहरूलाई आकर्षण गर्ने वातावरणको कमीका साथै शिक्षकहरूले समेत सानो कक्षालाई कम प्राथमिकतामा राख्ने गर्नाले बालबालिका विद्यालय छोड्छन्', जोशीले भने, ‘घरदेखि विद्यालयसम्मको समग्र अवस्था यससँग जोडिएको हुन्छ ।'
जिल्लाका सबै वडामा बालविकास केन्द्र नभएको र भएका बालविकास केन्द्र पनि अधिकांश नाम मात्रका भएकाले बालबालिकाको पूर्वप्राथमिक तह कमजोर हुने गरेको छ । बालविकास केन्द्र राम्रोसँग सञ्चालन भएका गाउँका विद्यार्थीको पढाइको स्तर राम्रो हुने गरेको महेन्द्र उच्च मावि बयलपाटाका प्राचार्य इन्द्रजित ठकुल्ला बताए । अछामको सन्र्दभमा प्रायः पुरुष कामका लागि भारत जाने र घरमा महिलालाई कामको बोझ धेरै पर्ने भएकाले छोराछोरीले पनि घरायसी काममा सहयोग गर्नुपर्ने हुँदा पढाइ छोड्ने समस्या रहेको ठकुल्लाको अनुभव छ ।
‘अभिभावकसँगै कतिपय बालबालिका भारत जाने गरेकाले पनि पढाइ छोड्ने संख्या बढिरहेको छ', ठकुल्लाले भने, ‘एक पटक भारतमा पैसा कमाउन गएको मानिस पछि आएर पढाइ सुचारु गर्ने सम्भावना ज्यादै कम हुने भएकाले पनि विद्यार्थी हराउने संख्या बढेको छ ।' घरायसी कामको बोझले नियमित विद्यालय नआउनु, मौसमी रूपमा भारतमा पैसा कमाउन जाँदा परीक्षा दिन मात्र आउनुजस्ता कारणले पढाइको स्तर कम्जोर हुँदा उत्तीर्ण हुन नसकेर पनि धेरैले पढाइ छोड्ने गरेका छन् ।
सरकारले विद्यालय भर्ना अभियानमार्फत अधिकांश बालबालिकालाई विद्यालयसम्म पुर्याए पनि उनीहरूलाई टिकाई राख्नतर्फ भने प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिएको छैन । विभिन्न किसिमका छात्रवृत्ति, दिवा खाजाजस्ता कार्यक्रम सञ्चालन भए पनि ती कार्यक्रम सबै विद्यालयमा नभएको तथा भएकामा पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
बालबालिकाको पहिलो विद्यालय घर भएकाले उसको घरायसी वातावरण, आर्थिक अवस्था, अभिभावको चेतनाको स्तरमा वृद्धि हुन नसक्दा विद्यालय आएर पनि गुणस्तरीक्ष शिक्षा प्राप्त गर्न सक्ने अवस्था नरहेको शिक्षकहरू बताउँछन् ।
जिल्लाका अधिकांश प्राथमिक तहका विद्यालय समुदायकै स्रोतबाट सञ्चालनमा आएकाले आवश्यक भौतिक सुविधा, तालिम प्राप्त शिक्षकको अभावजस्ता कारणले पनि बालबालिकाका लागि विद्यालयको वातावरण आकर्षण गर्न सक्ने नभएकाले पनि विद्यार्थी संख्या घट्न पुगेको हो ।
विद्यालयमा आएका विद्यार्थीलाई टिकाई राख्ने काम प्रमुख चुनौतीको रूपमा रहेको छ । अर्कोतर्फ विद्यालय उमेरका करिब चार प्रतिशत बालबालिका अहिले पनि विद्यालय बाहिर छन् ।
अन्नपूर्णमा शिवराज खत्रीले लेखेका छन् ।
प्रतिक्रिया