- दिपक अनुरागी / कपिलवस्तु - छोराछोरीलाई डाक्टर, इञ्जिनियर वा पाइलट बनाउनुलाई अभिभावकले गर्व गर्ने क्रम अझै जारी छ । साना नानीहरुलाई तिमी ठूलो भए पछि के बन्छौ ? भनेर सोध्ने हो भने त्यस्तै उत्तर दिन्छन् । यसको सिधा कारण हो अभिभावकको यहि मानसिकता !
शिक्षा भन्ने कुरा ज्ञान र सीपका लागि हो भन्ने नबुझ्दा धेरै अभिभावक अझै पनि सन्तानलाई आफ्ना तिनै चाहना पुरा गराउन लिप्त भेटिन्छन् । सबै बालबालिकाको क्षमता र रुचि डाक्टर, इञ्जिनियर वा पाइलट बन्ने नहुन पनि सक्छ । त्यहि अनुसारको क्षमता र रुचि भएको विद्यार्थी सफल हुन सक्छ बाँकी अरु असफल हुन्छन् अनी उनीहरु मध्ये अधिकाँशको जीवन विना काम र उद्यममा वित्छ ।
समाजमा त डाक्टर, इञ्जिनियर वा पाइलट मात्रै हैन सिकर्मी, डकर्मी, प्लम्बर, किसान जस्ता विभिन्न सीप र ज्ञान भएका मान्छेको आवश्यकता हुन्छ । शिक्षा यदी ज्ञान सीपका लागि हो भने, त्यस तर्फ ध्यान दिनु पनि त उत्तिकै जरुरी छ ।
शिक्षाको कोणबाट हेर्दा मूल्य, मान्यता, संस्कार अपनाउने कुरा पनि आयआर्जन संग जोडिन थालेको छ । अर्थात् सामान्य कर्मकाण्ड गराउने पण्डितहरुको उत्पादन र कर्म पनि उत्पादकत्व र सीपसंग जोडिएको छ । खास गरी शहरी क्षेत्रमा कर्मकाण्ड गराउने पण्डितहरुको मागले त्यस अनुसारको शिक्षाको खाँचो देखाईरहेको छ । संस्कृत पढेर कर्मकाण्ड मात्रै गर्ने हो भन्ने पनि छैन, तर कमसेकम पनि उसले आफ्नो जीवन निर्वाह गर्ने सहज बाटो र पेशा अपनाउन सक्ने चाँही पक्का छ । त्यसैले होला पछिल्लो समय संस्कृत शिक्षा प्रतिको आर्कषण बढ्दो छ ।
कपिलवस्तुको प्राचिन धर्मभूमी नन्दनगरमा रहेको मनकामना संस्कृत विद्यापीठमा मुलकुभरका विभिन्न जिल्लावाट छानिएर आएका ३ दर्जन वढी बालबालिका गुरुकुलीय मान्यतामा रहेर अध्ययनमा ब्यस्त छन् । यस गुरुकुलमा राखेर पढाउन अभिभावकहरु बीच हानथाप हुन हुन थालेको छ । त्यसकै फलस्वरुप संस्कार सभ्यता र धर्मकर्म सिक्दै आवश्यक परेमा यही ज्ञानलाई आफ्नो पेशा बनाउन उनीहरु तैयार हुँदै छन् ।
कक्षा ५ मा अध्ययरत हरी कंडेल गुरुकुलमा पढ्दा आनन्दको महशुस भएको बताउँछन् । विहान उठेर स्नान गर्ने, जप, सन्ध्या, योग गरि पढ्दा आफुलाई निकै आनन्द लाग्छ उनी भन्छन्, भविष्यमा ठुलो मान्छे बन्छु अनि धार्मिक प्रवचन दिन्छु, नेपाली हुनुको पहिचान दिन्छु । कंडेल मात्रै हैन गुरुकुलमा अध्ययनरत अधिकाँश विद्यार्थीको यस्तै यस्तै योजना छ, जो जीवन यापनसंग जोडिएका सपनामा अडिएका छन् ।
दुई वर्ष अघि सम्म सामान्य रुपमा रहेको गुरुकुललाई २०७० साल देखि ब्यवस्थित रुपमा विस्तार गरिएको गुरुकुलका प्रधानाध्यापक एवं नेपाल महर्षि वैद्यिक फाउण्डेसन फर एग्रीकल्चरका ध्यान शिक्षक विष्णु प्रसाद पौडेल वताउँछन् ।
गौतम वुद्धको क्रिडा थलो कपिलवस्तुमा थुप्रै पर्यटकीय एवं ऐतिहासिक स्थलहरु भए पनि तिनीहरुको उचित प्रचार प्रसार हुन नसकि रहेका बेला ओझेलमा रहेको विद्यापीठलाई गुरुकुल अवधारणा अनुसार वाल विकास केन्द्र सहित प्रावि सम्मको विद्यालयका रुपमा विकास गरिएको छ ।
हरेक विहान साना साना वालवालिकाहरुको सुमधुर प्रवचनले नन्दनगर गाउंलाई नै रमणीय पार्दै शान्तिको आभाष गराउँछ । कक्षा ५ सम्म स्वीकृति लिएर सञ्चालनमा आएको विद्यापिठमा गुल्मी, पाल्पा, रुपन्देही, नेपालगञ्ज, अर्घाखाँची र कपिलवस्तु जिल्लाका गरि ६ बालिका सहित ३८ जना बालबालिका रहेका छन् । जसमा २४ जना आवासीय रुपमा पढ्छन् ।
सरकारले विद्यापिठलाई अनुमती दिए पनि दरवन्दि दिएको छैन । नेपाल सरकारले धार्मिक अनुदान शिर्षकमा वार्षिक १ लाख ६८ हजार र कार्यालय सहयोगीलाई वार्षिक ३० हजार दिने गरेको छ । विद्यापिठ व्यवस्थापन समितिका अध्यक्ष पुस्कर घिमिरेका अनुसार विद्यापिठलाई नमूना बनाउन स्थानियको मुठ्ठी दान मार्फत् श्रोत संकलन भईरहेको छ । ३ वर्षमा २४ कोठे छात्रावास, भान्सा घर, ध्यान कोठा वनाउने लक्ष्यलाई अगाडि वढाइएको छ ।
करिव १२ विगाहा क्षेत्रफलमा फैलिएको जमिनलाई धार्मिक वनको विद्यान अनुसार विद्यापीठ सञ्चालन गरिएको छ । विभिन्न चुनौतीका बिच संस्कारको विकास र सभ्यतालाई जोगाउदै धार्मिक गन्तव्यको रुपमा चिनाउने प्रयासमा आफूहरु कृयाशिल भएको धार्मिक संयोजक खुमलाल शर्मा बताउँछन् ।
अभिभावकको आकर्षण र विद्यार्थीको क्रमश बढ्दो चापले विद्यापिठलाई निमावि सम्म बनाउने प्रयास गरिएको छ । यसका लागि स्थानीय अभिभावक, शुभचिन्तक, सहयोगी एवं दाताहरुको सहयोग उदाहरणीय र जुटदै गरेको पौडेल बताउँछन् । तर, सरकार र सरोकारवाला निकायले ध्यान नपुर्याउँदा भने आफूहरु खिन्न भएको स्थानीय ज्ञानवहादुर महतको गुनासो छ ।
प्रकाशित मिति २०७३ साउन ९ गते
प्रतिक्रिया