- हरिसुन्दर छुकां / काठमाडौं– रामहरि श्रेष्ठ (फेरिएको नाम) पेशाले शिक्षण गर्छन्, उनी आफ्नो घर नजिकैको एक निमाविका स्थायी शिक्षक हुन् । उनी जति बेला विद्यालय गए पनि हुन्छ, जति बेला निस्के नि हुन्छ ! स्कुलमा पढाए नि हुन्छ, नपढाए नि हुन्छ ! झैं गर्छन् ।
उनका सहकर्मी अड्कल काट्छन् उनको यो सबै हर्कत उनी स्थायी शिक्षक भएकै कारण भईरहेको छ ।
विद्यालयमा केही नयाँ कार्यक्रम गर्न पर्यो सल्लाह गरौं न भन्दा अनेक बहाना बनाउँछन् । मेरो आफ्नै काम छ, मलाई सञ्चो छैन, मेरो पार्टीको बैठक छ, मलाई नगरपालिका जानु छ, उनका बहाना यस्ता हुन्छन् ।
स्थायी शिक्षक श्रेष्ठको यस्तो हर्कतले हैरान भएर उनले ‘जागिर खाने स्कुल’ का प्रधानाध्यापकले उनलाई सरुवा लिन पटकपटक भने । हेडसरले मुखै खोले – शिक्षकको मूल्य, मान्यतामै प्रश्न उठ्यो, अभिभावकहरुले तपाईको बारेमै गुनासो गर्छन् लौ तपाई अरु नै विद्यालय गईदिनुहोस् ।
तर श्रेष्ठले के टेर्थे ! अन्तत विद्यालयका प्रअ, सहकर्मी शिक्षक सबैजना उनलाई विद्यालयका लागि घाँडो शिक्षकका रुपमा अपनाउन बाध्य छन् ।
‘हाम्रोमा निमाविका चार स्थायी शिक्षक छन्, तिनीहरु मध्ये तीन जनालाई सरुवा गर्नका लागि दुई वर्षदेखि लागिरहेको छु ।’ काठमाडौंको अर्को विद्यालयका प्रधानाध्यापकले आफ्नो र विद्यालयको नाम सार्वजनिक नगर्ने सर्तमा दुखेसो पोखे ।
उनले ती दुई शिक्षकलाई त्यत्तिकै सरुवा गर्न भने चाहेका हैनन् । ती शिक्षकहरुलाई सरुवा गर्न चाहनुको कारणबारे उनले थपे, ‘ती शिक्षकहरु न त समयमा आउँछन्, न त उनीहरुको सिकाइ उपलब्धि नै राम्रो छ ।’ ती स्थायी शिक्षकहरु पनि आफू र आफ्नो विद्यालयको लागि ‘घाँडो’ बनेको उनको भनाइ छ ।
उनका अनुसार ती स्थायी शिक्षकहरुलाई पढाइ सम्बन्धमा गुनासो गर्दा ‘तपाईंले सकेको गर्नू न ?’ भन्दै उल्टो धम्कि खाईरहेका छन् । यही कारण उनीहरुलाई सरुवा गर्न चाहेको खुलासा गर्दै उनी भन्छन् ‘शिक्षा ऐन संशोधनमा अस्थायी शिक्षकहरुको सट्टा काम नगर्ने स्थायी शिक्षकहरुलाई पनि पो ‘गोल्डेन ह्याण्डसेक’ दिनुपर्ने देखियो ।’
स्थायी भए पछि शिक्षकहरुले विद्यालयको नीति नियम नै नमान्ने स्वभाव विकास भएको अनुभव सुनाउँदै उनले भने, ‘स्कुलमा कुनै दिन छिटो आउनुप¥यो भन्दा पनि आउँदैनन् ।’
उनीमात्र होइन, स्थायी शिक्षकका कारण उपत्यकाका धेरै ठाउँका विद्यालयका प्रधानाध्यापकहरुले यस्तै समस्या भोगिरहेको बताउँछन् । ‘स्थायी नभएसम्म निक्कै मिहिनेत गर्छन् तर स्थायी भएपछि....’ ललितपुरस्थित एक विद्यालयका प्रअको पनि भनाइ छ । उनले धने स्थायी भएपछि ‘अब हामीलाई कसैले छुन सक्तैनन् भन्ने सोच राख्छन्, जसकारण स्कुलको कुनै नियमित काम बाहेक अरु काम गर्नै मान्दैनन् ।’
शिक्षक, प्रअ र विद्यालय व्यवस्थापन समितिको सहकार्यविना सामुदायिक विद्यालयको प्रगति गर्न सकिन्न तर अधिकाँश स्थायी शिक्षकहरु राजनीतिक आवरणमा आफ्नो अध्यापन कार्यलाई भन्दा राजनीतिक गतिविधिमा ध्यान दिने गरेका छन् । ‘त्यस्ता शिक्षकहरुलाई गोल्डेन ह्याण्डसेक दिनुपर्छ’ भक्तपुरको फैढोका निमाविको व्यवस्थापन समितिका अध्यक्ष केशर खड्का भन्छन् ।
प्रधानाध्यपकहरुले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि स्थायी भएर पनि जागिरे स्वभाव भएका शिक्षकहरुलाई बिदाइ गर्न सके शिक्षामा सुधार आउने र काम गरिरहेका शिक्षक, प्रअ र विव्यस पदाधिकारीलाई सजिलो हुने सुझाएका छन् ।
‘यतिसम्म कि स्थायी भएपछि धेरै शिक्षकहरु हाजिर गरेको र पढाएको छुट्टाछुट्टै हो भनेर हामीसँग पारिश्रमिक माग्छन् ।’ एक प्राचार्यको भनाइ छ, ‘यसैले त्यस्ता स्थायी शिक्षकहरुको सिकाइ उपलब्धि न्यून छ भने तिनीहरुलाई गोल्डेन ह्याण्डसेक दिएर बिदाइ गर्नुपर्छ ।’
स्थायी शिक्षकका कारण हैरानी खेपेका धेरै विद्यालयका प्रअहरु जिल्ला शिक्षा कार्यालयमा धाउने गरेको अनुभव छ काभ्रेका सहायक जिल्ला शिक्षा अधिकारी गोविन्द सेढाइँको । ‘स्थायी हुने तर स्थायी भए पछि आफ्नो पेशागत दायित्व निर्वाह नगर्ने शिक्षकहरुलाई सरुवाका लागि धेरै प्रधानाध्यापकहरु जिशिकामा धाउने गरेका छन्, त्यस्ता शिक्षकहरुलाई कहाँ सरुवा गर्ने हामीलाई पनि घाँडोको विषय भएको छ ।’ उनले भने । स्थायी भएका तर अहिलेको आवश्यकता अनुसार काम गर्न नसक्ने ‘अपडेट नभएका’ शिक्षकहरुलाई पनि व्यस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रकाशित मिति २०७३ साउन ७ गते
प्रतिक्रिया