- देवीराम आचार्य / देशमा बेरोजगारीको अवस्थाको धेरै चर्चा के गर्नु, वैदेशिक रोजगारीको आँकडा पर्याप्त छन् । देशभित्रको रोजगारीका कुरा के गर्नु, देशको अर्थतन्त्र र सरकारको पूजिगँत खर्चको प्रतिशत र आर्थिक वृद्धिको अवस्था दयालाग्दो छ । अनि विदेशबाट आयात हुने दैनिक उपभोग्य वस्तुको परिमाण पत्रिकामा पढ्दा मात्र पनि अत्यास लाग्छ । विश्वविद्यालयहरु साच्चिकै वेरोजगार उत्पादन गर्ने कारखाना नै बनेका हुन त भन्ने प्रश्न पनि उठेकै छ ।
यसैबीचमा शिक्षाशास्त्र संकाय तर्फ उच्च माध्यमिक तहको १२ कक्षा र विश्वविद्यालयबाट डिग्री प्राप्त गरेकाहरुका लागि शिक्षक सेवा आयोगले २/३ वर्षदेखि गरेको २/३ हजारको स्थायी शिक्षकको विज्ञापनले अर्थ बजार तरङ्गित भएको जस्तो लाग्छ । फेसबुकमा तयारी पेज खुलेका छन्, केही पत्रिका शिक्षक सेवा आयोग विशेषका रुपमा प्रकाशित छन् । ठाँउ ठाँउमा तयारी कक्षा चलेका छन् । तयारी कक्षामा राजधानीबाट जहाज चढेर विषयगत प्रशिक्षकहरु ठाँउ ठाँउ पुगेका छन् । तयारी कक्षामा धाउनेहरुको सङ्ख्या पनि ठूलै छ । हरेक सहभागीले १० हजारभन्दा बढी तिरेका छन् ।
गाँउमा त कतिपयका बाबुआमाले ऋण खोजेर छोराछोरीलाई तयारी कक्षामा पठाएका छन् । ४०/५० थरिका सहयोगी गाइड प्रकाशित भएका छन् । एफ एमहरुले तयारी कक्षाको विज्ञापन पाएका छन् । छापाका माध्यमका सहयोगी पुस्तक र तयारी कक्षाको आकर्षक विज्ञापन पनि देखिन्छ । यसैबीचमा थुप्रै कागजको आयात भएको छ । थुप्रै प्रेसहरु चलायमान भएका छन् । धेरै लेखकहरु जन्मिएका छन् । एक अर्थमा हेर्ने हो भने बजार चलायमान भएको छ । यसको प्रतिशत कति होला तर अर्थतन्त्रनै कता कता चलायमान भएको हो कि जस्तो लाग्छ मलाई । गाँउबाट शहरमा आएर होटलमा कोठा खोजेर पनि तयारी कक्षा लिएका छन कतिपयले । यस अर्थमा होटल व्यवसाय, यातायात, जहाज, फोटोकपि, निजी शैक्षिक संस्था (ट्युशन/कोचिङ सेन्टर) पनि चलायमान भएका छन् ।
शिक्षक बन्नका लागि शिक्षा शास्त्र संकाय पढेकै हुनु पर्ने वा तालिम लिएको हुनुपर्ने र अध्यापन अनुमति पत्र पनि लिनु पर्ने व्यवस्थाले शिक्षा शास्त्र संकायमा विद्यार्थी संख्या बढ्यो, जो अहिले प्रतिस्पर्धाका लागि तयार छन् । स्थायी शिक्षक नियुक्ति हुँदै जाँदा विद्यालय शिक्षाको गुणस्तर नै बढ्ने छ भन्ने जिकीर पनि भइरहेको पाइन्छ । शिक्षक हुनका लागि किन शिक्षा शास्त्र संकाय नै चाहिने भन्नेबाट केही प्रसङ्ग शुरु गरौ ।
शिक्षा शास्त्र संकायमा कुन विषय कसरी सिकाउने भन्नका लागि विषयवस्तुको प्रकृति अनुसार शिक्षण विधिका कुरा हुन्छन् । बालबालिकाको सिकाइ शैलि, क्षमता, गति र मनोविज्ञान बुझेर पढाउने सिपका कुरा हुन्छन् । सिकाइको मूल्याङ्कन गर्नका लागि मूल्याङ्कनका विभिन्न विधि र औजारका कुरा हुन्छन् (प्रभावकारीता र प्रयोग जे जस्तो होस) ।
शिक्षा शास्त्र संकायको विद्यार्थी सङ्ख्या बढीरहेको र यसको खपत हुने क्षेत्र स्थायी शिक्षकको लामो समयसम्म विज्ञापन नहुँदा देखिएको एकप्रकारको रिक्तता केही हदसम्म पूरा भइरहेको छ, तर शिक्षा शास्त्र संकायकै विद्यार्थी भएको र शिक्षा शास्त्र संकायकाप्राध्यापक, डा. अनि विद्धानको पुस्तक पढ्दा सिकेको ज्ञानका आधारमा शिक्षक सेवा आयोगले निर्धारण गरेको पाठ्यक्रम र त्यसका आधारमा सोधिएका प्रश्नका सम्बन्धमा केही प्रष्ट पार्ने प्रयास यो आलेखमा गरिएको छ ।
यसो विचार गर्छु, मूल्याङ्कनका विभिन्न तरिकाको (विषयगत- लामो छोटो, विश्लेषणात्मक आदि आदि/वस्तुगत- बहुवैकल्पिक, खाली ठाँउ भर्ने, ठिक वेठिक, जोडा मिलाउने आदि आदि) प्रतिपादन किन भयो होला ? संसारमा धेरै थरिको ज्ञान/विषयवस्तु छ, कुनै पनि व्यक्तिले सबै ज्ञान/विषयवस्तु जानेको छ छैन भन्ने बुझ्न एकै प्रकारका अथवा एउटामात्र मूल्याङ्कनको विधिले हुँदैन । धेरै थरिको ज्ञान मापन गर्नका लागि धेरै थरिका मूल्याङ्कनका साधन विकास भए होलान । इतिहासका तिथिमिति खाली ठाँउ भर्ने प्रश्नले मापन गर्ला, तर इतिहासमा भएको कुनै घटनाले अहिले पारेको प्रभावलाई मापन गर्न विश्लेषणात्मक प्रश्न चाहिन्छ होला ।
कुनै विषयवस्तुको सैद्धान्तिक ज्ञान उपयोगी होला त कुनै विषयवस्तुको लागि प्रयोगात्मक ज्ञान चाहिएला । राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ देखि ३२ को योजनाको वारेमा सैद्धान्तिक ज्ञानले पुग्ला तर बाल अधिकारसँग सम्बन्धि सैद्धान्तिक ज्ञान भन्दा पनि विद्यालयमा बाल अधिकारको संरक्षण, प्रयोग र प्रत्याभूत गर्न सक्ने हुनु पर्छ होला । अनि व्यक्तिको विषयवस्तुको ज्ञानको गहिराइ बुझ्नका लागि पनि विभिन्न प्रश्न चाहिन्छ होला । हामी ब्लुम्सको ट्याक्सोनोमीबाट दीक्षित भएकाहरुका लागि संज्ञानात्मक तहका ६ वटै क्षेत्रको मापन गर्नका लागि पनि एकै प्रकारका प्रश्नले मापन गर्न सक्दैनन होला । तर म सोचिरहन्छु, घोरिरहन्छु र आफ्नै ज्ञानमाथि प्रश्न गर्न मन लाग्छ, यी सबै सिद्धान्तहरु शिक्षक सेवा आयोगका लागि किन लागु नहुने रहेछन् ।
त्यसैले त प्रयोग गर्नुपर्ने बालअधिकारका कुरा पनि वहुबैकल्पिक प्रश्नबाट मापन गरिदैछ, विद्यालयमा बनाउनु पर्ने विद्याल सुधार योजना र वार्षिक कार्यतालिका पनि बहु वैकल्पिक प्रश्नमै सोधिदैँछ । कक्षाकोठाको शिक्षण सिकाइसँग कुनै नाता सम्बन्ध राख्नु नपर्ने दक्षिण कोरीयाको शिक्षाको संरचना पनि बहु वैकल्पिक प्रश्नमै सोधिने भएको छ ।
प्रतिस्पर्धात्मक सोधिने परीक्षाको प्रश्नका सन्दर्भमा विश्व वैङ्कका लागि लेखकद्ववAnderson, and Morgan, 2008ले कुनै पनि प्रतिस्प्रधात्मक परीक्षाका लागि तयार गरिएका साधनहरु कमजोर भए भने त्यसले समय र पैसाको मात्र खर्च नगरी प्रतिस्पर्धा नै झुटो बन्न पुग्छ भनेका छन् . The quality of any competitive examination depends on the quality of the test items (questions). In fact, if the test items(questions) are poorly designed, the competitive exam cannot be able to select the best candidate. Hence,it is a fallacy of the competition. करिब १ महिना अगाडि शिक्षक सेवा आयोगले माध्यमिक तहमा झण्डै १ हजार दरबन्दिका लागि परिक्षा लिएको छ । ९० वटा विभिन्न शीर्षकबाट २० वटा बहुबैकल्पिक प्रश्नहरु सोधियो । परीक्षा भवनबाट बाहिरिदै गर्दा एकजना परिक्षार्थीले वस्तुगत प्रश्नप्रति गरेको यो प्रतिक्रिया नै मेरा लागि यो आलेख तयार गर्ने आधार बन्यो ।
"शिक्षक सेवा आयोगले यी २० वटा प्रश्न बनाउन २/४ लाख खर्च गर्योे होला र २०/ ४० जना विद्धान पनि सहभागि भए होलान तर २० वटा प्रश्नमध्ये ३ वटा प्रश्नमा(शिक्षक दरबन्दि, समावेशी र प्र अ छनौट) समस्या छ ।" सबै सतही ज्ञान मात्र मापन गर्ने, प्रश्न बनाउन सजिलो हुने तिथि मिति र तथ्य तथ्याङ्क मात्र सोधिएको छ । कुनै पनि प्रश्नले उच्चतहको ज्ञानको मापन गर्दैनन्, सबै प्रश्नहरु ब्लुम्सको ट्याक्सोनोमिको सबैभन्दा तल्लो तहको ज्ञान (knowledge-vomiting answer type)मा आधारित छन् ।
बहुवैकल्पिक प्रश्नका पनि विभिन्न प्रकार हुन्छन क्यारे तर शिक्षक सेवा आयोगकले विज्ञहरूले Best Answer type भन्दा अरु बनाएको देखिएन । यसै पनि सबै विषयवस्तु बहु वैकल्पिक प्रश्नबाट मापन गर्न नसकिने त छदैछ, त्यसमा पनि यसको एउटा प्रकारको मात्र प्रयोग भएको छ । वस्तुगत प्रश्नकै अन्य प्रकारको पनि प्रयोग गर्न सकिने अवस्था छदैछ । पाठ्यक्रमका विषयवस्तुले औचित्य पुष्टी गर्न सकेका छैनन । एउटा विद्यालयको शिक्षक जसको प्रमुख दायित्व शिक्षण सिकाइ हो, उसका लागि संसारभर भएको शिक्षाको ज्ञान किन आवश्यक छ ? उक्त कुरा जान्ने शिक्षकले के कुरा गर्न सक्छ र नजान्नेले के सक्दैन भन्ने स्पष्ट पार्नु आवश्यक छ । लहडका भरमा कुनै व्यक्ति विशेषलाई जुन जुन विषयवस्तु राख्न मन लाग्यो त्यो सबै पाठ्यक्रममा राखेर बोझिलो मात्र गराँउदैमा त्यसले कुशल र सक्षम व्यक्ति छनौट हुन सक्दैन होला ।
परीक्षामा सहभागी भएका ३० हजारभन्दा बढि परीक्षार्थीले शिक्षा शास्त्र संकायको मूल्याङ्कन भन्ने विषयमा असल प्रश्नमा हुनुपर्ने विभिन्न गुणहरुको वारेमा पढे, परीक्षा दिए र पास पनि गरे तर जब उनीहरु अत्यन्त प्रतिस्पर्धात्मक भनिएको स्थायी शिक्षक बन्ने परीक्षामा सहभागी हुँदै थिए उनीहरुले भेटे अस्पष्ट, द्विविधा उत्पन्न गराउने खालका प्रश्नहरु । उनीहरुले पढेका थिए विशिष्टीकरण तालिकाको वारेमा । आयोगले पनि कुन इकाइबाट कति प्रश्न सोध्ने भनेर विशिष्टीकरण तालिका बनाएको थियो, तर जब परीक्षामा सहभागी भएर बाहिर आए तबमात्र थाहा पाए, शिक्षक सेवा आयोगले विशिष्टीकरण तालिका बनाएको देखाउन मात्र रहेछ, प्रयोग गर्न होइन । त्यसैले इकाइ ४ बाट सोध्ने भनेको १ प्रश्न उक्त इकाइबाट नसोधि शिक्षा नियमावलीबाट सोधियो ।
विषयगत प्रश्नहरु पनि अत्यन्त सतही किसिमका देखिए । जब प्रश्नहरुमा जान्ने र नजान्ने विद्यार्थी छुट्याउने क्षमता हुँदैन भने प्रश्न विश्वसनीय नहुन सक्छ । प्रश्नले मापन गर्न खोजेको कुरा मापन गर्न सकेन भने प्रश्न बैध पनि हुँदैन । अस्पष्ट, दोहोरो अर्थ लाग्ने, विकल्पहरु नमिलेका, हुनु हुँदैन भन्ने प्रश्नको सामान्यभन्दा सामान्य नियम पनि पालन नभएको परीक्षाले के साच्चिकै क्षमता भएका व्यक्ति छनौट गर्ला, धेरैले सन्देह मानिरहेका छन् ।
यति ठूलो सङ्ख्यामा उत्तरपूस्तिका परीक्षण हुँदैछ, कस्ता मानिसले कसरी परीक्षण गर्ने होलान, परीक्षार्थीहरु अलमलमै देखिन्छन् । किसानले साँझ पर्न थाल्यो काम त सकाउनै पर्छ भनेर गरेको हतारजस्तै हतारमा कापी परीक्षण र नतिजा निकाल्ने आयोगको कार्यशैली, परीक्षामा सोधिएका प्रश्न र संस्थागत कार्यप्रणाली तथा संस्थागत क्षमता र परिपक्वताप्रति विश्वस्त हुन सकेका छैनन् परीक्षार्थी । आसा गरौँ निमाविको प्रश्नमा समस्या देखिने छैन र सबै विषयवस्तुका लागि वहु वैकल्पिक प्रश्न सोध्ने आयोगको ढाँचा परिवर्तन हुनेछ ।
प्रकाशित मिति २०७३ साउन ५ गते
प्रतिक्रिया