Edukhabar
आइतबार, ०२ मंसिर २०८१
अन्तैवाट

छोरीबुहारीको रुचि शिक्षा विषयमा

बुधबार, ०५ साउन २०७३

 

काठमाडौं ५ साउन / बाग्लुङकी विष्णु महतले शिक्षाशास्त्र संकायमा स्नातकोत्तरको अन्तिम परीक्षा दिएकी छन्। ताहचलस्थित महेन्द्ररत्न क्याम्पसकी विद्यार्थी उनी आगामी पुसमा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा दीक्षित हुँदैछिन्।

 

शिक्षक बन्ने रुचि पूरा गर्न शिक्षा विषय अध्ययन गरेको उनी सुनाउँछिन् । ‘छोरीबुहारीलाई घरनजिकै बसेर कामकाज गर्दै रमाइलो वातावरणमा अध्ययन गर्ने विषय नै शिक्षा हो,’ विष्णुले भनिन्, ‘घरदेखि अफिससम्म महिलाको धेरै भूमिका हुन्छ । अन्य विषय पढ्दा भ्याइँदैन ।’

 

गुल्मीकी सरिता बिसी पनि शिक्षक बन्न पाउने अवसर रहेकाले शिक्षा संकाय अध्ययन गरिरहेको सुनाउँछिन् । उनी महेन्द्ररत्न क्याम्पसमा स्नातकोत्तर दोस्रो वर्षमा छिन् ।

 

‘छोरीहरूलाई गाउँघरबाट बाहिर गएर पढ्न दिन अझै पनि परिवारले मान्दैनन् । घरनजिकैका प्लसटु बढीजसो शिक्षा संकाय पढाउने नै छन्,’ सरिताले भनिन्, ‘छोरीलाई शिक्षक पेसा सुरक्षित छ । बालबालिकासँग रमाइलो गरी पढाउन पाउने भएकाले छोरीहरू शिक्षा विषयमा आकर्षित हुन्छन् ।’

 

त्रिभुवन विश्वविद्यालयको पुसमा हुने भनिएको दीक्षान्त समारोहमा ८३ हजार ४ सय २५ विद्यार्थी दीक्षित हुँदैछन् । जसमा शिक्षाशास्त्र संकायका मात्र ३१ हजार ४ सय ४ विद्यार्थी दीक्षित हुँदैछन् । यो कुल दीक्षित हुने विद्यार्थीको ३८ प्रतिशत हो ।

 

शिक्षाशास्त्र संकायको पठनपाठन ग्रामीण तथा दुर्गम क्षेत्रमा बढी हुने भएकाले गाउँघरका छोरीबुहारीको पहुँचमा रहेको शिक्षाशास्त्र संकायका डिन नेत्रप्रसाद धितालले बताए । उनले गाउँघरमा अझै पनि छोरीबुहारीलाई गाउँबाहिर पढ्न नपठाउने परम्परा कायमै भएकाले घरनजिकै बसेर पढ्ने विषय शिक्षाशास्त्र बनेको हो ।

 

ग्रामीण क्षेत्रमा प्लस टु र स्नातकमा समेत कलेज शिक्षाकै बढी छन् । शिक्षा संकायमा कोर्स पनि सजिलो र कम्तीमा केही नभए पनि शिक्षाको जागिर पाउने अवसर बढी भएकाले पनि छोरीबुहारीले शिक्षातर्फ बढी रुचि राखेका हुन् ।

 

‘शिक्षाशास्त्र संकायको कुल दीक्षित हुने योग्य विद्यार्थीमध्ये ५५ प्रतिशत छोरीबुहारी नै छन्,’ डिन धितालले नागरिकसँग भने, ‘बाँकी रहेका ४५ छोरा पनि विज्ञान, व्यवस्थापन र मानविकीमा पढ्न मौका नपाएपछि शिक्षामा आएका हुन् । तर छोरीहरु रहरले पढ्नै भनेर यो संकायमा आउँछन् ।’ उनका अनुसार गाउँघरमा नजिकै स्कुल बढी खुलेका छन् । शिक्षाशास्त्र संकायको गाउँमा पहुँच भएकाले स्थानीयहरु छोरीबुहारीलाई उच्च शिक्षामा पढ्न पठाउने वातावरण बनेको छ ।

 

डिन धितालका अनुसार त्रिभुवन विश्वविद्यालयको कुल आंगिक क्याम्पसमध्ये २६ वटामा शिक्षा संकाय पढाइ हुन्छ । यसैगरी, कुल सम्बन्धन प्राप्त ६ सय १ कलेजमध्ये शिक्षाशास्त्र संकाय पठनपाठन गराउनका लागि ५ सय ७६ ले अनुमति लिएका छन् । स्नातकमा एकवर्षे, दुईवर्षे र तीनवर्षे बिएड पढाइ हुन्छ । यसैगरी, स्नातकोत्तर तहमा भने २ वर्षे एमएड अध्यापन हुन्छ । एमफिल र विद्यावारिधिमा पनि यो पढाइन्छ ।

 

‘कम खर्चमा घरनजिकै कलेजमा छोरीबुहारीले डिग्री हासिल गरी गाउँमा शिक्षक हुनुमा अभिभावक गर्व गर्दारहेछन्,’ उनले अनुभव सुनाए, ‘सम्बन्धन र आंगिक कलेज पनि ५० प्रतिशतभन्दा बढी गाउँमै छन् ।’

 

शिक्षाध्यक्ष सुधा त्रिपाठीले शिक्षाशास्त्र पढेमा केही नभए पनि शिक्षक पेसा अपनाएर पनि घरधन्दा चाउन सक्ने सोचसाथ विद्यार्थीको आकर्षण शिक्षा संकाय भएको जनाइन् । उनले गाउँघरमा घरधन्दा गर्दै पढ्नुपर्ने बाध्यता रहेको र छोरीबुहारी घरको काम समेर कलेज जाने वातावरण शिक्षा संकायले मात्र दिने भएकाले पनि यो संकायमा छोरीबुहारीको पकड रहेको अनुभव सुनाइन् ।

 

‘अभिभावकले अझै पनि छोरालाई विज्ञान, व्यवस्थापन पढाउनेमै जोड दिने गरेको मैले जिल्लातिर जाँदा पाएकी छु,’ शिक्षाध्यक्ष त्रिपाठीले सुनाइन्, ‘घरधन्दाको सबै जिम्मेवारी छोरीबुहारीकै हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई विज्ञान ब्यवस्थापन पढ्ने वातावरणै बन्दैन ।’ उनका अनुसार सस्तोमा भए पनि सानै स्कुलमा पढाउन सक्ने, डिग्री पनि पाउने र घरव्यवहार पनि हेर्न सकिने शिक्षा संकायमा छोरीबुहारी बढी हुन गएका हुन् ।

 

यस ग्रेस लिस्टअन्तर्गत मिति २०७२ जेठ १८ देखि २०७३ असार १ गते सम्ममा अध्ययन संस्थानतर्फ विज्ञान तथा प्रविधिमा ३ हजार ८ सय ७७, इन्जिनियरिङमा २ हजार २ सय ८, चिकित्साशास्त्र अन्तर्गत १ हजार ४ सय ४६, कृषि तथा पशुविज्ञानमा २ सय ५८, वन विज्ञानमा २ सय १७ छन् भने संकायअन्तर्गत शिक्षाशास्त्रमा ३१ हजार ४ सय ८, व्यवस्थापनमा २७ हजार २ सय ३७, मानविकी तथा सामाजिक शास्त्रमा १५ हजार ९ सय २७ र कानुनमा ८ सय ४७ विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्।

रुबी रौनियारले नागरिक दैनिकमा लेखेको खबर

प्रतिक्रिया