Edukhabar
सोमबार, २६ कार्तिक २०८१
अन्तैवाट

८० वर्षीया जुठी विक साक्षर हुँदा

मंगलबार, २२ भदौ २०७२

८० वर्षीया जुठी विक साक्षर हुँदा- रमाकान्त शर्मा / काठमाडौं २२ भदौ / चितवनको माडी क्षेत्रको बघौडा गाविसलाई साक्षर घोषणा गर्ने कार्यक्रम थियो । हामीले साक्षरता कक्षाबाट भर्खर साक्षर भएकी ८० वर्षीया जुठी विकलाई प्रमुख अतिथि बनाएका थियौँ । हुन त त्यस समारोहमा जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी, कार्यालय प्रमुख र राजनीतिक दलका नेता पनि हुनुहुन्थ्यो । हामीले भर्खर साक्षर भएकालाई हौसला दिन र निरक्षरलाई साक्षर हुन उत्प्रेरणा जगाउन नवसाक्षरमध्ये सबैभन्दा जेष्ठ महिलालाई सभाको केन्द्रबिन्दुमा राख्ने गथ्र्यौँ ।
प्रसंग साक्षर नेपाल अभियानको । चितवनको फूलबारीबाट सुरु भएको साक्षर स्थान घोषणा देशव्यापी फैलिँदै थियो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी मानिस साक्षर भएका गाविस र नगरपालिकालाई साक्षर घोषणा गर्ने लहर नै चलेको थियो । त्यही क्रममा हामी बघौडालाई साक्षर गाविस घोषणा गर्न पुगेका थियौँ ।
जुठी विक भव्य मञ्चमा अन्य विशिष्ट अतिथिका बीचमा बस्न असजिलो मानिरहनुभएको थियो । प्राय: त्यस्ता प्रमुख अतिथिको नजिकै म बस्ने गर्थें । हामीले त्यस्ता प्रमुख अतिथिलाई केही बोल्न पनि लगाउँथ्यौँ । भाषणको रूपमा आफ्ना कुरा राख्नु त परैको कुरा जीवनमा मञ्चमा कहिल्यै बस्न नपाएका त्यस्ता नवसाक्षरलाई आफ्ना भावना राख्नु निकै कठिन कुरा हुन्थ्यो । हाम्रो उद्देश्य सकेसम्म त्यस्ता पाका नवसाक्षरबाट केही भावनात्मक कुरा राख्न लगाउने र सभामा उपस्थितलाई साक्षरता र निरन्तर शिक्षाप्रति प्रेरित गर्ने हुन्थ्यो । अभियान्ताका रूपमा रहेको म त्यस्ता प्रमुख अतिथिलाई बोल्नको लागि नजिकमा बसेर सरल पारिदिन्थँे ।
जुठी विकको दु:खको लामो फेहरिस्त छ । उहाँले चितवनमा औलोको समस्या भोग्नुभयो । माडी क्षेत्रमा हुने जंगली जनावरको बिगबिगी सहनुभयो । पेट पाल्न उहाँको श्रीमान्ले भन्दा बढी काम गर्नुभयो । तर, उहाँले राम्रो नाम पनि पाउनुभएन । सानोमा खाना खाँदा मुख वरिपरि लाग्ने खानाको दागका आधारमा उनको उहाँको उपनाम राखियो ।
जन्मिएको ११ दिनमा उहाँको न्वारन भएछ । न्वारन भएको भए पनि के नाम राखियो, उहाँलाई कसैले भनेन । सबैले भनेको जुठी नै उहाँको नाम भयो । नागरिकता बनाउन गाउँ पुगेको सरकारी टोलीले त्यही जुठी नामलाई प्रमाणित गरिदियो । हुन त उहाँको वास्तविक उमेर पनि थाहा छैन । केवल अनुमान हो । ठूलाघरे जेठा बराजु र जुठी जन्मेको एकै वर्ष हो भन्थे रे गाउँमा । उनैको उमेर सोधेर जुठीको उमेर अनुमान गरिएको हो ।
उनै जुठी विकलाई हामीले प्रमुख अतिथि बनायौँ । त्यति ठूलो समारोहको मञ्चअगाडि छेवैमा राखिएको सेतो पाटीमा हात कमाई–कमाई लेख्नुभयो, नाम : जुठी विक, उमेर : ८० वर्ष । उहाँले नाम लेख्न सक्ने क्षमता सबैलाई देखाउनुभयो । कतिलाई यो सामान्य लाग्यो होला । उहाँका त आँखामा आँसु टलपलाएका थिए । त्यो लेखेर देखाउँदा उहाँले ठूलै युद्ध जितेको महसुस गरेर लामो स्वास फेर्नुभएको थियो । त्यो विशाल सभामा धेरै नवसाक्षर र समाजको परिवर्तन गर्न चाहनेहरूले भावविह्वल भएर आँखामा आँसु निकाल्दै ताली पिटेका थिए ।
त्यो समारोहमा सबैभन्दा खुसी र सफल व्यक्तिका रूपमा मैले आफूलाई नै ठानेको थिएँ । साक्षरता अभियानमा नकारात्मक सोच राख्नेलाई ठूलै जवाफ मिलेको महसुस मैले गरेको थिएँ । साक्षरता अभियान सफल पर्न धेरैपटक गाउँ र नगरमा दौडिएको थिएँ । गाविस सचिवलाई स्थानीय राजनीतिक नेतालाई विद्यालयका प्रअलाई साक्षरता अभियान सफल पार्न अनुरोध गर्दै पटक–पटक फोन गरियो । धेरै दु:ख गरेकाले पनि मलाई खुसी लागेको हो ।
साक्षरता कक्षामा पढेर साक्षर भएकामध्ये सबैभन्दा बढी उमेरकी महिलालाई प्रमुख अतिथि बनाउने कुरामा जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी तिलक पौडल उत्साहित हुनुहुन्थ्यो । मैले आयोजकलाई घोषणालगायतका अन्य कार्यक्रममा जिल्लाबाट सहभागिता हुने हो भने यी–यी सर्त हुनुपर्छ भन्थेँ । सर्तमध्ये एक नम्बर सर्त सबैभन्दा जेष्ठ नवसाक्षर प्रमुख अथिति हुनुपर्छ भन्ने हुन्थ्यो । दोस्रो, तेस्रोमा क्रमश: नवसाक्षर तथा महिलाको बढी उपस्थिति हुनुपर्ने, साक्षरताको गीतमा नृत्य देखाउनुपर्ने, जनचेतना फैलाउने नेपाली गीतबाहेक अन्य गीत बजाउन र गाउन नहुने, त्यस्तै, गीतमा मात्र नृत्य राख्नेजस्ता सर्त राख्ने गर्थें । विद्यालयका वार्षिकोत्सवमा पनि जिल्ला शिक्षा अधिकारीलाई कार्यक्रममा लैजाने हो भने यी कुरा हुनुपर्छ भनेर यिनै सर्त अगाडि बढाउथेँ ।
साक्षरता अभियान सघन रूपमा अनौपचारिक शिक्षा केन्द्रले सबै जिल्लामा सञ्चालन गरेकै हो । सबै जिल्लालाई निरक्षर संख्याका आधारमा बजेट पनि पठाएकै हो । तर, सबै जिल्लामा अभियान सफल हुन सकेन ।
केही जिल्लामा अभियान साँच्चै अभियानकै रूपमा सञ्चालन भयो र धेरैको सहभागिता भयो । त्यसमध्ये चितवन पनि एक जिल्ला हो । जहाँ ज्यादै कठिन ठानिएको काम, चेपाङ समुदायका महिलालाई पनि साक्षर बनाउन सफलता मिल्यो । थारू समुदायमा साक्षरता अभियान नमुनाकै रूपमा सफल भयो ।
हामीले जुठी विक, कान्छिमाया तामाङ, भगनी थारूजस्ता व्यक्तिलाई मञ्चमा उतार्दा सन्तुष्टि प्राप्त भएको थियो । आफ्ना गतिविधिलाई पारदर्शी गर्न, उत्साहका साथ दिन–रात त्यसैमा लाग्न र सहभागिता जुटाउन सकेकाले साक्षर चितवन अभियानले अन्य जिल्लामाभन्दा सफलता प्राप्त गर्न सफल भएको हो ।
अक्षर र अंक चिन्न सक्ने, अक्षरको स्थान फरक पारेर राख्दा र मात्रा दिँदा आउने भाव बुझ्न सक्नेलाई साक्षर भनिन्छ । त्यस्तै, अक्षर लेखेर आफ्ना भाव अभिव्यक्त गर्न सक्ने व्यक्तिलाई साक्षर भनेर चिनिन्छ । निरक्षर हुँदाको वास्तविक पीडा साक्षर र लेखपढ गर्न सक्नेले बुझ्न सकिँदैन । जब केही अक्षर चिन्न सक्ने, कापीको पानामा उतार्न सक्ने र त्यसबाट भाव अभिव्यक्त गर्न सक्ने क्षमता प्राप्त गर्दाको सन्तुष्टि सानै उमेरमा लेखपढ गर्न सकेकाले आँकलन गर्न सकिने रहेनछ ।

शर्मा भक्तपुरका जिल्ला शिक्षा अधिकारी हुन् ।

साभार : नयाँ पत्रिका

प्रतिक्रिया